७ वैशाख २०८१ शुक्रबार
विचार

पथभ्रष्ट राजनीति

एक जना गृहस्थ व्यक्ति घरमा भिक्षा माग्न आउने कुनै पनि जोगीलाई आदरसाथ भिक्षादान गर्थे । एक दिन एउटा जोगी उनको घरमा भिक्षा माग्न आयो । घरधनीको आपूmप्रतिको सदाशयता बुझेर जोगीले मासु खाने इच्छा व्यक्त ग¥यो । घरधनीले भने, ‘तपाईं जोगी भएर पनि मासु खानुहुन्छ ?’ जोगीले भन्यो, ‘रक्सी नभईकन त मासु खानुको मज्जा नै आउँदैन ।’ घरधनीले आश्चर्य मान्दै सोधे, ‘ओहो, तपाईं मदिरा पनि सेवन गर्नुहुन्छ ?’ जोगीको उत्तर थियो, ‘वेश्यासँग नबसी रक्सी के खानु ?’ घरधनीले झन् आश्चर्य मानेर सोधे, ‘वेश्यागमनका लागि त पैसा चाहिन्छ नि, पैसा कहाँबाट ल्याउनुहुन्छ ?’ जोगीले भन्यो, ‘त्यसका लागि चोरी–ठगी र नभए जुवा खेल्न जान्छु ।’ घरधनीले झन् आश्चर्यसाथ सोधे, ‘त्यसो भए तपाईं चोरी र ठगी पनि गर्नुहुन्छ अनि जुवा पनि खेल्नुहुन्छ ?’ जोगीको अन्तिम उत्तर एउटा मात्र थियो, ‘भ्रष्ट मानिसको अरू उपाय के हुन सक्छ ?’

प्रजातान्त्रिक समाजवादको आदर्शको भाषण गर्ने कांग्रेसका प्रत्येक आचरण गैरसमाजवादी र गैरप्रजातान्त्रिक रहेका छन् ।

गृहस्थ र जोगीका बीचको प्रस्तुत संवादले मानवीय चरित्रको त्यो पाटोलाई प्रस्तुत गरेको छ जसले बाहिर देखिने मानिस र उसको भित्री नियतबीचको अकल्पनीय भिन्नतालाई देखाउँछ । त्यस्ता विपरीत द्वैध चरित्रका मानिसहरू हाम्रै वरपर विभिन्न आवरणमा हुन सक्छन् । कुनै पनि पेसा, व्यवसाय, जातजाति, धर्म, लिंगका मानिसहरूमा पाइने यो आचरणगत भिन्नताको राजनीतिक पाटोकै चर्चा गरौँ ।

राजनीतिको अर्थ राज्य सञ्चालन गर्ने प्रमुख नीति वा नियम हो । यस्तो नीति–नियमको अनुयायी वा मार्गदर्शकका हातमा मुलुकको गन्तव्य र भविष्य निर्भर रहेको हुन्छ । त्यस्ता व्यक्तिको राजनीतिक दिशानिर्देशलाई राष्ट्रका नागरिकले आशावादी बनेर हेरिरहेका हुन्छन् र तिनैलाई आफ्नो इच्छा र आशयको प्रतीक ठानेर तिनलाई आफ्नो मत–अभिमत सुम्पिन्छन् । यसरी त्यस्ता नेतृत्वदायी व्यक्ति वा निर्वाचित प्रतिनिधि जनताका आस्थाका पात्र बन्न पुग्छन् । तर जब त्यो आस्थामा ग्रहण लाग्न थाल्छ अनि जनताको भत्किएको आस्थाले अर्काे विकल्प खोज्न थाल्छ अनि त्यो विद्रोहमा परिणत हुन पुग्छ । विश्व राजनीतिमा भएका र हुँदै गरेका राजनीतिक परिवर्तनले हामीलाई यस्तै कथा भन्छन् ।

सार्वजनिक समारोहमा भएको कुनै एउटा भेटघाटका अवसरमा एक जना नेपाली बुद्धिजीवीले एउटा प्रमुख पार्टीका मुख्य नेतालाई भने, ‘नेताजी, मुलुकलाई बनाउन तपाईंहरूले केही त्यागको बाटो पनि अँगाल्नुप¥यो ।’ उत्तरमा नेताले स्पष्टसँग भने, ‘म जोगी बन्न राजनीतिमा आएकै होइन ।’ त्यस संवादको श्रोतामध्येको एक यो लेखक पनि थियो ।

