अलगयात्री

सडक बालबालिकाका अभिभावक

शुक्रबार, १६ भदौ २०७४, १३ : १३ खिलक बुढाथोकी  | @KhilakB


प्रकाश अधिकारी, नामजस्तै काम गर्छन् । उनी अरुलाई शिक्षाको उज्यालो अर्थात् प्रकाश दिन्छन् । ३९ वर्षीय प्रकाशले झन्डै दुई दशक शिक्षण पेसामा बिताइसके । अहिले उनी जोरपाटीस्थित इस्टपोल विद्यालयका भाइस प्रिन्सिपल छन् ।
प्रकाश विद्यालयमा आउने विद्यार्थीको भन्दा शिक्षाको पहुँच बाहिर रहेका सडक बालबालिकाको बढी चिन्ता गर्छन् । अहिले उनी १९ असहाय तथा विपन्न बालबालिकालाई पढ्न सघाइरहेका छन् । 
०००
टोखा नगरपालिका झोरका बासिन्दा प्रकाशको चाहना इन्जिनियर बन्ने थियो । उनले थापाथली क्याम्पसमा इन्जिनियरिङ अध्ययनका लागि नाम पनि निकाले । पढ्न निस्केको नामले मात्रै उनको मुहारमा खुसी ल्याउन सकेन । परिवारले इन्जिनियरिङ पढ्न लाग्ने खर्च धान्न नसक्ने भनेपछि निराश भएका उनले म्यानेजमेन्ट पढ्न थाले ।

उनलाई यहीबेला लाग्यो, कुनै दिन पैसा कमाएछु भने अवसरबाट वञ्चित अनुहारमा खुसी ल्याउने प्रयत्न गर्नेछु । 
स्नातक नसक्दै उनले झोरकै एक विद्यालयमा पढाउन थाले । जागिर थालेसँगै उनले पाँचजना मिल्ने साथीको समूह बनाए र भने, ‘हामी सबैजना दुई–चार पैसा कमाउँछौँ । यसबाट थोरै कटाएर अरुका लागि केही गरौँ न ।’

सोहीअनुसार आफ्नो कमाईबाट निश्चित रकम जम्मा गर्न थाले उनीहरूले । जम्मा भएको रकमबाट बालबालिकाको क्षेत्रका काम गर्ने अठोट पनि लिए । 

‘सडकमा आउन बाध्य बालबालिकाका प्रतिभा उजागर गर्ने सोच थियो । सुरुमै केही चमत्कार गर्न सक्ने अवस्थामा थिएनौँ हामी,’ उनले भने, ‘जम्मा गरेको केही रकमबाट सडक बालबालिकालाई खाना खुवाउने योजना बनायौँ । ताकि, एक दिन भए पनि टन्न खाना पाऊन् ।’

‘सडकमा आएका बालबालिका परिवारसँग रमाउँदा र राम्रोसँग पढेको देख्दा खुसी लाग्छ,’ प्रकाश भन्छन्, ‘म कुनै पनि बालबालिकालाई सडकमा देख्न चाहन्नँ ।’

जम्मा भएको पैसा बोकेर उनी साथीसहित प्रकाश वसन्तपुर पुगे । त्यस क्षेत्रका बालबालिका भेला गरेर होटलमा खाना खुवाउन लगे तर कुनै होटलले पनि खाना खुवाउन मानेनन् । ‘अनेक अनुरोधपछि मात्रै होटलवालाले खाना खुवाउन माने,’ उनले भने, ‘पहिलोपटक २१ बालबालिकालाई खाना खुवायौँ ।’ यो झन्डै १० वर्षअघिको कुरा हो ।

बिदाको दिन र चार्डपर्व पारेर उनी सडक बालबालिकालाई खाना खुवाउन जान थाले । नजिकको साथीको जन्म दिन मनाउन पनि उनी सडक बालबालिका भएको ठाउँमा पुग्थे । 

कहिले वसन्तपुर क्षेत्र, ठमेल क्षेत्र, कहिले पशुपति क्षेत्र त कहिले बौद्धको सडकमा पुगेर उनले सडक बालबालिकालाई खाना खुवाए । जाडो मौसममा उनले सडक बालबालिकाका लागि कपडा पनि किनिदिए, सडकमै डाक्टर बोलाएर स्वास्थ्य जाँच गराए  । 

‘सुरुसुरुमा बालबालिकालाई भेला पार्नै हम्मे हुन्थ्यो,’ उनी भन्छन्, ‘एक–दुईपटक भेटेपछि त मलाई देख्यो कि छोप्दै आउँथे उनीहरू नै ।’ बालबालिकाका लागि अभिभावक नै बन्न थालेका उनले भने काम गर्ने सिलसिलामा धेरै बाधा–अड्चन पनि खेपे । त्यसपछि उनले संस्थामार्फत सेवा गर्न थाले । 

