४ वैशाख २०८१ मंगलबार
समाज

दुर्गमको स्कूलमा शिक्षकको मनोमानी

सन्दकपुर गाउँपालिका–२ को भीमसुन आधारभूत स्कूल । तस्बिर : भीम चापागार्इं

इलाम – भौगोलिक रूपले दुर्गममा पर्ने सन्दकपुर गाउँपालिका–२ स्थित भीमसुन आधारभूत विद्यालयकी प्रधानाध्यापिकका याममाया गुरुङ जेठयता विद्यालयमा खासै उपस्थित हुँदिनन्। अस्थायी दरबन्दीकी शिक्षिका गुरुङ स्थायीको परीक्षा तयारीका लागि करिब ३ महिनादेखि ‘सदरमुकामतिरै’ बसिरहेकी छिन्। 

तर, विद्यालयको हाजिरीबहीमा उनी विद्यालयमा उपस्थित नभएको देखिँदैन । हाजिरीबहीमा हस्ताक्षर गरेपनि आफूले पठाउने कक्षा ‘हेरिदिन’ उनले अर्की ‘सहयोगी’ राखेकी छिन् । ‘म आफू अस्थायी भएकाले स्थायीका लागि तयारी गर्दैछु,’ उनले नागरिकन्युजसँग भनिन्, ‘बालबालिकाको पठाइ नबिग्रियोस् भनेर सहयोगी राखेकी छु ।’ उनको सहयोगीका रूपमा काम गर्दैछिन् स्थानीय रविना राई । याममायाको तलब स्केल आधारभूत तहका शिक्षकबराबरको हो । तर, रविना यहाँ खेताला शिक्षकका रूपमा मासिक ६ हजार रुपैयाँमा पढाइरहेकी छिन्। 

तर, केही दिनअघिसम्म हाजिरीबहीमा याममायाले वैशाखयता नै हाजिर नगरेको पाइएको थियो। सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राई अनुगमनका लागि विद्यालय पुग्दा न प्रअ याममाया त्यसदिन विद्यालयमा उपस्थित थिइन्, न विद्यालयका अध्यक्ष इन्द्रजित राई नै । शिक्षक नरबहादुर राई कक्षा–कक्षा पुगेर विद्यार्थी भुल्याउँदै थिए । ‘वैशाख २४ मा प्रअ याममायाले आफू बिदामा बस्ने भन्दै स्कुलमा निवेदन छाडेकी रहिछन्,’ अध्यक्ष राईले भने, ‘स्थानीय अभिभावकले प्रअ गुरुङ खेताला शिक्षक राखेर महिनौंदेखि विद्यालयमा नआउने गरेको गुनासो सुनाए।’ 

विद्यालयनजिकैका अभिभावकले प्रअ याममाया खासै स्कूल आएको नदेखेपनि हाजिर भने गरेको पाएको अध्यक्ष राईले सुनाए । ‘प्रअ गुरुङ लामो समय स्कूल नआउने, आएर १–२ दिन पढाउने अनि धेरै दिनको हाजिर एकैदिन गरेर पुनः फर्किने गरेको बुझियो,’ उनले भने, ‘यो हदैसम्मको लापरबाहीमाथि नियमन गर्नु जरुरी छ।’ 

प्रअ गुरुङमात्र होइन, विद्यालयकै अर्की शिशिका पासाङफुटी शेर्पा पनि लामो समयदेखि विद्यालय आउँदिनन् । अभिभावकहरूका अनुसार उनी पनि हाजिर गर्नमात्र कहिलेकाहीं स्कुल आउँछिन् र धेरैदिन हराउँछिन् । ‘शिक्षिका पासाङफुटी त बिनाकारण १ वर्षदेखि स्कुल नै नआएको भेटियो,’ सन्दकपुर गाउँपालिकाको शिक्षा समिति सदस्यसमेत रहेका वडा २ का वडासदस्य अमृत राईले भने, ‘उनी लामो समय स्कुल नआएकै विषयमा सोमबार स्कूलमा बैठक डाकिएको थियो, त्यसदिन पनि उनी विद्यालयमा थिइनन्।’ 

