coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘हामीलाई फिल्मको डर छैन’

काठमाडौं- चार वर्ष अघि फिल्म ‘कर्कश’ रिलिज भएपछि निर्माता तथा नायक आसिफ शाहलाई अर्को फिल्म बनाउने सोच त्यतिबेलै आएको थियो । तर, तुरुन्तै फिल्म बनाउनु भन्दा पनि केही समय खाली बसेर अर्को फिल्मको काम गर्ने योजना बुने । व्यावसायिक काममा सक्रिय रहँदै गर्दा आसिफ र उनका भाइ असिमले समय निकालेर फिल्म ‘२ रुपैंयाँ’ बनाए । जुन फिल्म शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

‘कुटुमा कुटु’ गीतका कारण चर्चामा रहेको फिल्म ‘२ रुपैंया’का कलाकार तथा निर्माता निश्चल बस्नेत र आसिफ शाह फिल्म सफल हुनेमा ढुक्क छन् ।

उनीहरुले निर्माण गरेको अघिल्लो फिल्म ‘कर्कश’ ठमेलको लागु औषध र त्यहाँ हुने डलरको कारोबारमा केन्द्रित थियो । अहिले बनेको ‘२ रुपैंयाँ’ चाहिँ २ रुपैंयाँ वरपर घुमेको छ । ‘पैसाको विषयमा फिल्म बन्नु एउटा संयोग मात्र हो । यस्तो बनाउने पूर्व योजना थिएन,’उनले भने,‘२ रुपैंयाँले एउटा नोटले दुई पात्रको जीवनमा ल्याएको अनेक समस्यालाई प्रस्तुत गरेको छ । २ रुपैंयाँ हराए पछि उनीहरुको जीवनमा आएको गतिरोधलाई देखाएका छौं ।’ फिल्ममा आसिफ ‘दारी’ चरित्रमा छन् ।

फिल्ममा आसिफसँग निर्देशक निश्चल बस्नेत पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् । निश्चलको समेत निर्माण सहकार्य रहेको फिल्ममा निश्चल ‘जुरेली’ भूमिकामा छन् । ‘निश्चल र म पुरानो साथी हौं । हामी यो विषयमा फिल्म बनाउँदैछौं भनेर उसलाई वान लाइन स्टोरी सुनाएपछि उसले पनि फिल्ममा लगानी गर्न रुची देखायो,’आसिफले भने,‘सुरुमा ऊ निर्माताको रुपमा थियो । फिल्मको कथाको सबै काम सँगै मिलेर गरेकाले अन्य कलाकारभन्दा उसलाई नै अभिनय गराउन उपयुक्त ठान्यौं ।’

फिल्मको गीत ‘कुटुमा कुटु’ युट्युबमा हिट भइसकेको छ । फिल्मको व्यावसायिक सफलतामा गीतले पनि भूमिका खेल्ने आसिफको विश्वास छ । ‘अहिलेसम्म गीत दर्शकले अत्याधिक रुचाइदिनुभयो । अब फिल्म पनि यही हिसाबमा रुचाउनु हुनेछ भन्नेमा आशावादी छु ’ उनले भने ।

निर्देशक तथा कलाकार निश्चलले ‘२ रुपैंयाँ’मा आफूले गरेका पात्र रोचक रहेको दाबी गर्छन् । ‘जुरेली एउटा सामान्य चरित्र हो । जो अलिकति रिसाहा र फन्टुस किसिमको हुन्छ,’उनले आफ्नो चरित्र प्रष्ट्याए,‘कसैले केही चिज गरौं भन्दा पछि नहट्ने चरित्रमा म छु । मेरो भूमिका दर्शकका लागि मसला लाग्नेछ ।’

फिल्म ‘लुट’बाट निर्देशनमा डेब्यु गरेयता उनले केही फिल्ममा केमियो भूमिका गरे पनि ‘कबड्डी’ पछि ‘२ रुपैंयाँ’ उनको पूर्ण अभिनय रहेको फिल्म हो । ‘फिल्म मेकर भएपछि सबै विधातिर जानुपर्छ भन्ने सोच मेरो सोच हो । राम्रो स्क्रिप्ट हातमा आयो भने त्यसमा लगानीसँगै आफै पनि अभिनय गर्ने योजना हो,’निश्चलले भने,‘२ रुपैंयाँको बारेमा शुरुमा आसिफ र असिमजीले आइडिया सुनाउनुभयो । त्यो कथा मनपरेपछि मैले पनि लगानीमा चासो दिएको हुँ । कलाकार अरु नै राख्ने भन्ने थियो । तर, विकल्प केही नभएपछि घरमै छौं, घरकै मान्छे प्रयोग गरौं भन्ने सल्लाह भयो ।’

निश्चलले फिल्मको गीत ‘कुटुमा कुटु’मार्फत फिल्मबारे दर्शकमा सूचना पठाइएको दाबी गरे । ‘अहिले कुटुमा कुटु भन्ने बित्तिकै आम दर्शकमा फिल्म ‘२ रुपैंयाँ’ बसिसकेको छ । फिल्मको प्रमोसनमा यो गीतले ठूलो भूमिका खेलेको छ,’निश्चलले भने,‘अहिले मलाई डर छैन । शुक्रबारबाट फिल्म लाग्दैछ । दर्शकको निर्णय नै हाम्रा लागि सर्वोपरी छ ।’

असिम शाहको निर्देशन रहेको फिल्ममा बुद्धि तामाङ, मेनुका प्रधान, राजन इसान, टिका पहाडीलगायतका कलाकारको अभिनय छ ।

प्रकाशित: २३ भाद्र २०७४ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App