७ वैशाख २०८१ शुक्रबार
अन्य

चाडपर्वमा कसरी खाने ?

अब चाडबाडको मौसम सुरु भएको छ । भदौ लाग्नेबित्तिकै हामी नेपालीलाई विविध किसिमका चाडपर्वले छपक्क छोप्छ । विविध जातजाति र तिनका चाडपर्वलाई हेर्ने हो भने वर्षभरि नै कुनै न कुनै पर्व पर्छन् । नेपालीको क्रय शक्ति बढ्दै जाँदा पर्वैपिच्छे भोजमा सामेल हुने, भोजका लागि डाक्ने चलन पहिलेभन्दा बढ्दै गएको छ । यस्तोमा हामी टन्न खाने गर्छौं तर खानपिन गर्न नजान्दा हामीले हाम्रै स्वास्थ्यलाई असर पारिरहेका हुन्छौँ । के हामीले चाडपर्वमा उचित तरिकाले खाइरहेका छौं त ?

१. नानीशोभा शाक्य : पोषणविद् टिचिङ अस्पताल महाराजगंज

नेपाली समाजमा चाडपर्वमा बन्ने परिकार विविध छन् । चाडपर्वका नाममा बन्ने यस्ता परिकार जति स्वादिला छन्, मिलाएर खान नजान्दा उत्तिकै हानिकारक पनि छन् । पछिल्लो समय भोजको निम्तो दिनेहरुमा परिकारको प्रतिस्पर्धा चल्न थालेको छ । सन्तुलित भोजनभन्दा पनि सकेसम्म धेरै परिकार बनाएर पाहुनालाई स्वागत गर्ने मानसिकताले पर्वहरु स्वास्थ्यका दृष्टिकोणले हानिकारक बन्दै गएका छन् ।

परिकार धेरै हुनेबित्तिकै जानी–नजानी धेरै खाइने र शरीरलाई आवश्यकताभन्दा बढी क्यालोरी जम्मा हुन जान्छ । भोजमा मोज गर्नेहरुको बढी क्यालोरी जम्मा हुँदा मोटोपन बढ्न जान्छ । त्यसमा पनि मधुमेह तथा उच्च रक्तचापका बिरामी छन् भने त उतिखेरै सुगर–पे्रसर बढ्ने जोखिम हुन्छ । तत्कालै पेट दुख्ने तथा अपच हुने अर्को समस्या हो । दीर्घकालीन रुपमा भने मोटोपना र तौल बढ्ने अनि त्यसले हृदयघातको जोखिम बढाउँछ । मानिसमा भोजमा खाँदैमा के हुन्छ भन्ने मानसिकता छ । त्यो गलत हो । एक÷दुई दिन गर्दै वर्षभरि थपिएको क्यालोरीले एक वर्षमा पाँच किलो तौल बढाउँछ ।  

तसर्थ चाडपर्व मनाउँदा भोजका आयोजकले सकेसम्म कम तेल भएका, कम परिकार बनाउने र खानेले पनि कम परिकार खाने गर्नुपर्छ । बिर्सन नहुने कुरा त भोजन सन्तुलित हुनु पर्छ । बोलाउनेले सकेसम्म कम तेल राखेर बनाइएका परिकार समावेश गर्नुपर्छ । पछिल्लो समयमा त झन् परिकार नै कम गर्नुपर्ने आवश्यकता बढेको छ नै खानेले पनि कम खाएर भविष्यका लागि आफ्नो स्वास्थ्य जोगाउनु पर्छ । नेपाली पर्वमा बन्ने परम्परागत परिकारहरु आफैँमा सबैथोक मिलाएर बनेका छन् । सकेसम्म भोजका खानाहरुमा सलाद, दही, फलफूल अनिवार्य राख्दा पाचन प्रक्रियालाई सहज बनाउँछ ।

२.राजेश्वरी पाण्डे : वीर अस्पताल, पोषणविद्

पर्व मनाउनु, भोजमा सामेल हुनु सामाजिक तथा मानसिक विकासका लागि राम्रो हो । चाडपर्वले भावनात्मक योगदान पनि दिन्छ । चाडपर्वका बेला हुन सक्ने भड्किला भोजनबाट भने बच्न सक्नु पर्छ । चाडबाडका परिकार आफैँमा लाभदायक पनि छन् । अचेलका खाद्यान्न भने पहिलेको जस्तो ताजा र शुद्ध छैनन् । अहिले खाद्यान्न उत्पादन गर्ने र बनाउने तौरतरिका गलत छन् । चाडपर्व पनि भड्किलो बन्दै गएका छन् । चाडपर्वका खानेकुराहरु अधिकांशतः भुटेका र तारेका हुन्छन् । यसरी खाना बनाउनु र खानु दुवै राम्रो अभ्यास हैन ।