पासाङफुटी यहाँ सरुवा हुनुअघि पनि आफ्नो स्कूल (माइमझुवाकै तत्कालीन लालीगुराँस प्रावि) नआउने गरेको गुनासो अभिभावकको थियो । डेढ वर्षअघि त्यो विद्यालय नजिकैको भानु आधारभूत स्कुलमा गाभियो । त्यसपछि २०७२ सालमा शिक्षिका शेर्पालाई काजमा भीमसुन स्कुल ल्याइएको हो । तर, उनी आक्कलझुक्कल मात्र विद्यालय आउने गरेको गुनासो अभिभावकको छ। 

पासाङफुटीले आफू लामो समय बिरामी परेकाले नियमित रूपमा स्कुल जान समस्या परेको सुनाइन् । ‘यसअघि पनि म आफू निकै बिरामी भएँ, मेरा तीन बालबच्चाको पालैपालो त्यहीबेला निधन भयो, म निकै समस्यामा परेर नियमित स्कुल जान नसकेकी हुँ,’ उनले भनिन्, ‘अहिले अर्काे काखेबच्चा छ तर अहिले त नजिकै डेरा बसेर भएपनि स्कुल जाँदैछु ।’ घरदेखि स्कुल टाढा परेको र चिकित्सकले आफूलाई लामो पैदल यात्रा नगर्न सुझाव दिएकाले आफूलाई समस्या परेको उनले सुनाइन्।  

दुर्गम भेगमै पर्ने भएकाले भीमसुन स्कुललाई यसअघिका शिक्षक–शिक्षिकाले पनि आफूअनुकूल प्रयोग गरे । यहाँ कार्यरत शिक्षिका लोकीमाया गुरुङ २०७२ पुस १६ देखि निश्चित अवधिको काजमा सदरमुकामको दृपादेवी आधारभूत विद्यालय आइन् । जिल्ला शिक्षा कार्यालयका अनुसार उनको काजअवधि सकिएको पनि करिब १४ महिना बितिसकेको छ । कार्यालयका अनुसार लोकीमायाले आफू बिरामी भएको कारण देखाएर ‘काज’ मागेपछि तत्कालीन जिल्ला शिक्षा अधिकारीले उनलाई २०७३ असार मसान्तसम्मको म्याद नै तोकेर काज दिएका थिए । तर, कार्यालयका अनुसार अहिले पनि लोकीमाया घरपायकको दृपादेवीबाट फिर्ता गएकी छैनन्। 

कार्यालयका एक अधिकृत भन्छन्, ‘म्याद सकिएकै वर्षदिनभन्दा धेरै बितिसके पनि लोकीमाया आफ्नो दरबन्दी रहेको विद्यालय फर्किएकी छैनन् । म्यादै तोकेर दिइएको काजको अवधि सकिएकै वर्ष दिन नाघेको छ । अहिलेसम्म केले यसरी थामिरहेको छ भन्ने बुझिएको छैन।’ भीमसुनकी प्रधानाध्यापिका याममायाले भने लोकीमाया सरुवा नै लिएर दृपादेवीमा गइसकेको दाबी गरिन् । तर, दृपादेवीका प्रधानाध्यापक चन्द्रमणि गौतमले भने लोकीमाया आफ्नो स्कुलमा काजमै कार्यरत रहेको जानकारी दिए । ‘लोकीमायालाई म्याद तोकेरै काज दिइएको हो भन्ने चाहिँ मलाई पनि जानकारी थिएन,’ प्रअ गौतमले भने, ‘उहाँ (लोकीमाया)ले यही स्कुलबाट तलब खाइरहनुभएको छ।’

