४ वैशाख २०८१ मंगलबार
राजनीति

फाइल नै गायव भएपछि निर्वाचन प्रक्रिया अवरुद्ध

रौतहट – रौतहटको फतुवा विजयपुर नगरपालिकामा मनोनयन दर्ताको लागि बुझाइएको एकजना उम्मेदवारको फाइल नै गायव भएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । नेकपा माओवादी केन्द्रबाट नगरपालिकाको वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्न फाइल बुझाएका प्रमोद पासवानको फाइल नै गायब भएपछि निर्वाचनको प्रक्रिया अवरुद्ध भई तनावको स्थिति श्रृजना भएको हो।

माओवादी कार्यकर्ताहरुले विजयपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् । मतदाता नामावली प्रकाशन गर्नुपर्ने दिन माओवादीका कार्यकर्ताहरुले निर्वाचन अधिकृतको कार्यालयमा फाइल खोज्न माग गर्दै कामकाज रोकेपछि निर्वाचन प्रक्रिया नै अवरुद्ध भएको हो । निर्वाचन अधिकृत धर्मअवतार कोइरालाले माओवादी केन्द्रको तर्फबाट वडा नम्वर ३ को लागि मनोनयन दर्ता गर्न फाइल नै नआएको बताएका छन् भने माओवादी केन्द्रको तर्फबाट फतुवा विजयपुरका मेयरका उम्मेदवार सुरेन्द्र राय यादवले आफूले डेढ बजे पुगेर आफूसँगै फाइल दर्ता गराएको तर निर्वाचन कार्यालयले फाइल नै गायब पारेपछि राति १२ बजेदेखि नै फाइल खोज्न दबाब दिइरहेको बताएका छन्।

उम्मेदवारले फाइल नै गायब भएको र निर्वाचन कार्यालयले भने फाइल नै नआएको भनी दुई विपरित दाबी भएको अवस्थाको बारेमा कार्यालयले निर्वाचन आयोगलाई पत्र लेखेर पठाएको विजयपुर नपाका निर्वाचन अधिकृत कोइरालाले बताएका छन् । नगरको सबै पदका गरी दुई सय ७१ जनाको मनोनयन दर्ताको लागि आएकोमा एक जनाको फाइल हराउने सम्भावना नभएको निर्वाचन अधिकृत कोइरालाको दाबी छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले आफूले पनि फतुवा विजयपुरमा एकजना उम्मेदवारको मनोनयन दर्ताको लागि दिएको फाइल हराएको विषयमा सुनेको र निर्वाचन अधिकृतलाई फोन गरेर फाइल खोज्न निर्देशन दिएको बताएका छन्।

सार्वजनिक हुन सकेन तथ्यांक

बुधवार राति अबेरसम्म उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने क्रम चलेकोले रौतहटमा उम्मेदवारहरुको तथ्यांक सार्वजनिक हुन सकेको छैन । मनोनयन दर्ताको लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको अवधि निर्वाचन आयोगले तोकेको भए पनि साँझतिर मात्रै अधिकांश दलले उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रम सुरु गरेकाले जिल्लाको अधिकांश स्थानीय तहको उम्मेदवारको फाइलको अध्ययन भइरहेको देखिएको छ । केही नगरपालिकाको उम्मेदवारको तथ्यांक जिल्ला निर्वाचन कार्यालयमा पुगेको भए पनि अधिकांश स्थानीय तहबाट तथ्यांक आउन बाँकी रहेको कार्यालयले जनाएको छ । जिल्लामा ८२१ पदका लागि ४ हजार ५ सय ३९ जनाको मनोनयन दर्ता भएको र यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाको राजपुर नगरपालिकामा २९६, गौर नगरपालिकामा ३४०, राजदेवी नगरपालिकामा २७२, वृन्दावन नगरपालिकामा २२८, ईशनाथ नगरपालिकामा २३२, गरुडा नगरपालिकामा २८२, मौलापुर नगरपालिकामा २८२, परोहा नगरपालिकामा २०९, चन्द्रपुर नगरपालिकामा २१७, बौद्धिमाई नगरपालिकामा २७२, माधवनारायण नगरपालिकामा ३०७, गुजरा नगरपालिकामा २२२, गढीमाई नगरपालिकामा २१७, कटहरिया २८८, देवाही गोनाही नगरपालिकामा २३३, फतुवा विजयपुर नगरपालिकामा २७१, यमुनामाई गाउँपालिकामा १८९ र दुर्गा भगवती गाउँपालिका १५८ जनाले विभिन्न पदको लागि मनोनयन दर्ता गराएको प्रारम्भिक जानकारी जिल्ला निर्वाचन कार्यालयले दिएको छ। 

प्रकाशित: २२ भाद्र २०७४ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App