यस्ता बेलामा बनेका परिकारलाई स्वस्थ, स्वादिलो र पोषिलो बनाउने कुरामा ध्यान दिनुपर्छ । तर अचेल मिठो भोलिपल्ट असर गर्ने खालका खान्की प्रचलनमा छन् । पुलाउ, रोटी, स्न्याकजस्ता परिकारहरु नुनिलो र बढी चिल्ला हुन्छन् । यस्ता खान्कीले स्वास्थ्यमा नराम्रो असर पार्छ । बजारमा पाइने खानेकुरामा पोषणतत्वको मात्रा न्यून छ । किटनाशक औषधि तथा रासायनिक मल राखेर बनेका यस्ता खाद्यान्नमा न्यून पोषणतत्व हुन्छन् । यस्ता पदार्थलाई पखाल्दा, काट्दा पनि विशेष ध्यान दिनुपर्छ । कतिपय खानेकुरा जथभावी मसला राख्नाले पोषणतत्व घटेको हुन्छ ।

हाम्रा पुर्खाले यी चाडबाडमा बढी पोषिलो खाना खान्थे । पहिलेका खाद्यवस्तु पनि सुरक्षित थिए । अहिलेका परिकार खाँदा मिठो भए पनि दीर्घकालमा असर पार्ने किसिमका छन् । परिकार बनाउँदैखेरी नै पोषकतत्वहरुमा ध्यान दिइयो भने पोषणयुक्त परिकार बन्छन् । बच्चा, बृद्धा र रोगी सबैलाई मिल्ने गरी सरल किसिमका खान्की बनाउनु पर्छ । यसका लागि कम चिल्लो, कम नुनिलो, कम तारेको या भुटेको, कम मसला भएको परिकार बनाउनु पर्छ ।

आजका मानिसहरुको शारीरिक श्रम गर्ने तर खाना बढी खाने अनि व्यायाम भने नगर्ने जीवनशैली छ । यो शरीरका लागि उल्टो प्रक्रिया हो । यस्तो प्रक्रिया निरन्तर भएमा खाने कुरा पचाउन कठिन हुन्छ । शारीरिक काम गर्नेहरुको हकमा भने यस्ता खानेकुरा पचाउन केही सहज हुन्छ । तसर्थ पर्वका नाममा बन्ने परिकार पनि  सन्तुलित हुनुपर्छ । उमारेका गेडागुडी, उमारेको मेथी परिकारहरूमा समावेश हुनुपर्छ । ताजा फलफूल, मही तथा दही समावेश हुनुपर्छ । कोकाकोलाजस्ता पेय पदार्थ पिउनु पर्दा सकेसम्म नराख्ने र पिउनै परेमा कम पिउने गर्नुपर्छ । यसको सट्टा ताजा जुस राख्नु राम्रो हुन्छ । रातो मासु तथा जनावरका मासुभन्दा चराचुरुङ्गीको मासु र माछा उचित हुन्छ । खाना बनाउने तरिका पनि साधारण हुनु पर्छ ।


पर्वका नाममा मासुको परिकार पनि थपिँदै गएका छन् । बंग्ुर, बँदेल, खसी, राँगाजस्ता जनावरको मासु र तिनको पनि सेकुवा, मिटबल, चिल्ली आदि थरिथरिका खानेकुरा शरीरका लागि हानिकारक हुन्छन् ।

पर्वका बेला खाना खाँदा खाने परिकारको चरण मिलाउनु पर्छ । पहिलो चरणमा सुपजन्य खानेकुराहरु मिक्स भेज सुप, अन्य सुप पिउने । त्यसपछि मात्र खाना खाने । सबै कुरा मिलाएको चिज ठिक्क खाने । बीचबीचमा ग्रिन सलाद खाने र त्यसपछि जुस खाने । अन्तिममा केही गुलियो परिकार खाने । गुलियोमा कार्बोहाइडे«ट हुन्छ । यसले आन्द्रालाई जलन हुन दिँदैन र खाना पचाउनमा सहज बनाउँछ ।

एन्टिअक्सिडेन्ट भएका खाने कुराहरु खानुपर्छ । ताजा सागपात, मोही, फलफूल, हरियो सागपात, उमारेका गेडागुडीहरुमा एन्टिअक्सिडेन्ट हुन्छन् । भिटामिनहरु डी, ई, सी र खनिज तत्वहरु खानुपर्छ । उमारेका गेडागुडी, फलफूल, चोकर सहितको अनाजबाट बनेका खानेकुरा खाँदा राम्रो हुन्छ । भोजभतेरमा चिल्लो बढी भएका, बढी ग्लिसिरिन इन्डेक्स भएका (परिस्कृत खानेकुराहरु मैदाजस्ता खाद्यान्न) हानिकारक हुन्छन् । गहुँको आँटा, मकैका च्याँख्ला हाम्रो शरीरका लागि फाइदाकारक हुन्छन् ।

