८ वैशाख २०८१ शनिबार
अन्य

अष्टरसको संगालो 'कठपुतला'

कथाकार अर्चना थापाको कथासंग्रह 'कठपुतला'ले नेपाली कथा–साहित्य क्षेत्रमा एउटा बेग्लै पहिचान लिएर प्रवेश गरेको छ। हालै सार्वजनिक गरिएको यस संग्रहमा आठ लामा कथा संग्रहित छन् र प्रत्येक कथा पढ्दा पाठकले बेग्लाबैग्लै रसास्वादन गर्छन्।

कथाकार भन्छिन्, 'कथा लेख्छु भनेर सोचेकी थिइनँ। 'तर हुर्कंदै गरेका पात्रले आफ्ना कथा आफैँ बुन्न थालेका रहेछन्'।

कथाकारकै प्रस्तुत भनाइ उद्धृत गर्दा पनि संग्रहित कथाको लेखन अवधिबीचमा लामो अन्तराल भएको बुझिँदैन तथापि विषयवस्तुको छनोट, प्रयुक्त भाषा, लेखनशैली आदि कुनै दृष्टिकोणबाट हेर्दा पनि कुनै एक कथाले अर्को कथासँग मेल खाँदैन। यस्तो कसरी सम्भव भयो र फरक–फरक कथामा एउटै लेखकले कसरी अलग–अलग लेखन प्रवृत्तिगत विशेषता हासिल गर्न सकिन्? यी कथा पढिरहँदा कुनै पनि पाठक वा समीक्षकलाई यो हैरान पार्ने प्रश्न मनमा आइरहन्छ।

भाषिक प्रयोगको कुरा गर्दा कथामा विभिन्न अवस्थाको सरलीकरण गर्ने आफ्नै विशेष तरिका भेटिन्छ। जस्तो, 'उसको अनुहार सराङकोटबाट देखिने सूर्योदयजस्तो रातो देखियो। 'नीलो दहजस्ता आँखाहरूमा रातो आगोका लप्का बल्न थाले। 'फ्रक लगाएकी केटीजस्तै पृथ्वी नाच्न थाल्यो। 'चरा चुरुंगीको अलाराम कोठाभरि छरियो। 'बुबालाई एक्लो रुग्न सिगलजस्तो देखेँ।

यसबाहेक पनि पनि शब्द प्रयोगको शिल्पले पाठकलाई बेसरी समात्छन्। पात्रका नामाकरण पनि रोचक छन्। कथावस्तुलाई सुहाउँदा र नयाँ लाग्नेजस्तो 'दिव्यदेव, मलक, तुषार मल्लिका, गौरिका, पामर, शर्ली, मोहनी, गोलिया आदि।

पात्रकै सन्दर्भबाट हेर्दा कथावस्तुले पात्रको संयोजन गर्नुभन्दा पात्रले कथावस्तुको संयोजन गर्छन्। कथामा एक पात्रको उपस्थिति र अर्को पात्रको उपस्थितिबीच कहाँ गएर तादात्म्यता जोडिन्छ, त्यो कुरा पाठकलाई अनुमान गर्न हम्मे पर्छ। जस्तो कि वास्तविक जिन्दगीमा कहाँ, कहिले, कुन परिस्थितिमा कुन व्यक्तिसँग हाम्रो भेट हुन्छ र त्यो संयोगले हाम्रो जिन्दगीको मोडलाई कुन दिशातिर फर्काउँछ, त्यो हामीलाई थाहा हुँदैन। ठीक त्यही मोडलमा पात्रबीच कथा उनिदै जान्छ। कथाले कुन मोड पक्रन्छ, त्यो पाठकले पूर्वानुमान गर्न सक्दैन। कथाहरू पढ्दै जाँदा यस्तो लाग्छ, पात्रहरूले कथावस्तु उनिरहेका छन् वा कथावस्तुले पात्र समेटिरहेको छ, पाठकलाई भेउ पाउन गाह्रो पर्छ। पात्रहरू कथावस्तुमा जबर्जस्त स्थान बनाएर बस्छन् र कुनै एक पात्रको स्थान कमजोर देखिँदैन। पात्रहरू आफ्ना मुद्दामा यसरी आत्मविश्वासपूर्वक बोल्छन्, त्यहाँ कथाकार बोल्ने ठाउँ नै बाँकी रहँदैन। फलस्वरूप कथाहरू कथाकारले होइन, आफ्ना कथाहरू पात्रहरूले आफैँ सुनाइरहेको आभास हुन्छ।

कथावस्तु संयोजन पनि चाखलाग्दो तरिकाले अघि बढ्छ। कथावस्तु सियो बनेर कथामा प्रवेश गर्छ र हात्ती बनेर निस्कन्छ। कथाको सुरुआततिर पाठकले अनुमान लगाउन सक्दैन कि कथा कुन मोड हुँदै के सन्देश छोडेर टुंगिन्छ। फलस्वरुप नजानिँदो तरिकाले पाठक कथावस्तुमा तानिँदै जान्छ र कथाको अन्तसम्म पुग्दा गहिरो प्रभावमा परेर मात्र विश्राम लिन पाउँछ।

कथा शृंखला जालजस्तै बुनिएको छ। कथामा उल्लिखित प्रत्येक पात्रले बोल्ने संवादले कथावस्तुको आकस्मिकतालाई सहज तरिकाले उन्दै जान्छन्। कथामा भन्न खोजिएको चुरो कुराको वरिपरि घटनाक्रम मजाले घुम्छन्। ती घटनाक्रममा पात्र जेलिँदै जान्छन् र कतै विद्रोह गर्छन्। कतै आत्म समर्पण गर्छन्।

