coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अनायासै गीतकार

एउटा भनाइ छ– संगत गुनाको फल । हो, उनी पनि साथीकोे संगतले गीतकार बन्न पुगे । ठ्याक्कै तिथि त सम्झना छैन, त्यस्तै पाँच वर्ष भयो होला, एक संगीतकारसँग चिनापर्ची भएको । बागबजारस्थित आराधना कम्प्लेक्सको ‘दी आराधना क्याफे’मा उनीहरूबीच भेट भएथ्यो, ग्राहक र साहुजीका रूपमा ।

तिनै साहुजी हिमाल साउद र संगीतकार कालीप्रसाद बाँस्कोटाको दोस्ती गज्जबको छ आज । साउदको क्याफे  नजिकै छ, कालीप्रसादको डेरा पनि । फुर्सद हुनेबित्तिकै क्याफेमा बसेर जीवन र जगत्का बात मार्छन् उनीहरू । 

बाँस्कोटा र साउद मिलेर लेखेको गीत, बाँस्कोटाको संगीत र हेमन्त रानाको स्वरमा सजिएको ‘सुन साइँली साइँली, परदेशबाट म आउँला... चालीस कटेसी रमाउँला’ लाखौँको ओठमा झुन्डिएको छ ।  

गाउँले ठेट शब्द, भावुक गायन, सुहाउँदिलो संगीतको तालमा पस्किएको सामाजिक कथा भएकाले सुन साइँली लोकप्रिय बन्यो । यो गीतको म्युजिक भिडियोमा मेनुका प्रधान र गौरव पहारीको अभिनयले पनि मन छुन्छ ।

सुन साइँली लेखनको कथा रोचक छ । अमेरिकाबाट फर्केपछि एक साँझ कालीप्रसाद खाजा खान साउदको क्याफेमा पसे । विदेशमा बसेका युवाको मनोविज्ञान बुझेर आएका कालीप्रसादको मनमा एउटा गीत बनाउने हुटहुटी चलेको रहेछ, उनले हिमालसँग छलफल गरे । अनि दुवै कालीप्रसादको डेरामा पुगे ।

हिमालले गाउँबेँसीका टिपिकल शब्द ढिकी, जाँतो, कुटो, कोदालो, बरियो, नाम्लो आदि टिपोट गरे । दुवै भाइ बसेर गुनगुनाउन थाले । ‘१५ मिनेटमै गीत तयार पा¥यौंँ,’ एक मध्याह्न उनकै क्याफेमा हिमालले सम्झिए, ‘हेर्दाहेर्दै राम्रो गीत बन्यो ।’

गायक हेमन्त रानासँग उनको चिनजान थिएन । त्यही गीत रेकर्डका क्रममा चिनजान भयो । दोस्ती जम्यो । यसरी ०७३ को जाडो महिनामा लेखिएको गीत त्यही वर्षको फागुनमा रेकर्ड भयो । सुन साइँलीले यति धेरै प्रसिद्धि कमाउला भनेर उनले कल्पना गरेकै थिएनन् ।

यसरी साथीको संगतले अनायासै गीतकार बने उनी । गीत हिट भएसँगै उनको मन तुलबुलिएको छ । हरपल मनले गीतका गेडा खोजिरहन्छ । उनले लेखेको डेउडा गीत ‘सुपारी चाम्रो, हाँसेकै राम्रो’ कालीप्रसाद र गायिका झुमा लिम्बुको स्वरमा रेकर्ड हुने तयारीमा छ । संगीत कम्पोज भइसक्यो, कालीप्रसादको घाँटीमा इन्फेक्सन भएकाले केही समयपछि रेकर्ड हुनेछ ।

त्यस्तै अर्को गीत ‘घाँस काटौँ डाली छिमली, मन उडेर भयो सिमली’ विराटनगरका संगीतकर्मी सुशान्त गौतमको स्वरमा यही साता रेकर्ड हुँदै छ । त्यसबाहेक राजु सिंहले पनि उनका केही गीत मागेका रहेछन् ।

