६ वैशाख २०८१ बिहीबार
खेल

जर्मनीको सम्भावना बलियो

पेरिस- माट्स हुमेल्स र उनको आक्रामक जर्मनी शुक्रबार चेक गणतन्त्रलाई पराजित गर्दै रुस विश्वकपमा छनोटको नजिक पुग्दा ह्यारी केनको दुई गोलमा इङल्यान्डले माल्टामाथि ४–० को जित निकालेको छ ।

आरबी लिपजिगका स्ट्राइकर टिमो वेर्नेरले गोल गरेपछि प्रागमा चौथो मिनेटमै जर्मनीले अग्रता लिएको थियो । तर भ्लादिमिर डारियाले दोस्रो हाफमा सनसनीपूर्ण गोल गरेर खेल बराबरीमा ल्याए । समय सकिन १२ मिनेट बाँकी रहँदा डारियाले बराबरी गोल गरेपछि घरेलु टोली अंक बाढ्ने आशामा थियो । तर समय सकिन दुई मिनेट बाँकी रहँदा हुमेल्सले निर्णायक गोल गर्दै जोचिम लोउको टोलीलाई विश्वकपको युरोपेली छनोटअन्गर्तत समुह ‘सी’ का सात खेलमा सातौं जित दिलाए ।

हुमेल्सले टोनी क्रुसको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए । यो नतिजापछि अर्को वर्ष रुसमा हुने विश्वकपको टिकट काट्न जर्मनीलाई बाँकी तीन खेलबाट चार अंक बटुले पर्याप्त हुनेछ ।

अर्को सोमबार घरेलु मैदानमा आफूले नर्वेलाई पराजित गर्नुका साथै नर्दन आयरल्यान्डले चेक गणतन्त्रलाई हराउन नसके जर्मनी दुई खेल बाँकी रहँदै रुसका लागि छानिनेछ ।

‘आज हामीले जसरी खेल्यौं, त्यसमा खुसी हुने ठाउँ छैन । जितमा खुसी मनाउनु बेग्लै कुरा हो । तर प्रदर्शनमा सुधार गर्नुपर्ने धेरै ठाउँ देखियो,’ जर्मनीका प्रशिक्षक लोउले असन्तुष्टी पोखे ।

जोस म्यागेनिसको दुई तथा स्टेभन डेभिसको एक गोलमा सान मारिनोमाथि ३–० को जित हासिल गर्दै नर्दन आयरल्यान्डले समुह उपविजेता भएर प्लेअफलाई छानिने सम्भावना कायम राखेको छ । यसैगरी समुहको अर्को खेलमा शुक्रबार नर्वेले अजरबैजानलाई २–० को नतिजामा हरायो ।

शुक्रबारका नतिजापछि समुहमा सात खेल सकिँदा जर्मनी २१ अंकका साथ शीर्ष स्थानमा छ भने नर्दन आयरल्यान्ड १६ अंकका साथ दोस्रो स्थानमा छ । यसैगरी चेक गणतन्त्र ९ अंकका साथ तेस्रो स्थानमा रहँदा नर्वे र अजरबैजानले समान ७ अंक जोडेका छन् । सान मारिनोको खातामा कुनै अंक छैन ।

समुह ‘एफ’ मा टोटेनह्यामका स्ट्राइकर केनले दुई तथा रायन बट्र्रान्ड र ड्यानी वेल्बेकले एक÷एक गोल गरेपछि इङल्यान्ड माल्टालाई निरिह पार्दै १७ अंकका साथ शीर्ष स्थानमा कायम रहन सफल भयो । एडम नेमेचको गोलमा स्लोभेनियालाई १–० ले हराएको स्लोभाकिया १५ अंकका साथ दोस्रो स्थानमा कायम रहँदा स्टुआर्ट आर्मस्ट्रङ, एन्ड्रयु रोबर्टसन र जेम्स म्याकआर्थरको गोलमा लिथुवानियामाथि ३–० को विजयी नतिजा निकालेको स्कटल्यान्ड ११ अंकका साथ तेस्रो स्थानमा छ । स्लोभेनिया समान ११ अंक भए पनि चौथो स्थानमा छ ।

उता कोपनहेगनमा डेनमार्कले समुह ‘इ’ को शीर्ष टोली पोल्यान्डमाथि ४–० को प्रभावशाली जित दर्ता गराउँदै विश्वकपलाई छानिने सम्भावना जीवित राखेको छ । थोमस डेलानी, आन्द्रियास कोर्नेलियस, निकोलाई योगेन्सन र क्रिस्टियन इरिक्सनको गोलमा पाएको जितपछि १३ अंकका साथ तेस्रो स्थानमा उक्लिएको डेनमार्कले शीर्ष टोली पोल्यान्डसँगको दुरी ३ अंकमा झारेको छ ।

दोस्रो स्थानको मोन्टेनेग्रोको खातामा पनि १३ अंक छ । मोन्टेनेग्रोले शुक्रबार कजाकस्तानलाई ३–० कै नतिजामा निराशा पारेको थियो । समुहको अर्को खेलमा रोमानियाले अर्मेनियामाथि १–० को जित हासिल गरेको छ । रोमानियाको खातामा ९ अंक पुगेको छ भने अर्मेनिया ६ अंकका साथ पाँचौं स्थानमा छ ।

प्रकाशित: १८ भाद्र २०७४ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App