४४ करोड सुनका लगानीकर्ता को हो ?

बिहिबार, २२ भदौ २०७४, ०९ : २२ केपी ढुंगाना  | @kpdhungana


काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले बरामद गरेको ८८ किलो सुनको मूल्य बुधबार अन्तर्राष्ट्रिय बजारमा करिब ४४ करोड रुपैयाँ छ । नेपालको भन्सारदर १० ग्रामबराबर ४ हजार २ सय रुपैयाँ हो । यसका आधारमा भन्सार छलेर सुन नेपाल भित्र्याउँदा किलोमा करिब ४ लाख रुपैयाँ फाइदा हुन्छ । ८८ किलो बजारमा फैलाउँदा करिब ४ करोड रुपैयाँ फाइदा निकाल्छन् तस्करले । यही सुन भारत पुग्दा दोब्बर फाइदा हुन्छ ।

प्रहरीले ८८ किलो बरामद गर्दा तस्करीमा लगानी गर्नेको ४४ करोड रुपैयाँ डुबेको छ । मुद्दा प्रक्रिया टुंगिएपछि यो सुन राज्यकोषमा दाखिला हुनेछ । तर, रोचक पक्ष के हो भने प्रहरीले पटकपटक करोडौं मूल्यबराबरको सुन बरामद गर्दै आए पनि सुनका मुख्य लगानीकर्ता कहिल्यै खुल्दैनन् । न त व्यापारी वृत्तमै तस्करीको सुन बरामद हुँदा लगानीकर्ता तस्करीको टाट पल्टेकै चर्चा हुन्छ । आखिर किन ?

सुन तस्करीबारे जानकार स्रोतका अनुसार एकै व्यक्तिले लगानी गर्दा उच्च जोखिम हुने भएकाले तस्करीको सुनमा समूहगत लगानी हुने गरेको छ । जस कारण प्रहरीले ठूलो परिमाणको सुन बरामद गर्दा समेत तस्करीमा लगानी गर्नेले ठूलो आर्थिक क्षति बेहोर्दैनन् ।

नेपालमा भइरहेको सुन तस्करीबारे अध्ययन गरिरहेका स्रोतका अनुसार तस्करीको सुनका लागि न्यूनतम ५ समूहको लगानी हुन्छ । जसले गर्दा सुरक्षा निकायले सुन बरामद गर्दा समेत उनीहरूलाई ठूलो आर्थिक भार बेहोर्न नपरेको हो ।

पहिलो लगानीकर्ता सुन तस्करीको प्रारम्भिक विन्दुमा हुन्छन् । हवाई मार्गबाट तस्करी हुँदा दुबईबाट बढी हुने देखिन्छ । दुबईबाट सुन आउँदा त्यहाँ रहेका समूहको समेत लगानी हुन्छ । दोस्रो समूहले सुन ओसार्न सहयोगी परिचालन गर्छ । यो सुन पठाउने र आउने दुवै देशमा हुन्छन् । तेस्रो समूहले नेपालमा सुन बुझ्ने गर्छ । यी दुवै समूहले समेत सुनमा लगानी गरेका हुन्छन् । 

नेपालमा सुन भण्डारण गर्ने र बजारमा फैलाउने समूहले निश्चित प्रतिशत लगानी नगरी तस्करीको सुन पाउँदैनन् । नेपालबाट भारत पु¥याउँदा तस्करीको सुनमा लगानी गर्नेमा दुई समूह थपिन्छन् । आर्थिक जोखिम कम गर्न नेपालमा भण्डारण हुने तस्करीको सुन भारत लैजाने र भारतमा लिने समूहले समेत निश्चित प्रतिशत रकम लगानी गरेका हुन्छन् ।

खासा हुँदै स्थलमार्गबाट भएका सुन तस्करीबारे प्रहरी अनुसन्धानमा लगानीको पहिलो समूह तिब्बतमा देखिएको थियो । जसले ४० प्रतिशतसम्म लगानी गरेर कन्टेनरमा सुन राखेर पठाउने गरेको देखियो । नेपालमा सुन भित्र्याउने समूहको अधिकतम २० प्रतिशत, नेपालमा भण्डारण गर्नेको २० प्रतिशत र बजारमा तस्करीको सुन फैलाउनेको २० प्रतिशत लगानी हुने गरेको अनुसन्धानमा खुलेको थियो ।

ब्युरोले गत पुसमा बरामद गरेको साढे ३३ किलो तस्करीमा ६ वटा समूह संलग्न रहेको खुलेको थियो । जसमा ४ समूह लगानीकर्ता र २ समूह सहयोगी थिए ।

