८ वैशाख २०८१ शनिबार
अन्य

इतिहास र मौलिकतामा हाम्रा सहर फरक छन् : राधिका हमाल

तपाईंलाई मनपरेको सहर कुन हो ?
मलाई लन्डनको ‘फोक्सोन’ मनप¥यो । त्यहाँ घुम्दा एकदमै आनन्द महसुस भयो । यो सफा छ । हेर्दै मनमोहक देखिन्छ । यहाँका हरेक कुरा नयाँ लाग्छन् । यसबाहेक जापानको नागोया, फ्रान्सको पेरिस पनि मलाई मनपर्ने सहर हुन् । यी सहरलाई समुद्रले जोडेका छन्, त्यसैले पनि यी सहर मनपरेका सहर हुन् ।

नेपालभित्र मनपरेको सहर ?
मलाई पोखरा मनपर्छ । प्राकृतिक सुन्दरता, फेवाताल, प्याराग्लाइडिङ, गुफाहरु पोखराका मुख्य आकर्षण हुन् । यहाँ घुमेर आनन्द लिन प्रशस्त ठाउँ छन् । यी चिजले धेरैलाई पोखरामा तानेको छ ।

आफ्नो सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
मुख्य कुरा सहर सफा हुनुप¥यो । यसबाहेक शान्त, हरियाली प्रदूषणमुक्त, सेवा–सुविधायुक्त, फराकिला पार्क र सडकलगायत सुविधा भयो भने हामीले सहरमा बसेको महसुस गर्न सक्छौँ । यसबाहेक सहरमा हुने सबै सुविधा होऊन् । सरकारले पनि नागरिकका सुविधा र समस्याप्रति ध्यान राखोस् ।
हाम्रा सहरमा यी सुविधा छन् त ?
केही सुविधा पाइएला तर हामीले अहिले सहरमा बसेकै कारण पाउनुपर्ने मुख्य सुविधा पाएका छौँ जस्तो लाग्दैन । फराकिला सडक नहुँदा यातायातमा सास्ती व्यहोरिरहेकै छौँ । खानेपानी, बिजुली पनि पर्याप्त छैन, यसमा हामीले धेरै दुःख पाएका छौँ । सरकारले भएका योजनालाई मूर्त रूप नदिएका कारण सहरमा धेरै समस्या देखिएका छन् । बनाउने हो भने हाम्रा सहर पनि नमुना बन्छन् । तर, नीति निर्माण तहमा हुनेले काम नगरेकै कारण सहरमा समस्या थुप्रिएका हुन् ।  

सरकारले कसरी काम गर्दा सहर व्यवस्थित होला ?
सहरवासीका मुख्य समस्यालाई सरकारमा रहनेले ख्याल गर्न जरुरी छ । निजी स्वार्थका निम्ति काम गर्ने राजनीतिक प्रवृत्तिका कारण नेपाल बिगे्रको हो । यहाँको सडक व्यवस्थित पार्ने, ट्राफिक व्यवस्थापन गर्ने, फोहोर समयमै उठाउने गरी नियम बनाउने, सरकारी सेवा–सुविधालाई चुस्त बनाउने, देशभित्र भएका सम्भावनाको अध्ययन गर्नेलगायत काममा ध्यान दिने हो भने सहर मात्रै नभएर देश नै राम्रो बन्न सक्छ ।
उपत्यका कस्तो लाग्छ ?
पहिला त मलाई उपत्यका एमदमै राम्रो लाग्थ्यो तर अहिले खासै राम्रो लाग्दैन । जता हे¥यो भद्रगोल र फोहोर मात्रै देखिन्छ । धराप सडक, पार्किङ असुविधा, असरल्ल बिजुलीका तार, ट्राफिक जामलगायत कारण सहरवासीले धेरै सास्ती खेप्नुपरेको छ ।
यसलाई सुधार्न के गर्नुपर्ला ?
सरकार र नागरिकले हातेमालो गर्नुपर्छ । सरकारको काम गराई शैली चुस्तदुरुस्त हुनुपर्छ । भएका योजनालाई सक्दो चाँडो पूर्णता दिने हो भने सहरको समस्या छिटो समाधान हुन्थ्यो जस्तो लाग्छ ।

उपत्यकाको मनपर्ने पक्ष के हो ?
यहाँको मनपर्ने पक्ष–हावापानी, सरकारी सेवा–सुविधा र मठ–मन्दिर हो ।
यहाँको मननपर्ने पक्ष के हो ?
मननपर्ने पक्ष यहाँ धेरै छन् । यहाँ सडकमा यात्रा गर्दा पनि डराइडराई हिँड्नुपर्ने बाध्यता छ । धुँवाधुलो, ट्राफिक जाम, खाल्डाखुल्डी सडक, अव्यवस्थित पार्किङ, लगायत मुख्य समस्या यहाँ छन् । सहरमा बस्ने धेरैले यस्तै विषयमा सास्ती खेप्नुपरेको छ ।
नेपालका सहर र विदेशका सहरमा कस्तो भिन्नता पाउनुभयो ?
मैले ३० भन्दा बढी देशका सहर घुमेकी छु । मैले घुमेका सहर सफा थिए । सहरलाई राम्रो बनाउन सबैभन्दा पहिले सरसफाईलाई ध्यान दिन जरुरी छ । विदेशका सहर पनि मानिसले नै बनाएका हुन् । हामीले पनि चाहने हो भने नेपाललाई त्यस्तै बनाउन सक्छौँ तर सबैमा तत्परता चाहिन्छ । मैले धेरै सहर घुमेको छैन । घुमेका केही सहरसँग नेपाललाई दाँज्दा इतिहास र मौलिकतामा हाम्रा सहर अरुभन्दा फरक छन् । हावापानी, सम्पदा, डाँडाकाँडा, प्राकृतिक सौन्दर्यता अरु देशमा भन्दा फरक छ ।
काठमाडौंको मनपर्ने स्वाद के हो ?
मलाई ढिँडो मनपर्छ । काठमाडौंमै भए पनि बेलाबेला ढिँडो खान म रेस्टुरेन्ट जान्छु ।
उपत्यकामा घुम्न कता जानुहुन्छ ?
कहिलेकाहीँ फुर्सद हुँदा चन्द्रागिरि, नगरकोट र दरबार क्षेत्रमा घुम्न जान्छु । खुला र हावा खाने ठाउँ भएन भने सहर सहरजस्तै हुँदैन । हाम्रा सहरमा पार्क नभएका होइनन् तर थोरै छन् । पार्क र खुला ठाउँ राख्न सकिने जग्गा मासेर धमाधम भवन बनाउने काम भइरहेको छ । सरकारले यसलाई रोक्न जरुरी छ ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १९ भाद्र २०७४ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App