हो, विश्वमा आदर्श राजनीतिले ओरालो बाटो लिएको धेरै नै वर्ष भइसक्यो । अहिलेको युग गान्धी, लिंकन, माओको युग होइन । तर पनि पछिल्लो समयमा आएर नेल्सन मन्डेला, तङ सियाओफेङ, लीक्वान यु आदि कैयन् राष्ट्र नेताहरूले आफ्नो आदर्शमय राजनीतिक दिशानिर्देशद्वारा आ–आफ्ना मुलुकलाई समृद्ध बनाउने सफलता पाएका हुन् । तिनले जोगी बन्न राजनीति गरेका थिएनन् बरू मुलुकको आर्थिक समृद्धिसँगै आपूm र आफ्नो देशको प्रत्येक नागरिकलाई जोगी हुने अवस्थाबाट मुक्त गरी सम्पूर्ण देशलाई समृद्ध सुखी बनाउने बाटो देखाएका हुन् ।

नेपालका वर्तमान राजनीतिक पार्टीहरूले आ–आफ्ना मार्गदर्शकका रूपमा नेता र नीति, वाद वा सिद्धान्तलाई देखाउने गरेका छन् । त्यो उनीहरूको बाह्य आवरण हो । तर त्यो बाह्य आवरण क्रमशः उदाङ्गो हुँदै गएको अनुभूति प्रत्येक सचेत नेपालीले गरिरहेको छ । प्रजातान्त्रिक समाजवादको आदर्शको भाषण गर्ने नेपाली कांग्रेसका प्रत्येक राजनीतिक आर्थिक आचरणहरू नितान्त गैरसमाजवादी र गैरप्रजातान्त्रिक रहेका घटना दिनानुदिन बढोत्तरीमा देखापरिरहेका छन् । पार्टीको नामसँग माक्र्स, लेनिन र माओको नाम जोड्नुको औचित्य के हो ? नेपालका कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरू नै दिग्भ्रमित छन् र २००६ सालदेखि अहिलेसम्मका अवस्थामा व्यक्तिगत गुट–उपगुटको स्वार्थमा मात्र ती विभाजित र संयुक्त बनेका छन् । राष्ट्रवादको राग अलाप्ने पार्टीहरू वैयक्तिक महत्वाकाङ्क्षाले गर्दा प्रतिदिन फुट्ने–जुट्ने खेलमा अभ्यस्त बनिरहेका छन् । यसरी बाहिर नाम, झन्डा, नारा र भाषणको आवरणले बेरिएका र भित्र मुलुकलाई लुटिएर वैयक्तिक स्वार्थ साधन गर्ने उद्देश्य लिएका राजनीतिक पार्टी नेताहरु एकपछि अर्को गर्दै नांगिदै गएका घटना देखापरिरहेका छन् ।

कुनै पनि मुलुकको उत्थानमा जसरी राजनीति र अर्थनीतिको सहकार्यको महत्वपूर्ण भूमिका हुन्छ त्यसको ठीक विपरीत पतनमा पनि राजनीतिक र अर्थनीतिले एकसाथ सक्रियता देखाइरहेका हुन्छन् । ठीक अहिलेको नेपालको अवस्थामा पनि यसमा वर्तमान पार्टी नेतृत्वहरू र आर्थिक गतिविधिहरूले एकसाथ मुलुकलाई पतनको खाडलतिर धकेलिरहेको स्पष्ट आभास मिलिरहेको छ । देशको अर्थव्यवस्था व्यवस्था भन्न नसकिने गरी माफियातन्त्रको हातमा पुगेको छ । अहिले भ्रष्टाचारको आर्थिक अंक करोडबाट पनि नाघेर अर्बको सङ्ख्यामा पुगेको छ । यही स्थिति अगाडि बढ्दै जाने हो भने मुलुकको आर्थिक अनियमितता आगामी दिनमा छिट्टै खर्बको अंकमा पुग्ने सम्भावना देखिन्छ । त्यसो त नेपालको आर्थिक बेरुजुले खर्बको संख्या छोएको धेरै नै भएको हो । भर्खरै देखापरेको चूडामणि र गोपाल खड्का प्रकरणहरू यसका नमुना हुन् । यस्ता भ्रष्टाचार र आर्थिक अनियमितताहरूले मुलुकको वर्तमान राज्यव्यवस्थाका उपल्लादेखि तल्लो तहका निकायहरू कतिसम्म र कहाँसम्म समेट्न पुगेका छन् । तिनको आँकलन गर्नु नै दुःसाध्य वा दुःखसाध्य बनेको अवस्था देखापर्दै छ ।