साढे ३३ किलो सुनको अनुसन्धानमा मुख्य लगानीकर्ता दुबईमा रहेका पाँच नेपाली रहेको खुलेको थियो । ब्युरोको अनुसन्धानमा दुबईमा रहेका हरिशरण खड्का मुख्य लगानीकर्ता रहेको खुलेको थियो ।

दोस्रो सहयोगीमा राजनप्रसाद पन्त, रोशन भुसाल, अर्जुनप्रसाद खरेल र धु्रव रहेको खुलेको थियो । सुन पठाउन सन्तोष काफ्लेको मुख्य भूमिका देखिएको थियो । नेपालमा दिलबहादुर थापाले सुन बुझ्ने गरेका थिए । उनले विमानस्थल र प्रहरीको सेटिंग मिलाउने गरेका थिए ।

रामहरि कार्की, ध्रुव खड्का, सन्देस लोप्चन र प्रकाश खरेलले समूह परिचालनमा सघाउने गरेको खुलेको थियो । यही समूहले नेपाल भित्रिएको सुन मागकर्ता आरके ज्वेलर्सका राजेन्द्र शाक्य, शालीमार ज्वेलर्सका रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल, वैभव लक्ष्मी ज्वेलर्सका प्रमोद श्रेष्ठलगायतलाई सुन दिने गरेका थिए ।

साइराम ज्वेलर्सका भारतीय नागरिक विभूति अमोल बालाचन्द्र तस्करीको सुन भारत पु¥याउन सक्रिय रहेको खुलेको थियो । भोला मगर, संकेत खतिवडा, गोपाल शाही, विष्णु सुवेदी र माधव सुवेदी भरिया रहेको खुलेको थियो । उनीहरू निश्चित रकम लिएर सुन ओसार्न सक्रिय रहेको खुलेको थियो ।

‘८८ किलो सुनका लगानीकर्ता समेत एकै समूह हैन, यसमा तहगत लगानी देखिन्छ,’ अनुसन्धानरत स्रोतले भन्यो,‘ दोस्रो तहसम्मका व्यक्ति खुले पनि पक्राउ नपरी अन्य समूहबारे खुलाउन सम्भव छैन ।’

मुख्य लगानीकर्ता सधैं सुरक्षित

नेपालमा बरामद भएका सुनको अनुसन्धानमा प्रहरी भरियाबाट सुन भण्डारण गर्ने र बजारमा फैलाउने समूहसम्ममात्रै पुगेको छ । पक्राउ पर्ने अधिकांश भरिया तहका हुन्छन् जो थोरै रकमका लागि सुन ओसार्न राजी भएका हुन्छन् । अधिकांश यस्ता सहयोगीलाई विदेश र स्वदेशका मुख्य लगानीकर्ताबारे जानकारी हुन्न ।

उनीहरूका सहायतामा सुन लिन आउने सहयोगीसम्म पक्राउ पर्ने गरेका छन् । सुन लिन आउनेबाट सुन मगाउने र पठाउनेको नाम ओकल्न प्रहरी सफल देखिन्न । जसकारण मुख्य लगानीकर्ता सुरक्षित नै हुन्छन् ।

साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता इन्टरपोलको सहायताले नेपाल ल्याइए पनि खुलेका अधिकांश तस्करीका घटनाका मुख्य लगानीकर्ता सधैं जोगिँदै आएका छन् । चीनमा बसेर नेपालमा सुन पठाउन सक्रिय समूहका कसैको पहिचान अहिलेसम्म प्रहरीले गर्न सकेको छैन । केही भारतीय नागरिकको नाम खुले पनि नेपालमा सुन भित्र्याउने समूहको मुख्य भारतीय लगानीकर्ताको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

वैध सुन कारोबारीको आवरणमा रहेकाहरू नै नेपाली बजारमा सुन फैलाउन सक्रिय देखिन्छन् । त्यसमा अधिकांश लगानीकर्ता देखिए पनि पक्राउ पर्नेको संख्या भने न्यून देखिन्छ । सुरक्षित रूपमा नेपालसम्म सुन भित्र्याएर भण्डारण गर्ने समूहसमेत सुरक्षित नै छन् ।

जानकार स्रोतका अनुसार सुन ओसार्ने व्यक्तिलाई तोकिएको रकम मात्रै दिँदा सुन ओसारेबापत पाउने रकमभन्दा सुराकीको प्रतिशत बढी हुने भएपछि खाकाबाट भित्रिएका अधिकांश सुन प्रहरीले बरामद गरेको थियो ।

