८ वैशाख २०८१ शनिबार
खेल

इजिप्टको सम्भावना बलियो

जोहानेसबर्ग- लिभरपुलका स्ट्राइकर मोहम्मद सालाहको गोलमा मंगलबार राति युगान्डामाथि १-० को जित हासिल गर्दै अफ्रिकी महारथी इजिप्टले १९९० पछि पहिलो पटक विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

एलेक्सान्द्रियास्थित बोर्ग अल अरब रंगशालामा उपस्थित ८५ हजार दर्शकसामु समूह ‘इ’ को खेलमा सालाहले छैटौं मिनेटमै गरेको गोल इजिप्टको जितलाई पर्याप्त भयो । अर्को वर्ष रूसमा हुने विश्वकपको छनोट चरणअन्तर्गत युगान्डाले ४ सय ५६ मिनेटमा सामना गरेको यो पहिलो गोल थियो । टोली यसअघि पाँच खेलमा लगातार पोस्ट सुरक्षित गर्न सफल भएको थियो ।

जितपछि टोली ४ खेलमा ९ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । पराजित युगान्डा भने ७ अंकका साथ दोस्रो स्थानमा झरेको छ । इजिप्टले अक्टोबरमा पुछारको कंगोलाई घरेलु मैदानमा निम्त्याउनेछ भने नोभेम्बरमा तेस्रो स्थानको घानासँग खेल्नेछ । आगामी दुई खेलमा विजय हासिल गर्न सके टोलीले रूसको टिकट पक्का गर्नेछ ।

समूहको अर्को खेलमा मंगलबार एट्लेटिको मड्रिडका मिडफिल्डर थोमस पार्टीले ह्याट्रिक गरेपछि घानाले कंगोलाई ५–१ को नतिजामा हराउँदै लगातार चौथो पटक विश्वकपलाई छानिने झीनो आशा कायम राखेको छ । जितपछि टोली ५ अंकका साथ तेस्रो स्थानमा छ ।

समूह ‘सी’ मा शीर्ष टोली आइभोरी कोस्ट घरेलु मैदानमा गाबोनसँग २–१ ले स्तब्ध हुँदा दोस्रो स्थानको मोरक्कोले त्यसको फाइदा उठाउन सकेन । मालीको भ्रमणमा निस्केको मोरक्को गोलरहित बराबरीमा सीमित हुँदा शीर्ष स्थानमा उक्लिने अवसरबाट चुक्यो ।

मंगलबारका नतिजापछि आइभोरी कोस्ट ७ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा मोरक्को ६ अंकका साथ दोस्रो स्थानमा छ भने गाबोन ५ अंक लिएर तेस्रो तथा २ अंकमा सीमित माली पुछारमा छन् ।

विश्वकपका लागि अफ्रिकी छनोटमा मंगलबार दक्षिण अफ्रिका र सेनेगलका लागि पनि सुखद रहेन । दक्षिण अफ्रिका पाँच दिनमा दोस्रो पटक निराश हुने क्रममा घरेलु मैदानमा केप भेर्डेसँग २–१ को नतिजामा पराजित हुँदा बुर्किना फासोको भ्रमणमा निस्केको सेनेगल २–२ को बराबरीमा सीमित भयो । हारपछि दक्षिण अफ्रिका ४ अंकका साथ पुछारमा थन्किँदा ५ अंक जोडेको सेनेगल तेस्रो स्थानमा छ । समान ६ अंक जोडेका बुर्किना फासो र केप भेर्डे शीर्ष दुई स्थानमा छन् । मंगलबारका अनपेक्षित नतिजापछि समूह ‘डी’ बाट विश्वकपलाई स्थान सुरक्षित गर्ने प्रतिस्पर्धा थप रोचक बनेको छ ।

अफ्रिकी छनोटअन्तर्गत मंगलबारै सम्पन्न समूह ‘ए’ को खेलमा डिआर कंगोले ट्युनिसियासँग २–२ को बराबरी खेल्दा जाम्बियाले अल्जेरियामाथि १–० को जित निकाल्यो ।

प्रकाशित: २२ भाद्र २०७४ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App