coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डिस्चार्ज भएलगत्तै सप्तरी जाँदै डा. केसी

काठमाडौं- त्रिवि शिक्षण अस्पतालस्थित कर्मचारी आवासको एउटा कोठामा यत्रतत्र औषधि, खाद्यान्न र लत्ताकपडा छन्। झट्ट हेर्दा कुनै औषधि पसल वा कपडाको गोदामजस्तै लाग्छ त्यो कोठा। तर यो गोदाम होइन। यो त चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीको क्वार्टर हो।

'केहीबेरअघि मात्रै डिस्चार्ज भएर आएर तयारी गर्दैछु। डा.दिव्या (उपचारमा संलग्न चिकित्सक) ले थप दुई/तीन बस्नुपर्छ भन्नुहुन्थ्यो, म जान्छु भनेर हिँडें।'

अझै केही दिन भर्ना भएर बस्न चिकित्सकले गरेको आग्रह बेवास्ता गर्दै उनी सप्तरीको बाढीग्रस्त क्षेत्रमा राहत र औषधि बोकेर जाने तयारीमा जुटेका हुन्। उनले ९ दिनअघि २३ दिन लामो एघारौं अनशन स्थगित गरेका थिए।

उनले देशभर आएको बाढीका कारण उत्पन्न विपत्तिमा सबैको ध्यान केन्द्रित हुन बाधा नहोस् भनेर साउन ३१ मा एघारौं अनशन स्थगित गरेका थिए।

बुधबार अपराह्न क्वाटरमा पुग्दा उनी तिनै सामान मिलाउन व्यस्त थिए। आवश्यक खाद्यान्न, कपडा र औषधि केही विद्यार्थीको सहयोग लिएर आफ्नै खर्चमा सहायता सामग्री जुटाएका हुन्। बिहान डिस्चार्ज भएलगत्तै उनी क्वाटरमा पुगेर सामान जुटाउन र जम्मा भएका सामान मिलाउन थालिसकेका थिए। 'केहीबेरअघि मात्रै आएर तयारी गर्दैछु', डा. केसीले भने, 'डा.दिव्या (उपचारमा संलग्न चिकित्सक) ले थप दुई/तीन बस्नुपर्छ भन्नुहुन्थ्यो, म जान्छु भनेर हिँडें।'

डा. केसी सबैभन्दा बढी प्रभावितमध्ये सप्तरीको कञ्चनपुर जाँदैछन्। जहाँ उनी चार वर्षअघि शीतलहर प्रभावितको उपचारमा गएका थिए। अनशन थाल्नु दुई साताअघि पनि उनी सप्तरीको मैनाकटरीमा पुगेर शिविर चलाएर फर्केका थिए।

डा. केसीको स्लाइन र औषधि दिन नशा खोलिएको ठाउँ (क्यानुला) मा अझै टेप लगाइएको छ। चिकित्सकका अनुसार कडा खालको ग्यास्टिकका कारण उनलाई पेटको दुःखाइ र रिंगटा लाग्ने समस्या कायमै छ। 'तराईको पीडा सम्भि्कएर मैले अनशन निरन्तरता दिइराख्न सकिनँ', उनले भने, 'त्यति ठूलो विपत्तिमा पुगिनँ भने मलाई सधैं केही छुटाएजस्तो लागिरहनेछ।'

डा. केसीले पत्रपत्रिकामा आएका खबरमा रुघाखोकी, ज्वरो, पखाला र छालाका बढी बिरामी छन् भनेर समाचार आएकाले सोहीअनुसार औषधि किनेको बताए। 'बच्चा र महिलाका लागि कपडा र खानेकुरा पनि लाँदैछु,' उनले भने। उनले आफू सप्तरीबाट फर्कनेबित्तिकै पुनः अनशन थाल्ने बताए। 'त्यहाँ गएर आएपछि मलाई सन्तुष्टि र ऊर्जा मिल्छ,' उनले भने, 'अनि मेरो अभियानलाई निरन्तरता दिन्छु।'

एघारौं अनशनकै क्रममा काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएकोमा डा. केसी थप आक्रोशित छन्। 'अब ऐन पनि आउँछ र सम्बन्धन पनि खारेज हुन्छ,' उनले भने, 'म काठमाडांै फर्किनासाथ सत्याग्रह थाल्छु।'

डा. केसीले देशविदेशका थुपै प्राकृतिक प्रकोप एवं मानवीय विपत्तिमा उपस्थित भएर मानवीय सेवा दिन थालेको झन्डै तीन दशक भइसकेको छ। २०४४ सालतिर मेडिकल अफिसर भएपछि उनले पहिलोपटक सप्तरीको बरथवामा स्वास्थ्य शिविर चलाएका थिए। उनले ठूलो प्राकृतिक प्रकोप तथा विपत्तिमा सेवा दिन थालेको २०४५ सालको भूकम्पपछि हो। उनले ७५ वटै जिल्लामा स्वास्थ्य शिविर चलाइसकेका छन्।

यसअघि दुई वर्षअघि जाजरकोटमा स्वाइन फ्लुको नामले चिनिने 'सिजन फ्लु' को महामारी फैलँदासमेत डा.केसी त्यहाँ पुगेका थिए।

सन् १९८५ मा र २००१ को बंगलादेशको सामुद्रिक आँधीबाट सुरु भएको उनको मानवीय सेवा यात्रा थुपै देशमा पुगेको छ। सन् २००१ मा गुजरात भूकम्पमा, २००५ मा पाकिस्तान भूकम्पमा, २००८ मा बर्मामा आएको सामुद्रिक आँधीमा, सन् २०१० को हाइटी भूकम्पमा र २०१० मा पाकिस्तानको बाढीमा समेत उनी मानवीय सेवा, राहत र उपचारमा संलग्न बनेका थिए। पछिल्लोपटक २०१३ मा फिलिपिन्सको आँधीमा १७ दिन र बद्री केदार क्षेत्रको बाढीमा पनि २ साताभन्दा बढी बसेर पीडित तथा विस्तापितलाई उपचार गरेका थिए।

प्रकाशित: ८ भाद्र २०७४ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App