८ वैशाख २०८१ शनिबार
कला

हुमागाइँको ‘जीवन’ दर्शन सार्वजनिक

जीवन लोकार्पण गर्दै लेखक सुवर्ण हुमागाइँ, काँग्रेस नेता गगन थापा, शिक्षाविद् विद्यानाथ कोइाराला तथा मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठ।

काठमाडौं– पेशाले ग्राफिक डिजाइनर सुवर्ण हुमागाइँले आफ्नो डिजाइन करियरमा धेरैको पुस्तकको आकर्षक सजावट गरे । दर्शनमा विशेष रुचि राख्ने उनले आफ्नो करियरमा धेरै विधाका पुस्तक पनि सजाए। तर, मंगलबारबाट भने उनी आफैं उपन्यासकारका रूपमा साहित्यनुरागी माझ झुल्किएका छन् ।

पूर्वीय र पश्चिमी दर्शनलाई फ्युजन गरेर उनले उपन्यास ‘जीवन’ पाठकमाझ ल्याएका छन्। राजधानीमा मंगलबार आयोजित कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन थापा, प्राध्यापक डा. विद्यानाथ कोइराला, मानवशास्त्री विहारीकृष्ण श्रेष्ठ र लेखक सुवर्णले संयुक्त रूपमा उपन्यास सार्वजनिक गरे।

गगनले वास्तविक जीवनमा लेखक निडर भए जस्तै पुस्तकमा पनि उनले निडरपना देखाएको दाबी गरे।

मानवशास्त्री बिहारीकृष्णले पुस्तकमा प्रयोग गरिएको आत्माराम र शान्तिरामको चरित्रले समग्र पुस्तकलाई समेटेको बताए। ‘मान्छे कसरी आत्मराम र शान्तिराम बन्छ भन्ने विषयलाई गहन रूपले लेखकले प्रस्तुत गरेका छन्,’ उनले भने, ‘पुस्तकले तराईको चुरे क्षेत्रको एक गाउँको कथालाई निकै रोमाञ्चक र भावुक किसिमले प्रस्तुत गरेको छ । पुस्तकमा संघीयतापछि एकता आवश्यक छ भन्ने सन्देश पनि समावेश छ ।’
अर्का टिप्पणीकार प्रा. डा. कोइरालाले पुस्तकले पाठकका लागि दर्शन, सामाजिक उपन्यास वा वकालत के हो भन्ने कुरा प्रष्ट्याउने जनाए।

‘किताबले पाठकलाई दर्शनमा दौडिने बाटो देखाएको छ,’ कोइरालाले भने, ‘पुस्तकमा रहेका आत्माराम र शान्तिराम चरित्र पाठकका लागि नौलो भए पनि यी दुई चरित्रको रहस्यले सबैलाई छुन्छ।’

सांसद थापाले लेखक सुवर्ण व्यवहारिक हिसाबमा स्वतन्त्र, निष्पक्ष र दयालु भए पनि पुस्तकका केही स्थानमा भने कठोर देखिएको दाबी गरे। ‘सुवर्णले पुस्तक होइन, पुस्तकले चाहिँ सुवर्ण बोकेको छ,’ उनले भने, ‘पहिलो भागको चुरे बस्तीको कथाले पाठकलाई नोस्टाल्जिक बनाउँछ । दोस्रो भागले रोमान्टिक बनाउँछ भने तेस्रो भागले लेखकको निडरतालाई छताछुल्ल पार्छ ।’ गगनले वास्तविक जीवनमा लेखक निडर भए जस्तै पुस्तकमा पनि उनले निडरपना देखाएको दाबी गरे।

लेखक सुवर्णले पुस्तक परहितका लागि लेखिएको बताउँदै आफूले अक्षरमार्फत समाजको पीडा लेखेको जनाए ।  ‘एउटा असल समाज निर्माणका लागि यो पुस्तक पक्कै मार्गदर्शक बन्नेछ,’ उनले आशा गरे, ‘त्यसैले मैले पुस्तकको कुनै पनि कन्टेन्टलाई पाठक वा अन्य लेखकले कपि गरेमा त्यसमा कपिराइट लाग्ने छैन ।’ पुस्तक फ्रान्सिस्को भरेला इनिष्टिच्युटले प्रकाशन गरेको हो ।

 

प्रकाशित: १४ भाद्र २०७४ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App