७ वैशाख २०८१ शुक्रबार
नागरिक खोज

कहीं न कहीं कैफियत छ : आपूर्तिमन्त्री

काठमाडौं- आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा कहीं न कहीं कैफियत भएको बताएका छन् ।  विगतमा साना कुरामा पनि संसद्मा हंगामा भएको उल्लेख गर्दै उनले यति ठूलो विषयमा त्यति चर्चा नहुनु र जिम्मेवार व्याक्तिहरू पनि नबोल्दा समस्या रहेको बताए ।
शनिबार रिपोटर्स क्लबमा मन्त्री मण्डलले भने, ‘यस विषयमा जहाँबाट जुन किसिमले कुरा उठ्नुपथ्र्याे त्यसरी उठेको छैन । जनताको चासो भएको विषयमा केही ठाउँबाट मात्रै कुरा उठेको छ ।’
आयल निगमका निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिदमा अनियमितता गरेको भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै विषय भएकाले प्रमाणित भए कुनै दबाबमा नपरी कारबाही गर्ने उनले स्पष्ट पारे । ‘शिवकुमार मण्डल प्रेसरसँग डराउँदैन,’ उनले भने, ‘दोषी देखिए कानुनी कारबाही गर्न तयार छ ।’ संसद्को सार्वजनिक लेखा समितिले निगमको जग्गा खरिदमा केही कैफियत भएको ठहर गर्दै अख्तियारलाई पत्र पठाए भए पनि त्यसको बोधार्थ मन्त्रालयमा आएको जानकारी आफूलाई नभएको मण्डलले बताए ।
‘निर्देशक खड्का दोषी ठहरिएमा कुनै हालतमा पनि कारबाही हुन्छ,’ मण्डलले भने, ‘दोषीलाई कारबाही गर्न कुनै कम्प्रोमाइज हुँदैन ।’
समाचार प्रकाशन गरेको आधारमा नागरिक दैनिकलाई ८० करोड क्षतिपूर्ति माग्दै निर्देशक खड्काले मुद्दा दायर गरेको सम्बन्धमा  सोधिएको प्रश्नको जबाफमा मन्त्री मण्डलले यसबारे आफू बोल्न नमिल्ने बताए ।
आफू मन्त्री हुनु पहिल्यै जग्गा खरिद भएको बताउँदै उनले मन्त्रालयसँग जोडिएपछि यसबारे आफ्नो ध्यान केन्द्रित गरेको बताए । मन्त्रालयले पनि यस विषयमा छानबिन गरिरहेको उनले बताए । ‘प्रधानमन्त्री कार्यालयबाट आएका केही पत्रका आधारमा हामीले पनि छानबिन थालेका छौं’, उनले भने, ‘आफ्नै प्रकारले यसबारे मन्त्रालय पनि अघि बढेको छ । दोषी देखिएमा कारबाही गर्न हामी तयार छौं ।’
इन्धन भण्डारणका लागि निगमले भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा किन्दा अर्बभन्दा बढी घोटाला भएको थियो । घोटालामा संलग्नलाई कारबाही गर्न संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिए पनि कारबाही प्रक्रिया थालिएको छैन ।

प्रकाशित: १८ भाद्र २०७४ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App