७ वैशाख २०८१ शुक्रबार
खेल

नाइजेरिया छनोट नजिक

जोहानेसबर्ग– क्यामरुनसँग सोमबार १–१ को बराबरी नतिजा निकालेपछि नाइजेरिया अर्को वर्ष रूसमा हुने विश्वकप छनोटको थप नजिक पुगेको छ । 

मोसेस सिमोनले गोल गरेपछि नाइजेरियाले क्यामरुनको स्टेड अहमदोउ अहिड्जो मैदानमा ३०औं मिनेटमा अग्रता लिएको थियो । तर क्यामरुनका लागि वैकल्पिक खेलाडी भिन्सेनट अबोउबाकरले समय सकिन १५ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । 

छनोट चरणमा अहिलेसम्म अपराजित रहन सफल नाइजेरिया चार खेलमा १० अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा छ । अक्टोबर ७ मा घरेलु मैदानमा जाम्बियाविरुद्ध हुने खेल जिते टोली छैटौं पटक विश्वकपलाई छानिनेछ । 

घरेलु मैदानमा दुई अंक गुमाएपछि सात पटक विश्वकपमा छनोट भएको क्यामरुनको रूस यात्रा गर्ने सम्भावना समाप्त भयो । समूहबाट शीर्ष टोली मात्र रूसलाई छानिने प्रावधान रहँदा क्यामरुन दुई खेल बाँकी रहेको अवस्थामा नाइजेरियाभन्दा सात अंकले पछि परिसकेको छ ।

चार दिनअघि उयोमा नाइजेरियाले अफ्रिकी च्याम्पियन क्यामरुनमाथि ४–० को जित हासिल गरेको थियो । जसका कारण क्यामरुनी प्रशिक्षक हुगो ब्रोसले सोमबारको खेलमा चार परिवर्तन गरेका थिए । स्ट्राइकर अबोउबाकर र विंगर क्रिस्टियन बासोगोग पनि सोमबार पहिलो रोजाइ गुमाउने चार खेलाडीमा सामेल थिए । 

विश्वकपको अफ्रिकी छनोटअन्तर्गत सोमबारै समूह ‘ए’ मा भएको खेलमा लिबियाले गुइनामाथि १–० को विजयी नतिजा निकालेको छ । घरेलु मैदानमा १० जनामा सीमित भएर मैदान छोडेको लिबियाका लागि माम्दोउ अल होउनीले ३६औं मिनेटमा गरेको एउटै गोल जित हासिल गर्न पर्याप्त भयो । मोहम्मद अल गाडीले ६३औं मिनेटमा दोस्रो पहेंलो कार्ड सामना गरेपछि लिबिया १० जनामा सीमित भएको थियो । 

घरेलु मैदानमा दुई अंक गुमाएपछि सात पटक विश्वकपमा छनोट भएको क्यामरुनको रूस यात्रा गर्ने सम्भावना समाप्त ।

प्रकाशित: २१ भाद्र २०७४ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App