६ वैशाख २०८१ बिहीबार
खेल

अस्वस्थतामाथि पनि जित

न्युयोर्क– हुवाँ मार्टिन डेल पोर्टोले सोमबार अस्वस्थतासँगै पाँच सेटसम्म संघर्ष गर्दै छैटौं वरीयताप्राप्त अस्ट्रियाली प्रतिद्वन्द्वी डोमिनिक थिइमलाई पनि हराएर युएस ओपनको क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् । 

थिइममाथि १–६, २–६, ६–१, ७–६(७÷१), ६–४ को विजय हासिल गरेका २४औं वरीयताप्राप्त अर्जेन्टिनी खेलाडी डेल पोर्टोले क्वार्टरफाइनलमा पाँच पटकका च्याम्पियन रोजर फेडेररको सामना गर्नेछन् । 

डेल पोर्टोले यसअघि २००९ को फाइनलमा फेडेररमाथि विजय हासिल गर्दै ठूलो चर्चा कमाएका थिए । लगातार नाडीको शल्यक्रिया गरिरहनुपरेका डेल पोर्टोले करियरमा यसअघि जितेको त्यही एक ग्रान्ड स्लाम उपाधि हो । 

‘दुई/तीन दिनदेखि म बिरामी भएको थिएँ । त्यसैले आज खेल्न सक्छु भन्नेमा पनि मलाई विश्वास थिएन । तर कोर्टमा पुग्दा सबै दर्शकहरूले मलाई साथ दिएको देखेपछि मेरो उत्साह अचानक बढ्यो,’ डेल पोर्टोले भने, ‘थिइम अहिले उच्च फर्ममा छन् । तर समर्थकको साथका कारण मैले अस्वस्थता बिर्सिएर राम्रो टेनिस खेल्न सकेँ । यो जित म तिनै समर्थकलाई समर्पित गर्न चाहन्छु ।’

तेस्रो वरीयताका स्विस स्टार फेडेररले फिलिप कोहल्सच्रेइबरलाई ६–४, ६–२, ७–५ को सोझो सेटमा सहजै पराजित गरेर क्वार्टरफाइनलमा स्थान पक्का गरेका थिए । जर्मन भेट्रान खेलाडी कोहल्सच्रेइबरविरुद्धका सबै १२ खेलमा फेडेररले जित हासिल गरेका छन् ।

यसै गरी शीर्ष वरीयताका राफेल नाडालले युएस ओपनमा सोमबार ५०औं जित हासिल गर्दै रूसी किशोर आन्द्रेई रुबलेभविरुद्धको क्वार्टरफाइनल भिडन्त पक्का गरेका छन् । चौथो चरणमा विश्व नम्बर एक स्पेनिस स्टार नाडालले युक्रेनका एलेक्जेन्डर डोल्गोपोलोभमाथि ६–२, ६–४, ६–१ को सहज नतिजा निकाले भने रुबलेभले विश्व वरीयताको नवौं स्थानमा रहेका बेल्जियन प्रतिद्वन्द्वी डेविड गोफिनलाई ७–५, ७–६(७÷५), ६–३ को सोझो सेटमा पराजित गरेका थिए । 
रुबलेभले क्वार्टरफाइनल आफ्ना लागि करियरकै अहिलेसम्मको कठिन परीक्षा हुने बताएका छन् । ‘नाडाल विश्व टेनिसका एक महान् खेलाडी हुन् । एउटा प्रतिद्वन्द्वीका रूपमा उनीसँग खेल्न कोही पनि चाहँदैन । तर एउटा समर्थकका रूपमा उनीसँग खेल्न पाउने अवसर सधैँ विशेष हुने गर्छ,’ रुबलेभले भने, ‘त्यसैले क्वार्टरफाइनल मेरा लागि एउटा ठूलो चुनौती र त्यतिकै विशेष अवसर पनि हुनेछ ।’

महिलातर्फ भएका चौथो चरणको खेलमा जित हासिल गर्दै विश्व नम्बर एक क्यारोलिना प्लिसकोभाले अमेरिकाकी कोको भान्डेवेघेविरुद्धको क्वार्टरफाइनल भेट पक्का गरिन् । चेक गणतन्त्रकी  प्लिस्कोभाले अमेरिकाकी जेनिफर ब्राडीको चुनौतीलाई ६–१, ६–० को नतिजामा सहजै पन्छाएर अन्तिम आठमा स्थान सुरक्षित गरेकी थिइन् भने भान्डेवेघेले चेक गणतन्त्रकी लुसी साफारोभालाई ६–४, ७–६(७÷२) को नतिजामा निराश पारेकी थिइन् । प्लिस्कोभा युएस ओपनमा गत वर्षकी उपविजेता हुन् । 

यसै गरी विश्व वरीयताको ४ सय १८औं स्थानमा रहेकी इस्टोनियाली खेलाडी काइया कानेपीले पनि क्वार्टरफाइनलमा स्थान पक्का गरिन् । क्वार्टरफाइनल पुग्ने उनी दोस्रो छनोट खेलाडी हुन् । चौथो चरणमा रूसकी डार्या कासाट्किनामाथि ६–४, ६–४ को सोझो सेटमा विजय हासिल गरेकी उनले क्वार्टरफाइनलमा अमेरिकाकी माडिसन किजको सामना गर्नेछिन् । १५औं वरीयताकी किजले विश्व नम्बर चार युक्रेनकी इलिना स्यिटोलिनालाई ७–६(७÷२),१–६, ६–४ को नतिजामा हराएर अन्तिम आठमा स्थान पक्का गरेकी थिइन् । 

‘दुई÷तीन दिनदेखि म बिरामी भएको थिएँ । त्यसैले आज खेल्न सक्छु भन्नेमा पनि मलाई विश्वास थिएन । तर कोर्टमा पुग्दा सबै दर्शकहरूले मलाई साथ दिएको देखेपछि मेरो उत्साह अचानक बढ्यो ।’

प्रकाशित: २१ भाद्र २०७४ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App