समय चित्रण, दृश्यात्मक चित्रण र परिस्थितिगत वातावरणको जीवन्तता कथामा अब्बल छ, त्यसकारण कथामा पसिसकेपछि पाठक उम्केर भाग्न सक्दैन। कथा पढेर यसरी सकिन्छ, मानौँ यी लामा कथा नै होइनन्, यद्यपि कथा सरदर तीस पृष्ठसम्मका लामा छन्। कथामा घटनाक्रम र परिस्थितिले आफैँ स्थान, समय र दृश्य सिर्जना गर्छन् र ती दृश्यको चित्रण सूक्ष्म र जीवन्त तरिकाले कुदिएको छ। यसै कारण पाठक स्वयं प्रत्येक घटनामा सामेल हुन पुग्छ।

कथात्मक सन्देश प्रत्येक कथामा फरक र सबल प्रतीत हुन्छ। सन्देशको दायरा अत्यन्त फराकिलो तरिकाले अघि बढ्छ। बालकलाई दिइएको यौनजन्य प्रताडना बाल मनोविज्ञानसँग गाँसिएर आएको छ। पुरुष मनोविज्ञानसँग गाँसिएको सामाजिक दृष्टिकोण र यसबाट पुरुषले भोग्नुपरेको आघातलाई एउटा कथाले राम्ररी समेटेको छ। तेस्रो लिंगीप्रतिको सामाजिक दृष्टिकोणसँग गाँसिएको उसको पहिचानको समस्या र उसले गरेको विद्रोह पनि छ, कथामा। कथाले फरक–फरक सामाजिक अप्ठेराले पारेका खाडलबाट प्रताडीत पात्रको मनोदशालाई उजागर गर्छन्।

'कठपुतला' कथाबाट संग्रहको नामाकरण गरिएको छ। यो कथाको कथावस्तुले अत्यन्त रोमाञ्चित बनाउँछ पाठकलाई। रोबोटसँग पात्रको संवाद रोचक छ र यस कथामा रोबोटले नै सशक्त पात्रको भूमिका खेल्छ। आफैँले आविष्कार गरेका आधुनिक उपकरणले मानवीय जीवन कसरी दास बन्दै गएको छ र मानवको इन्द्रियजन्य चेतना कसरी कुण्ठित हुँदै गएको छ भन्ने कुराको सशक्त प्रस्तुति यस कथामा पाइन्छ। यस सन्देशको प्रस्तुतीकरणलाई सुहाउँदो विज्ञान सम्बद्ध शब्दावली र चित्रणले कथालाई सबल बनाएको आभास हुन्छ।

धार्मिक आडम्बरको बर्को ओढेर स्वघोषित देवत्व धारण गरेका ढोंगी महात्माबाट प्रताडीत पात्रको मनोदशाको चित्रण गरिएको छ, कथामा र यस्ता पाखण्डी धर्मगुरुको मुखुण्डो उतारेर उनीहरूको सक्कली अनुहार देखाइएको छ। कुनै कथामा हाम्रा धार्मिक मिथकको अन्तरसम्म पुगेर महिलामाथिको सामाजिक हेय दृष्टिकोणविरुद्ध धावा बोलिएको छ।

हाम्रो देश विदेशी शक्ति केन्द्रको प्रयोगशाला भइरहेको छ, तर राज्य र नागरिकमा सजगता छैन। यसतर्फ सचेत हुनुपर्ने सन्देश पनि कथामा उल्लेख गरिएको छ। कथामा प्रयुक्त सन्देशको दृष्टिकोणबाट हेर्दा कथाकारमा भएको ज्ञान र जानकारीको दायरा फराकिलो देखिन्छ। यसर्थ यी कथाले पाठकमा पनि बौद्धिकताको अपेक्षा गर्छन्।

कथावस्तु सामाजिक छन्, वैज्ञानिक छन् र कहीँ धार्मिक र राजनीतिक पनि छन्, तर यति हुँदाहँुदै पनि यी सबै खालका कथावस्तुमा पात्रको मनोविज्ञान घुलमिल भएर आएको हुँदा कथा मनोवैज्ञानिक बन्न पुगेका छन्।

यद्यपि कथाहरूमा पात्रको उपस्थिति जबर्जस्त भएर आएको देखिन्छ र पनि कुनै कुनै पात्रमा विद्रोह चेतना कमजोर पाइन्छ र उनीहरू परिस्थितिका सिकार बन्न पुग्छन्। कथामा यो पक्ष खड्किने खालको छ। बिमर्द कथाको पात्र भने गजबको विद्रोही बनेर आफ्नो पहिचान खोज्न निस्कन्छ।

संग्रहभित्रका सम्पादकीय त्रुटिलाई नकार्न सकिँदैन। यस्ता सानातिना त्रुटि सच्चिएर आउने अपेक्षा गरिन्छ।

'कठपुतला' कथासंग्रहको लेखनबाट कथाकार अर्चना थापाले नेपाली कथा–साहित्यमा एउटै डुबुल्कीमा लामो छलाङ लगाएकी छन् भन्दा अत्युक्ति नहोला।

पुस्तक :  कठपुतला

कथाकार :  अर्चना थापा

विधा :  कथा

प्रकाशक :  अक्षर क्रियसन्स, नेपाल

मूल्य रु. :  ३५०/–

प्रकाशित: १० भाद्र २०७४ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App