०६९ मा प्रतिभा विकास तथा उत्थान केन्द्र, नेपाल नामक संस्था दर्ता गराए । संस्थाको उद्देश्य थियो, अवसर नपाएकाहरूको लुकेको प्रतिभा प्रस्फुटन गर्ने । अहिले संस्था प्रकाशले नै हाँकिरहेका छन् । देश–विदेशमा रहेका प्रकाशका साथीले संस्थालाई सघाइरहेका छन् ।

अहिले संस्थाले १९ बालबालिकालाई पढाइरहेको छ । ‘११ जनालाई छात्रावास र नौजनालाई उनीहरूकै परिवारसँग राखेर पढाइरहेका छौँ,’ उनले भने, ‘योसँगै सडकमा रहेकालाई खाना खुवाउने लगायत काम पनि गरिरहेकै छौँ ।’

सडकका बच्चालाई खाना खुवाउने क्रममा उनीहरूले बच्चाको बानी–व्यहोरा बुझ्ने गर्छन् । सडकमा आउनुपर्ने कारण बुझ्छन् । सबै कुरा पत्ता लगाएपछि मात्रै पढ्न चाहने बच्चाको छनोट गरिएको प्रकाशले बताए । ‘सडकमा रहरले कोही आएका हुँदैनन्, सडकमा आएकामध्ये सबैलाई सुधार्न पनि सकिँदैन,’ प्रकाशले भने, ‘त्यसैले पहिला हामी बालबालिकाको सबै कुरा अध्ययन गर्छौं, त्यसपछि मनोवैज्ञानिकसँग सल्लाह मागेर उनीहरूलाई विद्यालय पठाउने प्रक्रिया थाल्छौँ ।’ प्रकाशका अनुसार धेरै बालबालिका पारिवारिक बेमेलका कारण सडकमा आउँछन् । यस्ता कतिपय बालबालिकालाई उनीहरूले परिवारसँग मिलन पनि गराइदिएका छन् ।

‘परिवारले पढाउन नसक्ने अवस्था देखिए हामीले पढाउँछौँ, तर बालबालिकालाई परिवारसँगै राख्छौँ,’ प्रकाशले भने, ‘अहिले हामीले त्यस्ता आठ बालबालिकालाई पढाइरहेका छौँ । यी बालबालिकालाई सुरुमा हामीले सडकमै भेटेका हौँ ।’  संस्थाले पढाएको सबैभन्दा ठूला एक छात्र जोरपाटीकै अलकेमिस्ट एकेडेमीमा कक्षा ९ मा पढ्छन् ।

प्रकाशका अनुसार अधिकांश विद्यालयले केही प्रतिशत छुटमा विद्यार्थी पढाइदिएका छन् । विद्यार्थीहरू फरक–फरक विद्यालयमा पढिरहेका छन् । ‘विद्यालयलाई अनुरोध गरेर न्यून शुल्कमा विद्यार्थी पढाइरहेका छौँ,’ प्रकाश भन्छन् । कतिपय विद्यार्थीलाई भने शुल्न तिर्ने जिम्मा प्रकाशका साथीले लिएका छन् । यसैले आर्थिक हिसाबमा प्रकाशले अहिलेसम्म ठूलो समस्या झेल्नुपरेको छैन । सानोतिनो समस्याका लागि भने उनकै आम्दानीले पुगेको छ । 
प्रकाश दिनभरजसो पढाउने जागिर गर्छन् । बिहान र बेलुका भने भ्याएसम्म उनी बालबालिका रहेका विद्यालय र छात्रावास पुग्ने गर्छन् ।

पहिले प्रकाशले सडक बालबालिकालाई खाना खुवाउँदा, कपडा किन्दा धेरैले कुरा काट्थे । अहिले उनीहरूले नै वाहवाही गर्न थालेको प्रकाश बताउँछन् । 

‘सडकमा आएका बालबालिका परिवारसँग रमाउँदा र राम्रोसँग पढेको देख्दा खुसी लाग्छ,’ प्रकाश भन्छन्, ‘म कुनै पनि बालबालिकालाई सडकमा देख्न चाहन्नँ ।’

उनी सडक बालबालिकालाई पढाउनेसँगै टोल सुधार लगायत अभियानमा पनि लागेका छन् । भूकम्पका बेला उद्धार र राहतमा सक्रिय प्रकाश अहिले तराईका बाढीपीडितलाई राहत बाँड्न जुटेका छन् ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पद्मावती’ विवाद

‘पद्मावती’ विवाद

महंगो सेटमा फिल्म बनाउन माहिर बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’को फष्र्टलुक सार्वजनिक हुनासाथ फिल्मकर्मीदेखि दर्शकसम्मले फष्र्टलुकको तारिफ गरे...

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको...

दसैंका गीतमा पीडा

दसैंका गीतमा पीडा

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो...

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

आगामी कात्तिक २४ गते ‘सकस’, ‘रोमियो’ र ‘मेला’ रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा अर्को फिल्म ‘तान्द्रो’ पनि रिलिज हुने...