हाम्रा कतिपय चाडपर्वका परिकार स्वास्थ्यका लागि हानिकारक छन् । सेलरोटी र खसीको मासु हप्तौं खाइरहने चाडपर्व पनि छन् । पहिला त्यस्ता खानेकुराहरु घरैमा बनाएर खाने चलन थियो । पछिल्लो समय छिटो र सजिलोका लागि बजारमा भर पर्ने चलन छ । बजारमा बनेका मिठाइका परिकार बढी खाइरहने चलन छ । यी स्वास्थ्यका लागि उत्तिकै हानिकारक छन् ।

३. प्रानीति सिंह, नर्भिक अस्पताल

मनाउन जानेमा चाडपर्व मनाउनु राम्रो हो तर नजानेमा यसले हाम्रो स्वास्थ्यलाई प्रतिकूल असर पुग्छ । पहिलेका मान्छेले चाडपर्व उचित तरिकाले मनाउँथे । अचेलका चाडपर्व मनाउने शैली फेरिएको छ । हाम्रो दैनिकी र जीवनशैली पनि फेरिएको छ । खान्छौं मात्र, बस्छौं मात्र, कुनै व्यायाम गर्दैनौं, खाएअनुसार हिँडडुल गर्दैनौं ।
मान्छेहरु व्यस्त हुन थाले । कामको पछि लागेर र अल्छीपनाका कारण व्यायाम गर्दैनन् । खान्की मात्र बढ्ने र व्यायाम घट्ने जीवनशैलीले अहिले तीस÷पैंतिस वर्षकै उमेरमा मधुमेह र उच्च रक्तचाप देखिन थालेको छ । कलेजोको समस्या, तौल बढी हुने समस्या देखिन थालेको छ । कतिपय चालिस वर्षमै हृदयघातको शिकार भएका छन् ।  

तीज आइपुग्यो तर एक दिने पर्वमा महिनैभरि भोज हुन थालेको छ । घरमा खाना बोलाउँछौँ, अरुले पनि त्यसै गरी बोलाउँछन् । खान्छौं, रमाइलो गर्छौं तर व्यायाम गर्दैनौं । यसरी निरन्तर खाइएका खानाले दश÷पन्ध्र दिनमै शरीरको तौलमा फरक पर्छ । मोटोपन बढ्छ । पर्वको बहानामा खाइएका खानेकुरा सन्तुलित भएनन् भने पनि स्वास्थ्य असन्तुलित हुन्छ । यस्तो समस्याबाट बच्न भोजमा सहभागी भए पनि सकेसम्म कम खानुपर्छ । खाँदा समय लगाएर आनन्दपूर्वक खानुपर्छ । समय लगाएर, चपाएर खाँदा पाचन प्रक्रिया सहज हुन्छ ।

रमाइलो गरेर थोरै खाने । त्यसलाई मज्जाले चपाउने गर्नुपर्छ । एकै पटक धेरै खानु हुँदैन । समय फरक पारेर पटक–पटक खानु पर्छ । समय फरक पारेर फलफूल खाने । पर्वअनुसार भोजका परिकार फरक हुन्छन् तर अधिकांश भुटेका÷तारेका परिकारहरु बढ्दै गएका छन् । यी भोजहरु आयोजक र पाहुना दुवैले कम गर्ने र कम खाने । भोजमा चिल्ला खानेकुराभन्दा सकेसम्म दाल, रोटी, तरकारी र सलादमा केन्द्रित हुने । बनेका सबै परिकारको स्वाद लिने क्रममा धेरै क्यालोरी शरीरमा पुग्छ । स्न्याक्स छ भने पनि एक/दुई टुक्रा खाने । सकेसम्म बनेका परिकारमध्ये तीन÷चार थरी मात्र खानुपर्छ ।

मानिसको शरीरमा जीवनशैलीअनुसार क्यालोरीले फरक पार्छ । शारीरिक काम गर्नेहरु छन् भने बढी क्यालोरी चाहिन्छ । शारीरिक काम कम गर्नेले थोरै क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । खाना हेरेर खानाको मात्रा खाने, खाना खाँदा एकै पटक धेरै नखाने गर्नुपर्छ ।

सुरुमै दिइने स्न्याक्स कम खाने, समय–समयमा पानी पिउने, रक्सी कम खानेजस्ता कुरामा ध्यान दिनुपर्छ । स्न्याक्स खाइसकेपछि दालभात, मासु, तरकारी मिलाएर खाने । खसी, बँदेल, बफजस्ता परिकारलाई सकेसम्म नखाने । फ«ाइ नगरी पकाएको माछा खानु उचित हुन्छ । अलिकति दही र फ्रुट खानका लागि पनि पेटमा ठाउँ राख्ने । मिठाइका परिकारभन्दा दही र फलफूलमा जोड दिने गर्नुपर्छ ।

