७ वैशाख २०८१ शुक्रबार
अर्थ

भन्सारले जाँचेको गाडीमै बढी सामान

सोमबार राति प्रहरीले बरामद गरेको सामान । तस्बिर : नागरिक

विराटनगर – चाडपर्वको मौका छोपेर पूर्वी नाकाबाट ‘सेटिङ’ मै सामान तस्करी हुन थालेको छ । भन्सार कार्यालय, विराटनगरले जाँचपास गरिसकेको मालबाहक गाडीमा कम मूल्याकंन गरिएकोे र वस्तुको परिमाण बढी भेटिएपछि मोरङ प्रहरीले दुईवटा गाडी सोमबार राति नियन्त्रणमा लिएको छ। 

बाढीले बिहारको मीरगन्ज पुल र रेल्वे ट्र्याकमा क्षति पुर्‍याएपछि तीन सातादेखि जोगवनी नाकाबाट सामान आयात–निर्यात ठप्प छ । करिब एक सय किलोमिटर रि–रूट गरेर भीमनगर–भन्टाबारी नाकाबाट सामान आयात–निर्यात भइरहेको छ । सडक र रेलमार्ग अवरुद्ध भएपछि आयात–निर्यातमा देखिएको यस्तो अप्ठेरो स्थिति पनि कारोबारीका लागि फाइदा लुट्ने अवसर बनेको छ।

रि–रूट गरिएको नाकाबाट सामान ल्याउँदा बाटोबाटै नउम्किऊन् भनेर प्रहरी स्कर्टिङमा जाँचपासका लागि मालबाहक गाडी सोझै विराटनगर भन्सार कार्यालयको यार्डमा ल्याइन्छ । एक–एक गरेर सबै सामान जाँचिसकेपछि मात्रै भन्सारले यार्डबाट बाहिरिन गाडीलाई अनुमति दिन्छ । सोमबार भन्सार कार्यालय, विराटनगरले जाँचपास गरेको दुईवटा मालबाहक गाडी इलाका प्रहरी कार्यालय, रानीले नियन्त्रणमा लिएको छ। 

‘गाडीमा रहेको सामानको कम मूल्याकंन गरिएको देखिन्छ,’ इप्रका रानीका प्रमुख इन्सपेक्टर सन्तोष निरौलाले नागरिकसँग भने, ‘प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी परिमाणमा सामान फेला परेको छ।’ 

विराटनगर–१५ स्थित रामजानकी मन्दिरनजिकैबाट को१ख ४०१० नम्बरको ट्रक र भारतीय नम्बर बिआर ३८इ४६४० नम्बरको ट्याक्टर सामानसहित मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक र ट्याक्टरमा लोड भएका सामानमा अन्दाजी ६० लाख मूल्य बराबरको कस्मेटिक, सिलाइका सामान र जुत्ता रहेको प्रहरीले जनाएको छ । भन्सारले जाँचपास गरेर छाडिसकेको मालबाहक गाडीमा भन्सार तिरेको भन्दा बढी सामान रहेको ‘सूचना’का आधारमा प्रहरीले नियन्त्रणमा लिएको गाडी थप अनुसन्धानका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा मंगलबार बुझाएको छ। 

विराटनगर भन्सार कार्यालयका प्रवक्ता दिलिप केसीले आफू बिदामा भएकाले भन्सारबाट जाँचपास भएको गाडीमा बढी परिमाणमा सामान भेटिएको बारेमा जानकारी नभएको बताए । नाकाबन्दीका बेला पनि जाँचपासै नभएको गाडी भन्सारको यार्डबाट बाहिर पठाउँदा प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला विराटनगर भन्सारका दुईजना जाँचकी कारबाहीमा परेका थिए । 

ट्रकका चालक मोरङ, ग्रामथान गाउँपालिका–७ बस्ने ३० वर्षीय शशि चौधरी र ट्याक्टरका चालक भारत जोगवनी ग्रामपञ्चायत–१० बस्ने २४ वर्षीय सुनिल शर्मालाई प्रहरीले सामानसहित नियन्त्रणमा लिएको छ । प्रहरीले भने यति धेरै परिणाममा एकैपटक पक्राउ परेको सामान कुन करोबारीको हो भन्ने खुलाउन चाहेनन् । 

मोरङ प्रहरीले आइतबार र सोमबार मात्रै १८ लाखभन्दा बढीको भन्सार छलेको सामान बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय, रंगेलीको टोलीले आइतबार सुनवर्षी नगरपालिका–२ स्थित अमरदह–पथरी सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा मे१त ४३०५ नम्बरको पिकअपबाट अन्दाजी १७ लाख बढीको रेडिमेड कपडा बरामद गरेको थियो । 
भारतबाट भन्सार छलेको बस्नेत सप्लायर्स विराटनगरको नाममा नक्कली बिल बनाई लैजाँदै गरेको उक्त कपडामा विभिन्न ब्रान्डका थानका कपडा, सर्टिङ सुर्टिङका कपडा छन् । इलाका प्रहरी कार्यालय रानीले सोमबार एक लाख १८ हजार पाँच सय ९० रुपैयाँ बराबरको सामान बरामद गरी भन्सारमा बुझाएको छ । बरामद सामानमा लत्ताकपडा तथा खाद्यान्न सामग्री रहेको छ ।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख एआइजी पशुपति उपाध्यायलाई स्वागत गर्न कार्यालयमै बोलाएका मोरङ व्यापार संघका पदाधिकारीले चाडपर्वको मौका छोपेर तस्करी मौलाउने गरेकाले त्यसलाई रोक्न आग्रह गरेका थिए । एआइजी उपाध्यायले सीमा नाकामा तस्करी नियन्त्रणका लागि अरु निकाय पनि खटिएकाले सबैसित समन्वय गरेर अगाडि बढ्ने आश्वासन दिएका थिए ।

भारतमा जिएसटी (गुड्स एन्ड सर्भिस ट्याक्स) लागू भएपछि सीमा नाकामा तस्करी बढेको छ । भारतमा खरिद गरिएको सामानको जति मूल्य हुन्छ, त्यत्तिकै बिल बनाउनुपर्ने जिएसटीको बाध्यताका कारण सीमावर्ती क्षेत्रमा अहिले अवैध कारोबारी सल्बलाएका छन् । 

 

प्रकाशित: २१ भाद्र २०७४ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App