८ वैशाख २०८१ शनिबार
कला

सुरु भयो भेनिस

इटली- हलिउड फिल्म ‘डाउन साइजिङ’को रेड कार्पेट प्रिमियरसँगै भेनिस फिल्म फेस्टिभलको सुरुवात भएको छ । बुधबार फिल्मका कलाकार म्याट डेमोनले श्रीमति लुसियाना बोरोसो, फिल्मका कलाकार क्रिस्टेन विग, रेबाका हल, क्रिस्टोफ वाल्ज र निर्देशक अलेक्जेन्डर पायनेसँग रेडकार्पेटमा हिँड्दै फेस्टिभलको शुभारम्भ गरेका थिए ।

भेनिसलाई विश्वकै तीन ठूला फिल्म फेस्टिभल (कान्स र बर्लिन) मध्ये एक मानिन्छ । तर, भेनिस बाँकी दुईभन्दा जेठो फेस्टिभल हो । बुधबारबाट सुरु भएको फेस्टिभल असोज ९ सम्म चल्नेछ । साइन्स फिक्सन विधाको फिल्मलाई समीक्षकले ५ मा ५ नै स्टार दिएका छन् । डेमोनकै अर्को फिल्म ‘ सुबरबिकन’ लाई फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार ‘गोल्डेन लायन अवार्ड’का लाागि प्रतिस्पर्धी मानिएको छ । जर्ज कुलुनी र कोयन ब्रदर्सले संयुक्त रुपमा लेखेको फिल्ममा जर्ज कुलुनी र म्याट डेमोन मुख्य भूमिकामा छन् । फिल्मलाई जर्ज कुलुनीले निर्देशन गरेका हुन् ।  सन् २०११ मा निर्णायक रहेका गुलेर्माे डेल टोरो शीतयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘सेप अफ वाटर’का साथ प्रतिस्पर्धामा सहभागी हुन आएका छन् । उनको फिल्मलाई पनि अवार्डको एक दाबेदार मानिएको छ । डरेन आरोनोफस्काइ निर्देशित फिल्म ‘मदर’ र पल सार्डर निर्देशित ‘फस्ट रिफम्ड’लाई सम्भावित विजेताको सूचीमा राखिएको छ । मुख्य पुरस्कार लागि २१ फिल्मबीच प्रतिस्पर्धा हुनेछ ।

भेनिसको यो ७४ औं संस्करण हो । भेनिसमा विजयी फिल्मलाई अस्कर अवार्डको मुख्य दाबेदार मानिन्छ । भेनिसमा पुरस्कार जितेको ‘ला ला ल्यान्ड’ले अस्करमा पनि सोही विधामा अवार्ड जितेको थियो । भेनिसमा ‘ला ला ल्यान्ड’बाट एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेकी थिइन् । अस्करमा पनि सो विधाको पुरस्कार एम्माकै पोल्टामा परेको थियो । फेस्टिभलमा १४ वटा फिल्मले  अप्रतियोगी फिल्मको रुपमा सहभागिता जनाउँदैछन् ।

फेस्टिभलमा एसियाबाट जापानीज र चाइनिज फिल्मले प्रतिनिधित्व गर्दैछन् । फेस्टिभलमा जापानबाट हिरोकोजु कोरियडाको ‘ दि थर्ड मर्डर’ र चीनबाट भियिन क्युको ‘एन्जल्स वेयर ह्वाइट’ ले सहभागिता जनाउनेछन् ।

यो पटक मुख्य निर्णायकको जिम्मेवारी चार पटककी ओस्कार मनोनयनमा परेकी एनेट बेनिङले निर्वाह गर्नेछिन् । उनलाई अभिनेत्री रेबाका हल, हंगेरीका निर्देशक इदिको इनेदी र हालसालै रिलिज भएको फिल्म ‘बेबी ड्राइभर’का निर्देशक इडगर रिटले साथ दिनेछन् । २००६ पछि पहिलोपल्ट कुनै पनि महिलाले भेनिसको जुरीमा अध्यक्षता गर्ने मौका पाएकी हुन् ।

प्रकाशित: १६ भाद्र २०७४ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App