७ वैशाख २०८१ शुक्रबार
अन्य

दुई नम्बर

सबै नेताको ध्यान यतिबेला दुई नम्बर प्रदेशमा गएर अडेको छ । ठूला नेता पनि दुई नम्बर प्रदेश नै ताकिरहेका छन्, साना नेता पनि दुई नम्बर प्रदेश नै ताकिरहेका छन् । उनीहरूले ताकिरहेको देख्दा त यस्तो लाग्छ, मानौँ यो प्रदेश नम्बर दुई होइन, बरु देश नम्बर दुई हो ।

त्यसो त हाम्रा नेताको ध्यान एक नम्बर र तीन नम्बर भन्दा पनि दुई नम्बरमै बढी जाने गरेको देखिन्छ । किनकि दुई नम्बर नै उहाँहरूको सही नम्बर हो । उहाँहरूलाई मनपर्ने नम्बर पनि दुई नै हो भने प्यारो नम्बर पनि दुई नै । त्यति मात्र होइन, उहाँहरूको सोच, विचार र चिन्तन पनि दुई नम्बरी नै छ । उहाँहरूले गर्ने कामसम्म पनि दुई नम्बरी नै हो । अर्थात् एक नम्बरीभन्दा पनि दुई नम्बरी काम गर्न उहाँहरू अधिक रुचाउनुहुन्छ । उहाँहरूको सम्पर्क पनि धेरैजसो दुई नम्बरी मानिससँगै हुने गर्छ ।

सायद दिमागमा पूरै दुई नम्बर मात्रै भरिएकाले होला, अहिले चुनावमा पनि दुई नम्बरतिरै उहाँहरू बढी सक्रिय हुनुहुन्छ । योभन्दा अघि १ नम्बरदेखि ७ नम्बरसम्मै चुनाव भइसक्यो । तर उहाँहरूको ध्यान त्यसमा त्यति गएको थिएन, जति कि अहिले दुई नम्बरमा गइरहेको छ । उहाँहरूको यो दुई नम्बर प्रेमलाई पनि मान्नैपर्ने हुन्छ ।

अब सबै नेता र सबै पार्टीको ध्यान यतिविघ्न किन दुई नम्बरमा गयो त ? यसमा भने सबैको आफ्नै तर्क छ । नेपाली कांग्रेसको तर्क छ– स्थानीय तहको चुनावमा अहिलेसम्म हामी दुई नम्बरमा छौँ । त्यहाँबाट उक्लेर एक नम्बरमा जान हामी दुई नम्बर प्रदेशलाई प्रयोग गर्दैछौँ । नेकपा (एमाले) को तर्क छ– हेर्नुस्, हाम्रो त पार्टी नै दुई नम्बरी हो । संसद्मा हाम्रो स्थान दोस्रोमा छ । पहिलोमा कांग्रेस, दोस्रोमा हामी । अब हाम्रो पार्टी नै दुई नम्बरी हो भने दुई नम्बर प्रदेशमा हाम्रो ध्यान जानु स्वाभाविकै भयो, होइन र ?

त्यस्तै, माओवादी केन्द्रको दाबी छ– पहिले हाम्रो पार्टी एक नम्बरमा थियो । अहिले तीन नम्बरमा छ । अब हामी दुई नम्बरी पार्टी बन्न चाहन्छौँ । त्यसैले दुई नम्बर प्रदेशमा हाम्रो ध्यान केन्द्रित भएको हो । कोही कोही त हामीलाई अहिले नै दुई नम्बरी पार्टी बनिसक्यो पनि भन्छन् । तर त्यो ‘कोही कोही’ को कुरा नपत्याउनुस् । साँच्चै दुई नम्बरी बन्ने प्रयास त अब हामी गर्दैछौँ ।