यो क्रम बढेपछि मुख्य लगानीकर्ताले सुन भरियालाई निश्चित रकमसँगै सुन भण्डारण हुने स्थलसम्म सुरक्षित पु¥याएबापत निश्चित प्रतिशत थप रकम दिन थालेपछि सुनको सुराकी आउने क्रम रोकिएको एक प्रहरी अधिकारीले बताए ।

‘अधिकांश सुनका सुराकी भरिया तथा नाका र सडकमार्गको सेटिङ मिलाउने नै थिए,’ खासा हुँदै हुने सुन तस्करीबारे अनुसन्धान गरेका एक प्रहरी अधिकारीले भने, ‘ सुन बोकेबापतको रकमभन्दा सुनको सुराकी गर्दा आउने वैध कमिसन बढी आउने हुँदा उनीहरूबाट सूचना आउँथ्यो । कारोबारीले यो चाल पाएर थप कमिसन दिन थालेपछि सूचना आउने क्रम पातलिएको थियो ।’

सुन तस्करी, विदेशी मुद्रा तस्करी र हुन्डी एकै समूहबाट हुने गरेको प्रहरी अनुसन्धानमै खुलेको थियो । २०६९ असोज १९ मा त्रिभुवन विमानस्थलमा एक करोड २४ लाख विदेशी मुद्रा बरामद भएको घटनाको विस्तृत अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले गठन गरेको समितिले मुद्रा तस्करीलाई सुन र हुन्डीसँग जोडेर विस्तृत अनुसन्धानको सुझाव दिएको थियो ।

समितिले नेपाली बजारमा विदेशी मुद्रा तस्करीसँगै सुन र हुन्डीमा संलग्न भएकाको पहिचान गरी उनीहरूको भूमिका र नामावलीसहित प्रधान कार्यालयमा बुझाएको प्रतिवेदन कहिल्यै कार्यान्वयनमा आएन ।

नागरिकसँग सुरक्षित रहेको प्रतिवेदनमा मुरारीलाल गोयल (जमालिया), बालकृष्ण अग्रवाल, पवन अग्रवाल, विमल पोद्दार, सत्यनारायण कुकरा (सोनी), घनश्याम कुकरा, गोपाल कुकरा, राजेश अग्रवाल, विक्की अग्रवाल, घनश्याम अग्रवाल, ग्याम्जो लामा, मोहनकुमार अग्रवाल, सञ्जय पाण्डे र बलराम गुप्ता काठमाडौंमै बसेर तस्करीमा सक्रिय रहेको उल्लेख छ ।

ज्ञानकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कन्याप्रसाद गुरुङ, विनोदकुमार सोनी, राधाकृष्ण कुकरा, कृष्णप्रसाद खड्का, सुमन अग्रवाल पनि सहयोगी देखिएका थिए । प्रभु सर्राफ, उमेश साह, रामबाबु साह, राजु द्वारा र रजनी साह  वीरगन्जमा सक्रिय रहेको प्रतिवेदनमा उल्लेख छ ।

एक साताअगाडि १५ किलो सुन बरामद गरेर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्की सुन तस्करीमा संगठित समूहको संलग्नता देखेर संगठित अपराध ऐनअन्र्तगत अनुसन्धान अगाडि बढाएको बताए ।

उनले सुन तस्करीलाई विदेशी मुद्रा र हुन्डीसँग जोडेर अनुसन्धान भइरहेको जानकारी दिए । ‘सुन तस्करी एकल नभई संगठित अपराध हो,’ कार्कीले बुधबार भने, ‘यसलाई सबै तह र कोणबाट अनुसन्धान गर्नुपर्ने भएकाले अहिले हामी सुक्ष्म अनुसन्धानमा छौं ।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पद्मावती’ विवाद

‘पद्मावती’ विवाद

महंगो सेटमा फिल्म बनाउन माहिर बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’को फष्र्टलुक सार्वजनिक हुनासाथ फिल्मकर्मीदेखि दर्शकसम्मले फष्र्टलुकको तारिफ गरे...

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको...

दसैंका गीतमा पीडा

दसैंका गीतमा पीडा

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो...

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

आगामी कात्तिक २४ गते ‘सकस’, ‘रोमियो’ र ‘मेला’ रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा अर्को फिल्म ‘तान्द्रो’ पनि रिलिज हुने...