८ वैशाख २०८१ शनिबार
कला

'अमेरिकन ड्रिम'को दुविधा

- जिन्दगीमा जहिले पनि दुविधा पार्ने गरी दुई बाटा आउँछन्, छनोट गर्ने जिम्मा हाम्रै हो ।

- दुविधाले छानिएको बाटोमा मान्छे सफल त होला तर कहिल्यै रमाउन सक्तैन ।

- प्रेमपीडा पाएको मानिसका अघिल्तिर सबै प्राप्ति औचित्यहीन हुन्छन् ।

यी भनाइ सफलताको पाठ सिकाउने गुरुका होइनन् । यी भनाइ हुन्, काठमाडौंमा मञ्चन भइरहेको अमेरिकी नाटक ‘गोल्डेन ब्वाई’का ।

भर्खरै २१ वर्ष टेकेको बोनापार्टे (अमृत दाहाल) को सपना छ, आफ्नो बाबु मि. बोनापार्टे (राजकुमार पुडासैनी) ले चाहेजस्तै एउटा भ्वाइलिनवादक बन्ने  । इटालीबाट अमेरिका पुगेको संघर्षशील आप्रवासी परिवारमा अभावबीच हुर्किएको जोलाई वाद्यवादक बनूँ कि ऐशको जिन्दगी रोजूँ ‘अमेरिकन ड्रिम’ले दुविधा गराइरहन्छ । अन्ततः चाँडै धनी बन्ने लोभले जो बक्सिङतर्फ आकर्षित हुन्छ ।

बक्सिङमा जोले गरेको प्रगतिका कारण ऊ ‘गोल्डेन ब्वाई’ बन्न पुग्छ तर ऊ आफ्नै म्यानेजर अलेजान्द्रो मेरोला (टम मुडी)की गर्लफ्रेन्ड लोर्ना मुन (नम्रता श्रेष्ठ)प्रति आकर्षित हुन्छ । लोर्ना पनि जोसँग रत्तिन्छे तर टमले जीवनभर पुग्ने गुन लगाएका कारण जोसँग प्रेम गर्न भने सक्तिन । ऊ सधंै टमसँग बिहे गर्ने कि जोलाई छान्ने भन्ने दुविधामा छे । टम पनि लोर्नालाई अपनाउने कि पत्नीसँगै फर्कने द्वन्द्वमा छ ।

जसै टम र लोर्नाको विवाह पक्का हुन्छ, पराजित प्रेमको पीडाबाट जो विरक्तिन्छ । बक्सिङ रिङमा त्यसको रिस पोख्दा उसले एउटा खेलाडीकै हत्या गर्न पुग्छ । हत्याको ‘पाप’ले निराशाको गर्तमा जाकिएको जो र त्यसबाट निकाल्न लोर्नाले गर्ने मिहिनेतले साकार रूप लेला त ?

यस प्रश्नको जवाफका लागि नाटक नै हेर्नुपर्छ तर यस नाटकका केही आधारभूत समस्या छन् । पहिलो त, मुख्य अभिनेता जो (अमृत दाहाल) एंग्री यङ म्यान भएकाले होला, जुन बेला पनि ‘लाउड’ लाग्छन् । उनको अभिनय ‘फ्ल्याट’ देखिन्छ । साथै, दर्शकले जो र लोर्नाको प्रेम बढी महसुस गर्न चाहन्छन् तर नाटकले टम र जोलाई मात्र ‘स्पेस’ दिएको महसुस गर्छन् । सबभन्दा ठूलो कुरा सन् १९२९ मा अमेरिकी सेयर बजार ‘क्र्यास’ भएसँगै सुरु भएको दशक लामो ‘ग्रेट डिप्रेसन’ र सन् १९३४ ताका सुरु भएको आर्थिक मन्दीको तोडमा  नाटककार क्लिफोर्ड ओडेट्सलाई नाटकको कथा  फुरेको थियो । नाटकमा त्यो ‘डिप्रेसन’, त्यो आर्थिक मन्दी र कंगाली पूरै गायब छ ।

त्यस बाहेक नाटकमा अभिनयका लागि एलेजान्द्रोले सबैको मन जित्छन्, अनि सौन्दर्यका लागि नम्रताले । जोका बुवाका रूपमा राजकुमार पुडासैनीको अभिनय मनमोहक लाग्छ । बुवाको चिन्ता र आकांक्षालाई संवादबाट भन्दा पनि अनुहारको हाउभाउबाट व्यक्त गर्न उनी सफल भएका छन् । नाटकको दोस्रो हाफपछि जोका गडफादर तथा  प्रबद्र्धकका रुपमा उदाएका ग्याङस्टर एडी फुसेली दमदार रूपमा उदाएका छन् । उनले जसै जोलाई चुम्बन गर्छन्, दर्शक रन्थनिन्छन् । जो र लोर्नाको चुम्बन पनि नाटकको आकर्षक पक्ष बन्न पुगेको छ ।

क्लिफोर्ड ओडेट्सद्वारा सन् १९३७ मा लिखित तथा मञ्चित यो नाटक त्यतिबेला सुपरहिट भएको थियो । यतिबेला त्रिपुरेश्वरस्थित कर्मा बार एन्ड लाउन्जमा मञ्चन भइरहेको नाटक आउँदो सेप्टेम्बर १० सम्म मञ्चन हुनेछ । यस नाटकलाई नम्रता श्रेष्ठको कम्पनी हाइली हाइ र वन वल्र्ड थिएटरले निर्माण गरेको हो । यसलाई डेबोरा मेरोलाले निर्देशन गरेकी छन् ।

प्रकाशित: २० भाद्र २०७४ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App