७ वैशाख २०८१ शुक्रबार
खेल

राखेपबाट खेलाडी सम्मानित

काठमाडौं- राष्ट्रिय खेलकुद परिषदको ५४औं वार्षिकोत्सवको अवसरमा युवा तथा खेलकुद मन्त्रालयले विभिन्न ७ खेलका ८ खेलाडीलाई खेलकुद राष्ट्रिय प्रतिभा सम्मान– २०७४ बाट सम्मान गरेको छ ।

सोमबार सम्मानित हुनेमा एथलेटिक्सका हरिकुमार रिमाल, फुटबलका किरण चेम्जोङ, पारा तेक्वान्दोकी सीता भण्डारी, जुडोकी ममिता श्रेष्ठ प्रधान, आर्चरीका जितबहादुर मोक्तान, ब्याडमिन्टनकी नङ्सल तामाङ तथा भलिबलका इमबहादुर राना मगर र प्रतिभा माली छन् । भलिबलका दुवै खेलाडीले समान ५०–५० हजार तथा बाँकीले जनही १ लाखसहित सम्मान पत्र पाए । यसैगरी प्रशिक्षकतर्फ ब्याडमिन्टनका किरण थापा र करातेका दीपक श्रेष्ठले जनही १ लाख रुपैयाँसहित सम्मान पत्र पाए ।

उत्कृष्ट खेल संघका रुपमा सम्मान गरिएको नेपाल भारोत्तोलन संघलाई पनि १ लाख दिइयो । अखिल नेपाल लनटेनिस संघ र नेपाल ब्याडमिन्टन संघलाई सम्मानपत्रबाट सम्मान गरियो ।

आर्थिक वर्ष २०७३÷७४ सालमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई पनि नगदसहित सम्मान गरियो । उक्त आर्थिक वर्षमा पदक प्राप्त गर्न सफल ३ सय १६ खेलाडीलाई नगदसहित सम्मान गरिएको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले जनाएका छन् । सो अवधिमा नेपाली खेलाडीले विभिन्न खेलको व्यक्तिगत स्पर्धामा १०३ स्वर्ण, ८४ रजत र ७५ कांस्य तथा टिम स्पर्धामा २८ रजत र २४ कांस्य पदक राष्ट्रलाई दिलाएका थिए । व्यक्तिगत र टिममा स्वर्ण जित्नेलाई १५ हजार, रजतलाई ८ हजार र कांस्यलाई ४ हजारका दरले नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

सबैलाई राखेपको ५४ वार्षिकोत्सवका अवसरमा सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालले सम्मान गरेका थिए ।

यसैगरी नेपाली खेलकुदको विकासमा योगदान गरेको भन्दै नागरिक दैनिकका अजय फुयाल, बिबिसी नेपाली सेवाका निरञ्जन राजवंशी, नेपाल टेलिभिजनका राजु सिलवाल, न्युज २४ का मुकुन्द दाहाल, कान्तिपुर दैनिका हिमेशरत्न वज्राचार्य र नेपाल लाइभ अनलाइनका नवीन अर्याल सम्मानित भए । उनीहरूलाई जनही १० हजार र सम्मानपत्र प्रदान गरियो ।

 

 

प्रकाशित: २० भाद्र २०७४ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App