४.उषा शाह, ग्रान्डी अस्पताल, पोषणविद्

तीजमा हामी भोकै बस्छौँ र अघिल्लो दिन मज्जाले खान्छौँ । यस्तो गर्नु स्वास्थ्यका लागि उचित होइन । दरको नाममा महिनाभरि नै भोजमा सहभागी हुने र मनग्गे खाने चलन पनि खराब हो । यसरी नै अन्य पर्वमा पनि यस्ता पक्षमा ध्यान दिनुपर्छ । मुख्यगरी पर्वसँगै आइलाग्ने मिठा भनिएका परिकारहरुसँग हामीले जोगिनुपर्छ । तीजमा निराहार बस्ने चलनले शरीरमा जलविनियोजन भई बेहोस हुने समस्या आउँछ । खाली पेट ग्यास्टिकका लागि सहयोगी बनिदिन्छ ।

पर्वकै बेलामा रातो मासुका विविध परिकार बन्छन् । हामी केही नसोची खाइहाल्छौँ । खसी, राँगाका मासुहरु रातो मासुअन्तर्गत पर्छन् । पहिलेका मान्छेहरु रातो मासु वर्षमा एक पटक मज्जाले दसैंका बेलामा मात्र खान्थे । अहिले सजिलै पाइने भएकाले दैनिक खाने गरिन्छ । पशुजन्य मासु आफैँमा हानिकारक हुन्छन् नै त्यसमा पनि आन्द्रा, भुँडी, फोक्सो समेतका परिकार बनाउने चलन छ । यी परिकार स्वास्थ्यका हिसाबले राम्रो मानिन्न । यस्ता मासु भोजका बेलामा एक÷दुई टुक्रा खानु बेग्लै हो तर अघाउञ्जेल नै खानु हुँदैन । परम्परागत रुपमा ह्याकुलाको मासु खाने चलन छ । यो भागमा बढी बोसो हुन्छ । यस्ता मासु पनि खानु हुँदैन ।

परम्परागत रुपमा चाडपर्व मनाउँदा खिर, पुरी, तरकारी पाक्थे । अचेल कतिपय पर्वमा बजारमा तयार पारिएका परिकार ल्याएर खाने चलन पनि बढ्दै गएको छ । मिठाइ, केकजस्ता पदार्थ र पत्रु खाना (जंक फुड) को चलन पनि बढ्दै जान थालेको छ । यी खानेकुरामा तेल बढी हुने र बासी हुने भएकाले हाम्रालागि हानिकारक छन् ।

चाडपर्वमा कसरी खाने ?
– रातो मासु र बढी चिल्लो नभएका परिकार बनाउने
– सकेसम्म आयोजकले पनि कम परिकार बनाउने
–    परिकारमा खसी, बँदेल, राँगाजस्ता जनावरको मासु समावेश नगर्ने
– परिकारमा बजारका कृत्रिम पेय पदार्थको सट्टा ताजा जुस समावेश गर्ने
– भुटेका र तारेका स्न्याक्स तथा मासुका परिकार कम बनाउने  
– सुप खाइसकेपछि स्न्याक हुँदै तेल कम राखेर बनेका नेपाली खाना खाने
– मासु, स्नयाक्सजस्ता खानेकुरा कम खाने
– खानामा सलाद र फलफूल अनिवार्य रुपमा समावेश गर्ने
– बिस्तारै चपाएर खाने
– नेपाली खाना खाइसकेपछि अन्तिममा दही, मही या फलफूलको परिकार खाने
– बढी तेल भएका डेजर्टको सट्टा दही र फलफूल मिसाएर बनेका डेजर्ट खाने
– यो नभएमा अत्यन्त कम मिठाइ खाने
– पटक–पटक गरी दैनिक तीन लिटर पानी पिउने
– खानामा फाइबर, खनिज, कम्प्लेक्स कार्बोहाइडे«ट भएका परिकार समावेश गर्ने
–    कम तेल, कम मसला प्रयोग गरिएका ताजा खाना खाने
– रातो मासुको सट्टा चिकेन र माछाजन्य परिकार बनाउने
–    आफ्नो जीवनशैलीअनुसार खानाको मात्रा खाने । जस्तो शारीरिक काम गर्नेले केही धेरै खाने र नगर्नेले कम खाने
– पर्व तथा भोजमा भएका धेरै परिकार सकेसम्म कम खाने । खाइहाल्नु परेमा थोरै मात्र खाने  
–    दैनिक व्यायाम गर्ने तथा हिँंडडुलमा जोड दिने

प्रकाशित: १७ भाद्र २०७४ ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App