राष्ट्रका प्रमुख निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाहरू हुन् । यी तीन अंगको सहकार्य मुलुकको उत्थानमा उल्लेखनीय रहनेछ । तर कार्यपालिकाद्वारा पार्टीगत वा व्यक्तिगत स्वार्थ साधन हुने गरी विधेयकहरू सदनमा पेस गरिने र त्यसलाई सदनबाट पारित गर्ने गतिविधि बराबर हुने गरेका छन् र न्यापालिकालाई आफ्नो प्रभावमा पार्ने प्रयासको नमुना त सर्वाेच्चका प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोगले छर्लंग पारिसकेकै हो । न्यायाधीश नियुक्ति र पदोन्नतिमा किन पार्टीगत भागबन्डा हुन्छ र योग्य न्यायमूर्तिहरू अवहेलित हुन्छन् ? यस्ता सवालहरू पथभ्रष्ट राजनीतिकर्मी र तिनले चलायमान गरेको शासनसत्ताकै सन्दर्भमा उठ्ने गरेका छन् ?

यतिबेला मुलुकको सबभन्दा ठूलो राजनीतिक पार्टी नेपाली कांग्रेसका डेढ दर्जन सदस्यहरू भ्रष्टाचारका पक्षमा खुलेर लागेका छन् । उनीहरूले भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने प्रस्ताव संसद्मा प्रस्तुत गरेका छन् । भ्रष्टाचारमा आरोपित व्यक्तिका हकमा सम्बन्धित व्यक्तिले सजाय पूरा भएको मितिले तीन वर्षपछि निर्वाचनमा भाग लिन पाउनुपर्ने मागसहित उनीहरू निर्लज्ज बनेर देखापरेका छन् । जब कि स्थानीय तह निर्वाचनसम्बन्धी ऐन र राजनीतिक पार्टीगत ऐनमा भ्रष्टाचारमा आरोपित भई दोषीसमेत प्रमाणित भएर जेल सजाय पाएका व्यक्तिले आजीवन चुनाव लड्न नपाउने स्पष्ट व्यवस्था छ । तर जनताको प्रतिनिधि बनेको मुलुकको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका यति ठूलो सङ्ख्याका सांसद्हरूले ‘तीनवर्षे’ पारदर्शी आवरण राखेर भ्रष्टाचारीहरूले चुनावमा भाग लिन पाउनुपर्ने खुला भाग राख्नुले मुलुकमा यस पार्टीको बाँकी रहेको इज्जतको पर्दालाई उदांगो पारेको छ । अब आगामी कुनै पनि दिनमा भ्रष्टहरूले जेल सजाय भोगिसकेपछि तिनलाई जेलबाट छुटेपछि नै चुनावमा टिकट किन दिन नहुने ? किन तीन वर्षको साँध राख्ने भन्ने प्रश्न तिनले संसद्मा राख्ने पनि सम्भावना बढेको छ ।

यसरी भ्रष्टाचारलाई खुला छुट दिने डेढ दर्जन सांसदहरू संगठित रूपमा देखापर्नुले यसका पछाडि सम्बन्धित पार्टी नेपाली कांग्रेसका केन्द्रीय नेताहरूकै उनीहरूलाई आशीर्वाद प्राप्त भएको अनुमान गर्नु गाह्रो छैन । र ती सांसद्हरूले निर्वाचनमा पार्टीबाट टिकट पाएर होस् वा समानुपातिकका माध्यमबाट होस् पार्टीको नेतृत्व तहलाई रिझाएर नै संसद्मा प्रवेश गरेका हुन् र उनीहरूलाई प्रवेश गराउने उक्त पार्टीको केन्द्रीय नेतृत्वको मनसायको प्रतिनिधित्वसमेत यी डेढ दर्जन सांसदले गरेको कुरा छर्लंग बनेको छ ।

