coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

चाडपर्व, खुसी र आमा

आमा संसारमै सबैभन्दा मिठो र प्रिय शब्द हो । सन्तानलाई जतिसुकै अप्ठ्यारो बेलामा साहस दिने, चुनौतीसित लड्न सिकाउने, बाँच्न सिकाउने अनि हरेक दुःखको एउटै औषधि आमा हो ।
एउटा साधारण मध्यमवर्गीय परिवारमा म जन्मिएँ । परिवार ठूलो थियो । सात सन्तानको लालनपालन एक्लो बुबाको जागिरले कसरी चलेको थियो होला ! अहिले सम्झँदा अचम्म लाग्छ । आमाले सबै अभावलाई व्यवस्थापन गर्नुहुन्थ्यो । हामीलाई कुनै पनि दुःख देखाउनु हुन्नथ्यो । उहाँको एक मात्र ध्येय आफ्नो घरपरिवार र सन्तानलाई खुसी राख्नुमै थियो ।
कहिलेकाहीँ बाल्यकाल सम्झँदा आँखाबाट आँसु झर्छ । आमा सबेरै उठेदेखि राति अबेरसम्म काममै मग्न हुनुहुन्थ्यो । मेरो बुबाको एउटा नराम्रो बानी थियो । कहिलेकाहीँ मदिरा सेवन गरेर घरमा आउने अनि केही कुरामा चित्त नबुझे जो अघि छ, उसमाथि हात उठाइहाल्ने ! हामी डरले रुन थाल्थ्यौँ तर आमाले हामीलाई शान्त अनि सौम्य भएर फकाएर सुताउनु हुन्थ्यो । आमालाई त्यस बेला कति दुःख लाग्दो हो ! आफ्नै सन्तानका अघिल्तिर निरीह बन्नु पर्दा कस्तो भाव उठ्दो हो ! तर उहाँले हामीलाई कुनै दर्द, कुनै पीडा देखाउनु हुन्नथ्यो ।
मेरी आमा एउटा धनाढ्य वर्गमा जन्मनु भएको थियो । माइतमा हुँदा उहाँले एउटा सिन्कोसमेत भाँच्नु पर्दैनथ्यो तर आफ्ना सन्तानका लागि ‘पहाडै’ खन्न पनि पछि नहट्ने साहसी बन्नुभयो । आमाले भनेका केही कुरा म सम्झिरहेकी हुन्छु, उहाँले भन्नुहुन्थ्यो, ‘छोरी आफ्नो बोली संसारमा बिकाऊ, जतिसुकै अप्ठ्यारो आइपरे पनि सहने बानी विकास गर । सत्यको साथ कहिले नछोड, असत्यलाई कुल्चेर हिँड अनि मात्र तिम्रो संसार राम्रो हुन्छ ।’ उहाँ दीनदुःखीको सेवा गर्नुहुन्थ्यो । दान–धर्ममा ठूलो विश्वास थियो । ‘यो संसारमा जन्मेपछि समाजलाई केही राम्रो काम गर,’ उहाँले सिकाउनु हुन्थ्यो ।
आमा, सायद तपाईंले दिएको यही शिक्षाले होला आज म आफैँ केही गर्न खोजिरहेकी छु । आज म जे छु, तपाईंले रोपेका ती सकारात्मक आशाले तपाईंको अनुपस्थितिमा पनि ठूलो फल दिएका छन् । आज म संघर्षमा हुँदा, कुनै दुःखमा पर्दा, तपाईंको धीरता सम्झेर आँखाबाट आँशु झर्छ र त्यसले मलाई बलियो बनाउँछ । यस धर्तीबाट तपाईं आज टाढा हुनुहुन्छ र बेलाबेलामा तपाईंका बारे छरछिमेक र परिवारले वर्णन गर्दा आँखाबाट हर्षको आँशु आउँछ र गर्व पनि लाग्छ, मेरी आमा कति महान् !
आमा, तपाईं हामीलाई अनायासै झुक्याएर यस धर्तीबाट अस्ताउनुभयो । मैले धेरै कुरा अझै तपाईंबाट सिक्नु थियो । कतिपय कुरा हामीलाई सिकाउनुभयो, बुझाउन खोज्नुभयो तर सिक्ने नियतले सिकिएन । अहिले म आफैँ आमा छु तर पनि आमालाई खोजिरहेकी हुन्छु । कहिलेकाहीँ मेरा सन्तान काखमा लुटपुटिँदा तपाईंको काखमा रम्न नपुगेको याद आउँछ र भुलुक्क आँशु उम्लन्छन् तपाईंको अनुपस्थिति सम्झँदा । लाग्छ, तपाईंको माया मलाई अझै पुगेको रहेनछ, नत्र किन यी आँशुले तपाईंलाई सम्झेका होलान् ! जुन बेला तपाईंले हामी सन्तानलाई खोज्नुभयो, त्यतिबेला हामी व्यस्त थियौँ । हाम्रो व्यस्तताका कारणले गर्दा छोटो समयसमेत साट्न नपाएकोमा मलाई कताकति पश्चातापले पोल्छ ।
अझ चाडपर्व नजिकिँदै जाँदा तपाईंको सम्झनाले अति सताउँछ अनि मन गाह्रौँ भएर आउँछ । कहिले मन्दिर, कहिले वृद्धाश्रम गएर चाडपर्वमा रमाउन मन लाग्छ । वृद्धाश्रमका आमाबुबाको अनुहारमा कतै तपाईंलाई फेला पार्छु कि भन्ने खोज्ने कोसिस गर्छु । हुन त चाडपर्वका बेला दाजुभाइ–दिदीबहिनी सबै छन् । पर्वका बेला दाजुभाइ–दिदीबहिनी भेला हुन्छन्, सानासाना कुरामा खुसी खोज्न बाल्यकालका रमाइला घटना सम्झिरहेका हुन्छन् । उनीहरु मात्र होइन, उनीहरुका सन्तान पनि रमाइरहेका छन् तर पनि चाडपर्वमा एउटै कुराको अभाव खट्किन्छ । हो, आमा मलाई चाडपर्व भन्नेबित्तिकै तपाईंको स्नेह अनि निश्चल मायाको अभाव खट्किन्छ । तपाईंको माया अरु कसैसँग पनि तुलना गर्न सकिँदोरहेनछ ।
चाडपर्वका बेला सबै साथी माइत जान्छन् । म पनि माइत जान्छु । जेठानी–देवरानीहरू माइत जान्छन् । माइतको प्यासले नन्द–आमाजू आउँछन् । म पनि उनीहरुसँगै रमाउन खोज्छु तर पनि खल्लो महसुस हुन्छ । मनै त हो, तन–मन र आँखाले आमा तपाईंलाई नै खोज्छ । कतैबाट आएर तपाईंले बोलाउनु हुन्छ कि भन्ने आशा लाग्छ । विडम्बना, यो आशा आशामै बिलाउँछ । धर्तीबाट बिदा भएको केही वर्ष भयो । थाहा भएर पनि तपाईंप्रतिको कस्तो आशक्ति हो, म आफैँ छक्क पर्छु । चाडबाडमा तपाईंलाई नसम्झेको कुनै क्षण छैन । पछिल्लो समय त लाग्न थालेको छ, चाडपर्वमा आमाको अस्तित्वको कमी असह्य हुने रहेछ । विवाहित चेलीबेटीलाई आमा र चाडपर्व पर्यायवाची नै हो कि जस्तो लाग्न थालेको छ ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १२ भाद्र २०७४ १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App