जेहोस्, अब यसरी नै भए पनि सबै नेता दुई नम्बर प्रदेशको चुनावमा होमिएका छन् । दुई नम्बर प्रदेशको चुनाव भएर नै होला, नेताहरू जम्मै दुई नम्बरी कुरा नै गरिरहेका छन् । एक नम्बरी कुरा कोही गरिरहेका छैनन् । चुनाव, त्यसमा पनि दुई नम्बर प्रदेश । एक नम्बरी कुरा आउने त सम्भावनै छैन । कोही भनिरहेका छन्, अब जनकपुर पनि महानगर बन्नेछ । हामी बनाइदिन्छौँ । अर्को भन्दै छन्, जनकपुर मात्र होइन, चन्द्रनिगाहपुर पनि महानगर बन्दै छ । हामी बनाउँछौँ । आखिर घोषणा गर्ने न हो, बनाउने काम त बन्दै जाला । लहानलाई पूरा स्मार्ट सिटी बनाउँछौँ । वीरगन्ज महानगर घोषणा त भई नै सक्यो । अब त्यहाँ धुलोधुवाँ उडाएर, ट्राफिक जाम गराएर, पानीको हाहाकार पारेर, घरबहाल कर बढाएर पूरा महानगरको स्वरूप दिनेछौँ । पूरा प्रदेशमा ट्राम चलाउने छौँ । जहाँ जहाँ खानेपानीको समस्या छ, त्यहाँ पनि मेलम्ची ल्याइदिनेछौँ ।

हिजोअस्तिसम्म काठमाडौंमा भेटिने नेता अहिले जनकपुर, वीरगन्ज, सर्लाही, राजविराजतिर भेटिन थालेका छन् । अहिले त दुई नम्बर प्रदेश घुम्दा काठमाडौंमै घुमिरहेको हो कि जस्तो लाग्न थालेको छ । अस्ति पनि जनकपुरको जानकी माई मन्दिरछेउमै एकजना नेता भेटिए । काठमाडौंमा बरोबर भेटिरहने नेता हुन् उनी । अचानक जनकपुरमा भेटिए । काठमाडौंमा भेट्दा अक्सर उहाँको हातमा पत्रिकाको चाङ हुने गथ्र्यो । जनकपुरमा भेट्दा चाहिँ माछा मार्ने जाल बोकेर हिँडिरहनुभएको थियो । जनकपुर त उसै पनि माछाका लागि प्रख्यात छ । तालतलैयाको भण्डारैभन्दा पनि हुन्छ । नेताज्यूको हातमा माछा मार्ने जाल देखेर सोचेँ, नेताजी पनि जनकपुरमा माछा मार्ने व्यवसाय पो गर्न थाले छन् कि क्या हो ! मैले सीधा त्यतै औँलो देखाउँदै सोधेँ, ‘यो के हो नेताज्यू ?’

उहाँले तत्काल उत्तर दिनुभयो, ‘जाल ।’

‘के जाल ? माछा समाउने जाल ?’ मैले पुनः सोधेँ ।

‘होइन ।’ उहाँले भन्नुभयो ।

‘अनि ?’ मैले सोधेँ, ‘के समाउने त ?’

‘मान्छे !’ नेताजीले उत्तर दिनुभयो ।

‘मान्छे ?’ म आश्चर्य चकित भएँ, ‘मान्छे समाउने जाल किन नि ?’

नेताजीले भन्नुभयो, ‘चुनाव आएको देख्नुभएन ? भोट त बटुल्नप¥यो नि ।  त्यही भएर जाल बोकेर हिँडेको ।’

उहाँले बोक्नुभएको जाल त जालैजस्तो देखिन्छ । तर अरु नेताले बोकेका जाल भने जालजस्तो छैन । सबै नेताजीको जाल एकै खालको पनि देखिँदैन । कुनै गम्छाजस्तो देखिन्छ । कुनै वेस्टकोटजस्तो देखिन्छ । कुनै धोतीजस्तो देखिन्छ त कुनै कुर्ताजस्तो देखिन्छ । बजारमा जाल पनि विभिन्न आकार प्रकारको आएको रहेछ । यो चुनावमा मात्रै प्रयोग हुने जाल हो । दुई नम्बर प्रदेशका माछाहरू... क्षमा गर्नुहोला, मान्छेहरू सतर्क रहनुहोला । अहिले दुई नम्बर प्रदेशमा माछा समाउने तरिका पनि दुई नम्बरी नै आइसकेको छ ।

प्रकाशित: १७ भाद्र २०७४ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App