८ वैशाख २०८१ शनिबार
खेल

ताजकिस्तानविरुद्ध जितको लक्ष्य

काठमाडौं- नेपालले एएफसी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत मंगलबार ताजकिस्तानसँग घरेलु सातदोबाटोको मैदानमा खेल्ने भएको छ । एसिया कपलाई छानिने आशा जीवित राख्न नेपालले घरेलु मैदानमा ताजकिस्तानविरुद्ध जित हासिल गर्नुपर्नेछ ।

नेपालले दुई खेलबाट १ अंक मात्र जोडेको छ भने ताजकिस्तानले खेलेका दुवै खेलमा हारको सामना गरेको छ । नेपाल रहेको समूह ‘एफ’ को शीर्ष स्थानमा रहेको फिलिपिन्सले ६ अंक जोडेको छ भने यमनको खातामा ४ अंक छ । नेपाल यसअघिका खेलमा फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । नेपालले घरेलु मैदानमा यमनविरुद्ध गोलरहित बराबरी खेलेको थियो । समूहका शीर्ष दुई टोलीले अर्को वर्ष युएइमा हुने प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।

नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले ताजकिस्तानविरुद्धको नतिजाले छनोटको निर्णय गर्ने बताए । ‘हामी जित हासिल गर्दै अंक जोडन चाहन्छौं,’ प्रशिक्षक कोजीले भने, ‘मैले ताजकिस्तानको खेल हेरेको छु । उनीहरूको खेलको बारेमा समीक्षा पनि गरेको छु । तर उनीहरूले त्यस्तै खेल्नेछन् भन्ने छैन । उनीहरूको खेल हेरेर हामीले योजना परिवर्तन गर्ने हो ।’

पछिल्लो समय नेपाली टोलीले जापानमा गरेको प्रशिक्षणले केही सकारात्मक परिवर्तन देखिएको कोजीले बताए । जापान भ्रमणले नेपाली फुटबलको लक्ष्य हासिल गर्न सहयोग गर्ने उनको भनाइ थियो ।

पछिल्लो डेढ वषैदेखि कोजीको नेतृत्वमा नेपाली फुटबल टोलीले प्रशिक्षण गरिरहेको छ । समयअनुसार टिममा सुधार भएको प्रशिक्षक कोजीले सोमबार दाबी गरे । ‘राष्ट्रिय टोलीमा हामीसँग अहिले २३ खेलाडी छन् । सबै जना आफूले गरेको कडा मिहिनेतले टिममा परेका हुन्,’ कोजीले भने, ‘म कुनै लक्षित खेलाडीलाई धेरै तनाव दिन चाहन्नँ । मेरो टिममा भएका सबै जना पहिलो रोजाइमा खेल्न सक्छन् ।’

प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक कोजीले नयाँ खेलाडी जर्ज प्रिन्स कार्कीले टिममा स्थान बनाएको बताउँदै उनीबाट राम्रो प्रदर्शन अपेक्षा गरेको बताए ।

नेपाली प्रशिक्षक कोजीजस्तै ताजकिस्तानका प्रशिक्षक फुजाएलोभ खाकिमीले फाइनल चरण खेल्नका लागि मंगलबारको खेल जित्नुपर्ने दबाब रहेको बताए । खाकिमीले प्रतियोगितामा छनोट हुनका लागि अंक हासिल गर्नै पर्ने बताए ।

नेपाल र ताजकिस्तानले सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा खेल्नेछन् । ताजकिस्तान प्रशिक्षक खाकिमीले कृतिम मैदानमा खेल्नका लागि टोलीलाई केही समस्या नहुने बताए । उनले भने, ‘नेपालले यमनविरुद्ध खेलेको हामीले हेरेका छांै । उनीहरूले कडा चुनौती दिएका थिए । त्यो खेलमा अंक हासिल गर्नका लागि दुवै टिमले कडा मिहिनेत गरेका छन् । हामीले घरेलु मैदानबाहिर खेलिरहेको छौं । हामीमा धेरै दबाब छैन । हामी सक्दो राम्रो खेल्दै अंक बटुलेर फर्कने कोसिस गर्छौं ।’

प्रकाशित: २० भाद्र २०७४ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App