शिक्षिका लोकीमायाले आफू बिरामी भएकै कारण टाढाबाट आएर दृपादेवी स्कुलमा काजमा कार्यरत रहेको जनाइन् । ‘पहिला मलाई ६ महिनाको अवधि तोकेरै यहाँको काजसरुवा दिइएको थियो,’ उनले भनिन्, ‘तर, ६ महिनापछि मेरो काजको अवधि तोकिएन, अनिश्चित समयका लागि हो ।’ उनले भीमसुनमा ६ शिक्षक–शिक्षिका रहेको भन्दै आफू नहुँदा भीमसुनको पढाइमा कुनै असर नपुगेको दाबी गरिन् । ‘म बिरामी भएकैले यहाँ काजमा आएकी हुँ, शिक्षाले पनि पुनः दरबन्दी भएकै विद्यालयमा जानू भनेको छैन,’ उनले भनिन्। 

पूर्वप्राथमिकदेखि कक्षा ५ सम्म पढाइ हुने भीमसुन स्कुलमा ३३ बालबालिका भर्ना भएका छन् । तर, वडा सदस्य राईका अनुसार अहिले करिब २०–२२ बालबालिका मात्रै दिनहुँ विद्यालय आउने गरेका छन् । जिशिकाका अनुसार विद्यालयमा ३ शिक्षक दरबन्दीमध्ये २ मा प्रधानाध्यापक याममाया र शिक्षक नरबहादुर राई कार्यरत छन् । एक दरबन्दीमा पासाङफुटी काजमा छिन् । यो विद्यालय सदरमुकाम रहेको इलाम नगरपालिकामा ल्याइएको खानेपानीको मुहाननजिकै पर्ने प्रभावित क्षेत्र भएकाले नगरले पनि एक कर्मचारी विद्यालयमा राखिदिएको छ । नगर र विद्यालयको समन्वयमा राखिएकी कर्मचारीका रूपमा रमला गुरुङ कार्यरत छिन्। 

विद्यालयले वर्षेनी बुझाउनुपर्ने चालू शैक्षिकसत्रको विस्तृत विवरणसमेत अहिलेसम्म जिशिकामा बुझाएको छैन । जेठमै यो विवरण बुझाइसक्नुपर्ने भएपनि भदौ अन्तिम हुँदासम्म भीमसुन स्कूलको विवरण नआएको शिक्षा कार्यालयकी विद्यालय निरीक्षक राधिका घिमिरेले बताइन्। ‘जिल्लाका ४ सय १९ सामुदायिक विद्यालयमध्ये अहिलेसम्म भीमसुनसहित १३ विद्यालयले आफ्नो विवरण बुझाएका छैनन्,’ उनले भनिन्, ‘बुझाउनुपर्ने त अस्ति जेठमै हो । हामीले पनि साउन पहिलो सातासम्मलाई खुकुलै गरेका थियौं । तर, १३ विद्यालयको विवरण अझैसम्म आएको छैन।’ चालू वर्षको विवरण नआउँदा अहिले भीमसुनमा कति विद्यार्थी छन् भन्ने जानकारी कार्यालयलाई नभएको उनले जनाइन्। 

प्रधानाध्यापिका याममायाले विद्यालयको विवरण आज–भोलि (मंगलबार–बुधबार)तिरै जिशिकामा बुझाउने बताइन् । ‘म वास्तवमा जेठयता मेरो आफ्नो स्थायी परीक्षाको तयारीमा छु,’ उनले भनिन्, ‘त्यसअघि मेरो ससुरा बुबा खस्नुभएकाले विद्यालयमा केही दिन हाजिर हुन नसकेकी हुँ ।’ जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले परीक्षाको तयारी वा अन्य कुनै बहानामा आफू कार्यरत स्कुलमा लामो समय हाजिर नहुनु नियमविपरीत हुने बताए । ‘विद्यालयमा लामो समय उपस्थित नहुनु, आफ्नो ठाउँमा खेताला शिक्षक राख्नु र धेरै दिनको हाजिर एकैदिन गर्नु नियमसंगत हुँदैन,’ गौतमले भने, ‘सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यस्ता शिक्षकको तलब रोक्कासमेत गर्न सकिन्छ ।’ विद्यालय रहेको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले अनियमितता गर्ने शिक्षकले बानी नसुधारे कारबाहीप्रक्रियाका लागि सिफारिस गर्ने चेतावनी दिए।

 

प्रकाशित: २३ भाद्र २०७४ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App