‘मेरो पेसा रेस्टुरेन्ट व्यवसाय हो,’ सांगीतिक यात्रालाई कसरी अघि बढाउनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘संगीतमा भिज्दै जान्छु, जहाँसम्म पुगिन्छ, त्यहाँसम्म पुग्छु । तर, संगीतलाई व्यवसाय बनाउँदिनँ ।’

खासमा उनको नाम हर्क साउद हो । माओवादी द्वन्द्वकालमा उनले आफ्नो नाम हिमाल राखेका । डेउडा गीतमा त सुदूर तथा मध्यपश्चिमेली पारंगतै हुन्छन् । सुदूरपश्चिम, डोटी जिल्लाको घाँगल गाउँ (बडिकेदार गाउँपालिका)मा जन्मे÷हुर्केका हिमाल सानैदेखि सांगीतिक कर्ममा अघि सर्थे । विद्यालयका नाचगान र नाटकमा पुरस्कृत भइरहन्थे । 

क्याम्पस पढ्न १६ वर्षअघि काठमाडौं झरेपछि निकै संघर्ष गर्नुप¥यो उनले । बिहान कलेज पढ्थे । साँझपख कमलादीको पान्डा चिनियाँ रेस्टुरेन्ट र महाराजगन्जको चुफाङमा भान्छे बन्थे । राति डेरामा फर्केर सुत्दा १२ बजिहाल्थ्यो । दुःखै दुःखका भ¥याङ चढ्दै उनले समाजशास्त्रमा एमए गरे ।

केही रेडियो नाटकमा अभिनय गर्न पनि भ्याएका छन् । दुई वर्षअघि रिलिज भएको ‘द विनर’ फिल्ममा उनी हिरोको साथी बनेका थिए । न त्यो फिल्म चल्यो, न त उनको अभिनय करिअर नै उकालो चढ्यो । साहित्य सिर्जनाको मूलबाटोमा हिँड्न अर्का डोट्याली स्रष्टा हेमन्त विवशबाट उनले राम्रो साथ पाएका छन् ।

जिन्दगीको यात्रामा दश वर्षअघि साथी दुर्गा रानासँगको साझेदारीमा उनले आराधना क्याफे खोलेका हुन् । त्यहाँ १० जना रोजगार छन् । श्रीमती वृन्दा र छोरा सागरसँगै उनी अचेल काठमाडौंको वनस्थलीमा बस्छन् । 

रोटरी क्लब पशुपतिको सचिवका रूपमा सामाजिक काम पनि गर्छन् । आमा शोभादेवी र बुवा झंकरीको प्रेरणाले सामाजिक क्रियाकलापमा सहभागी हुँदै आएको उनी सुनाउँछन् । सुन्दर सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरु चिनाउन उनी आफ्नो क्याफेका भित्ताभरित उतैका सुन्दर तस्बीरहरु सजाउने धुनमा छन् ।

माओवादी द्वन्द्वकालमा धेरै संस्कृति मासियो । सांस्कृतिक परम्परामा विचलन आयो । मेला महोत्सवमा अंकुश लाग्यो । अचेल डेउडा गायनमा विचलन आएको छ । अब डेउडा प्रवद्र्धनमा समर्पित हुन चाहन्छन् उनी ।

‘कतिसम्म भने पूर्वका लोकगीत चोरेर डेउडा भनेर गाउनेहरू पनि छन्,’ उनले दुखेसो पोखे, ‘हामीले मौलिक गीत गाउनुपर्छ । त्यसमै रस छ ।’

३८ वर्षे हिमालको अनुभवले भन्छ, ‘सिर्जनात्मक साथीको संगतले सिर्जनात्मक बनाउँछ । त्यसैले असल साथीहरू रोज्नुपर्छ ।’

प्रकाशित: १७ भाद्र २०७४ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App