वर्तमान नेपालको कुनै पनि संवैधानिक अंग र तीअन्तर्गतका निकायहरू भ्रष्टाचारबाट मुक्त नभएको स्थिति छ, केही  अपवादबाहेक । यसरी भ्रष्टाचारले व्यापक रूपमा संस्थागत रूपमै मान्यता पाउँदै आएको छ । एकै दिनमा थुप्रै बैठकको बैठकभत्ता हस्ताक्षरमात्र गरेर कुम्ल्याउनु, अनेक बहानाबाजीमा सरकारी गाडी र तेल लिनु, आफ्नो हैसियत र औचित्य नभएको विदेश भ्रमणमा गएर डलरमा दैनिक भ्रमणभत्ता लिनु, बिल भरपाई मिलाएर प्रशासनिक व्यक्तिहरूको मिलोमतोमा सरकारी रकमलाई तलमाथि गर्नु आदि कैयन् आर्थिक कारोबारहरू त कानुनसम्मत जस्तै बनिसकेका छन् । महल आफ्ना नातागोताका नाममा दर्ता गराएर घरभाडाबापत रकम बुझ्ने काम पनि सहज रूपमा पाच्य बनिसकेको छ । निर्माण कार्य र मर्मतका लागि आफ्नो अनुकूलका व्यक्तिहरूलाई ठेक्कापट्टाको व्यवस्था र प्राविधिकको सरूवाका निम्ति प्रशासनयन्त्रसँग मिलोमतो गर्नु पनि साधारण भइसकेको छ । उल्लिखित सम्बन्धित जनप्रतिनिधिका आचरणहरूलाई साधारणीकरण नै गर्न नमिल्ला । तर मुलुकका सबभन्दा उपल्लो स्तरका जनप्रतिनिधिहरू कुनै न कुनै रूपमा यस्ता भ्रष्टाचारसँग प्रत्यक्ष वा अप्रत्यक्ष  रूपमा सम्बन्धित छन् जसको जरोसम्म पुग्नु त परै जाओस् त्यसको सामान्य अनुमानसम्म गर्न पनि दुःसाध्य बनेको छ, सर्वसाधारणका निम्ति ।

नेपालको राजनीतिक इतिहासमा राजनीतिक चरित्रको यति विकृत रूप यसभन्दा अघि कहिल्यै देखिएन । भ्रष्टाचारको पक्षमा यति ठूलो संख्यामा संसद् सदस्यहरू संगठित बनेर मैदानमा उत्रिएको यो सायद पहिलो घटना हो । भ्रष्टाचारको विषय आर्थिक कारोबारसँग मात्र सम्बन्धित होइन । यी डेढ दर्जन सांसदहरूको मागभित्र फौजदारी किसिमका अपराधीहरूलाई उन्मुक्ति दिई तीन वर्षमा चोख्याएर राजनीतिक निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने स्पष्टोक्ति अभिव्यक्त भएको छ । नेपाली कांग्रेस पार्टीका उपयुक्त सांसद्हरूले राखेका उपयुक्त मागहरूले उनीहरू स्वयंको आपराधिक चरित्र र मानसिकताको आभ्यन्तर स्वरूपको प्रदर्शन गरिरहेका छन् । यस अर्थमा गेरूवा वस्त्रको आवरणमा जनताको घरदैलोमा भिक्षामाग्ने भ्रष्ट जोगी र जनसेवाको रामनामी ओडेर जनतासँग मत माग्ने जनविरोधी र राष्ट्रद्रोही गतिविधिमा संलग्न जनप्रतिधिबीचको चारित्रिक समानता ठयाम्मै मिल्न पुगेको छ । सम्पूर्ण लाजघिन छोडेर अपराधमा संलग्न भएको स्वीकार गर्नेहरूसँग अब बाँकी प्रश्न गर्ने कुरै के छ र ?

प्रकाशित: १६ भाद्र २०७४ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App