६ वैशाख २०८१ बिहीबार
खेल

डेल पोर्टाेसँग रोकिए फेडेरर

न्युयोर्क- हुवाँ मार्टिन डेल पोर्टोले बुधबार युएस ओपनमा सनसनीपूर्ण नतिजा निकाल्ने क्रममा पाँच पटकका च्याम्पियन रोजर फेडेररलाई स्तब्ध पार्दै सेमिफाइनलको यात्रा गरेका छन् ।

आधुनिक टेनिसमा सर्वाधिक सफल स्विस स्टार फेडेररको चिर प्रतिद्वन्द्वी राफेल नाडालसँग न्युयोर्कमा पहिलो पटक आमने–सामने हुने सम्भावना बुधबारको हारसँगै समाप्त भएको छ । यसअघि एक मात्र ग्रान्ड स्लाम उपाधि न्युयोर्कमै २००९ मा जितेका अर्जेन्टिनी खेलाडी डेल पोर्टोले आर्थर आशे रंगशालामा बुधबार ७–५, ३–६, ७–६(१०÷८), ६–४ को सेटमा फेडेररलाई निराश पारे । ८ वर्षअघि युएस ओपनमा उपाधि जित्दा फाइनलमा फेडेररलाई नै हराएका डेल पोर्टोले त्यति बेला अन्तिम चारमा नाडालको चुनौती समाप्त पारेका थिए । संयोगवश यसपालि पनि २८ वर्षे डेल पोर्टोले शुक्रबार हुने सेमिफाइनलमा विश्व नम्बर १ नाडालसँगै खेल्नुपर्नेछ ।

अस्ट्रेलियन ओपन र विम्बल्डन जित्दै करियरमा कुल ग्रान्ड स्लाम उपाधिसंख्या १९ पु¥याएका ३६ वर्षे फेडेरर यो वर्ष ग्रान्ड स्लामको खेलमा हारेको यो पहिलो पटक हो ।

‘मैले निकै राम्रो सर्विस गरेको थिएँ । मैले फोरह्यान्डमा सकेसम्म कडा प्रहार गर्ने प्रयास गरेँ । समग्रमा मैले आज निकै राम्रो टेनिस खेलेको थिएँ । म जितको हकदार थिएँ,’ डेल पोर्टोले भने, ‘मलाई यो घरेलु कोर्टजस्तै लाग्छ । यहाँ मैले २००९ मा पनि राफेल नाडालसँग खेलेको थिएँ । शुक्रबार पनि त्यो बेलाकै नतिजालाई निरन्तरता दिने मैले आशा गरेको छु ।’

गत वर्ष चार पटक नारीको शल्यक्रिया गरेपछि डेल पोर्टोको करियर समाप्त हुने खतरा बढेको थियो । तर त्यसबाट पूर्ण रूपमा निको भएर पुनरागमन जनाएका डेल पोर्टोले थपे, ‘तत्कालका लागि मलाई यो स्तरमा प्रतिस्पर्धा गर्न सक्नु नै ठूलो उपलब्धि हो । त्यसमाथि मैले राम्रो टेनिस खेलिरहेको छु । अब उपाधि जित्ने महŒवाकांक्षा पलाउन थालेको छ ।’

तेस्रो वरीयताका फेडेरर क्वार्टरफाइनलबाटै बाहिरिएपछि नाडलको विश्व नम्बर एक हैसियत कायम रहने भएको छ । नाडालले बुधबारै चाँडो गरी सम्पन्न खेलमा रूसी किशोर आन्द्रेई रुब्लोभलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए । ९७ मिनेट मात्र चलेको प्रतिस्पर्धामा नाडालले ६–१, ६–२, ६–२ को सहज जित हासिल गरेका थिए ।

युएस ओपनमा नाडालको यो छैटौं सेमिफाइनल यात्रा हो । जबकि सबै चार ग्रान्ड स्लाममा गरी उनी सेमिफाइनल पुगेको यो २६औं पटक हो । विश्व वरीयताको २४औं स्थानमा रहेका डेल पोर्टो ग्रान्ड स्लामको अन्तिम चार पुगेको यो चौथो पटक हो ।

डेल पोर्टोसँग पराजित भएपछि फेडेररले आफू प्रतियोगितामा योभन्दा अघि बढ्न लायक नरहेको स्विकारे । ‘मैले त्यति नराम्रो खेलेको थिइन । तर डेल पोर्टोले धेरै राम्रो खेले । उनको प्रदर्शन अघि बढ्न हकदार थियो । म प्रतियोगितामा अझै रहिरहन हक राख्दिनँ,’ फेडेररले स्विकारे ।

डेल पोर्टोविरुद्धको इतिहासमा नाडाल ८–५ ले अगाडि छन् । सेमिफाइनलमा विजय हासिल गर्नेले उपाधिका लागि केभिन एन्डरसन वा पाब्लो कारेनो बुस्टासँग प्रतिस्पर्धा गर्नेछ ।

‘डेल पोर्टो एउटा शीर्ष स्तरका खेलाडी हुन् । उनी फर्ममा हुँदा उनलाई रोक्न कठिन हुन्छ । फोरह्यान्डमा सायद उनी सबैभन्दा तीव्र गतिका खेलाडी हुन्,’ यो वर्ष फ्रेन्च ओपन जितेका नाडालले सेमिफाइनलबारे भने, ‘तर म पनि राम्रो फर्ममा छु । त्यसैले न्युयोर्कमा उपाधि जित्ने विश्वासमा छु ।’

महिलातर्फ कोको भान्डेवेघे र म्याडिसन केइजको जितसँगै सेमिफाइनलमा सबै अमेरिकी खेलाडीबीच प्रतिस्पर्धा हुने भएको छ । अर्को सेमिफाइनलमा सात पटककी ग्रान्ड स्लाम विजेता भेनस विलियम्स र स्लोआने स्टेफन्स आमनेसामने हुनेछन् ।

२०औं वरीयताकी अमेरिकी भान्डेवेघेले बुधबार चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभालाई ७–६(७÷४), ६–३ को नतिजामा हराएर सेमिफाइनल यात्रा पक्का गरिन् । पछिल्लो आठ हप्तादेखि शीर्ष स्थानमा रहँदै आएकी प्लिस्कोभा यो हारपछि विश्व नम्बर एक स्थानबाट झर्ने भएकी छिन् । उनको स्थान विम्बल्डन च्याम्पियन गार्बिन मुगुरुजाले लिनेछिन् ।

भान्डेवेघेको जितले १९८१ यता पहिलो पटक युएस ओपनको सेमिफाइनलमा सबै चार खेलाडी अमेरिकी पुगे । केइजले अर्को क्वार्टरफाइनलमा इस्टोनियाकी छनोट खेलाडी काइया कानेपीलाई ६–३, ६–३ को सोझो सेटमा हराउँदै यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेकी थिइन् ।

प्रकाशित: २३ भाद्र २०७४ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App