८ वैशाख २०८१ शनिबार
अर्थ

युरोपको हिमालमा नेपालीको कीर्तिमान

पोखरा- सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतह (समिट टु सी) सम्म प्याराग्लाइडिङमा उडेर कीर्तिमान बनाएका प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारले युरोपेली महादेशको सबैभन्दा अग्लो हिमालबाट पनि प्याराग्लाइडिङको सफल उडान गरेका छन्।

युरोपेली महादेशको अग्लो चुचुरोबाट टेन्डम (दुई जना उड्ने) उडान गरेर नयाँ रेकर्ड बनाएको उनले बताए। युरोपेली मुलुक रसियाको माउन्ट एलब्रसको चुचुरोबाट सुनुवारले बुधबार बिहान सफल उडान गरेका हुन्। माउन्ट एलब्रस समुन्द्री सतहदेखि ५६ सय ४२ मिटर अग्लो छ। माउन्ट एल्ब्रसबाट टेन्डम उडान गर्ने उनी विश्वकै पहिलो पाइलट बनेका छन्।

सातवटै महादेशका अग्ला हिमालबाट प्याराग्लाइडिङ गर्ने लक्ष्य राखेका सुनुवारले रसियन महिला ५७ वर्षिया नाटालिया साफोनोभालाई आफूसँगै उडाएका थिए। 'निकै कठिन हिमालबाट उडान गर्न सकियो। अधिक चिसोका कारण उडानमा जोखिम थियो। धेरै दिनको पर्खाइपछि बल्ल सफल भयौं,' अवतरणपछि रसियाबाट उनले नागरिकसँग टेलिफोनमा भने, 'यो हिमालबाट एकल (सोलो) उडान पहिल्यै भए पनि टेन्डम भएको रहेनछ। त्यसमा म सफल भएको छु,' यसले मलाई हर्षित बनाएको छ।'

उडानका क्रममा चुचुरोभन्दा झन्डै ३० मिटर माथिसम्म पुगेको उनले बताए। ३८ सय मिटर उचाइको अन्तिम क्याम्पमा पुगेको पाँच दिनपछि बुधबार बिहान बल्ल चुचुरोमा पुगेर उडान गर्न सकेको उनले जानकारी दिए । 'पाँच दिनदेखि म ३८ सय मिटर उचाइको क्याम्पमा थिए। मौसम खराबीले गर्दा चुचुरोमा पुगेर पनि फर्किएको थिए। बुधबार बिहान बल्ल सफल भए,' उनले भने।

विश्वकै सर्वाेच्च शिखरबाट प्याराग्लाइडिङ उडान गरेर किर्तिमानी राखेको भन्दै रसियन माउन्टेनियरिङ एसोसिएसनले उड्नका लागि आफूलाई बोलाएको सुनुवारले बताए। उनका अनुुसार रसियाको यो उडान कुनै प्रतिस्पर्धा भने होइन। बुधबार बिहान २ बजे क्याम्पबाट हिडेर ८ बजे उडान गरेको उनले बताए।

'अत्यधिक चिसो, त्यसमा पनि चर्काे हावाको बेगले गर्दा निकै जोखिम थियो। तर, साहस नगुमाइ उडान गर्न सफल भए,' उनले भने। उनका अनुसार बुधबार करिब दुई सय जना आरोही सुनुवारसँगै चुचुरोमा पुगेका थिए। उनका अनुसार निकै जोखिमपूर्ण भन्दै यसअघि अरु पाइलट त्यो शिखरबाट टेन्डम उडान गर्न सकेका थिएनन्। सुनुवारलाई पनि उडान जोखिमपूर्ण रहेको भन्दै नउड्न सुझाएका थिए।

'मलाई पनि उड्न जोखिम छ, एकपटक सोचेर मात्र कदम चाल्न सुझाएका थिए,' उनले भने, 'तर, मेरो चाहना र साहसले गर्दा सफल भए।' मौसम बदली छिटोछिटो हुने भएकाले यहाँको उडान चुनौतीपूर्ण रहेको सुनुवारको भनाइ छ। 'मेरो जिन्दगीको ऐतिहासिक उडान भएको छ,' उनले भने, 'सबैतिर असहज भनिएको उडानमा म सफल भएको छु।' सातवटै महादेशका अग्ला हिमालबाट प्याराग्लाइडिङ गर्ने लक्ष्य राखेका सुनुवारले यसअघि अफ्रिकी महादेशको सबैभन्दा अग्लो हिमाल किलिमान्जारो (५८९२ मि) को उडानमा पनि किर्तिमान राखेका थिए। सगरमाथा, किलिमान्जारो पछि यो तेस्रो किर्तिमानी भएको उनले बताए। 'मेरो लक्ष्य सातैवटा महादेशका अग्ला हिमालबाट प्याराग्लाइडिङको टेन्डम उडान गर्ने रहेको छ,' उनले भने, 'अहिलेसम्म तीनवटा महादेशका अग्ला चुचुरोमा सफल भए। अब चौथोका लागि पहल थाल्ने हो।'

सुनुवार विश्वमै साहसिक मानिएको अर्काे रेडबुल एक्स आल्पसको छनौट चरणमा परेका प्रतिस्पर्धी पाइलट समेत हुन्। प्याराग्लाइडिङमा उडेर, दौडेर र हिडेर गरिने स्पर्धाको २०१३ को संस्करणका लागि उनी विश्वभरका हजारौं साहसिक पाइलटबीच छनौट भएका थिए। त्यस्तै सर्वाेच्च शिखर सगरमाथाबाट प्याराग्लाइडिङमा उडेर समुद्री सतहसम्म पुग्न सफल भएका सुनुवार सहितका अर्का एक युवालाई २०१२ को 'वर्षका साहसिक व्यक्ति'को अवार्ड दिइएको थियो। नेसनल ज्योग्राफिक च्यानलले सानोबाबु सुनुवार र लाक्पा छिरी शेर्पालाई वर्षको साहसिक व्यक्तिको अवार्ड दिएको थियो।

युरोपको शिखरमा बुद्धको मुर्ति

युरोपेली महादेशको अग्लो चुचुरोबाट प्याराग्लाइडिङको टेन्डम उडान गर्न जाने क्रममा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले बिदाइ गर्दा दिएको बुद्धको मुर्ति पाइलट सानोबाबु सुनुवारले माउन्ट एलब्रसको चुचुरोमा पुर्‍याएका छन्। मन्त्री पोखरेलले सुनुवारलाई नेपालको झन्डा र बुद्धको मूर्ति उपहार दिएर बिदाइ गरेका थिए। त्यो मूर्तिलाई युरोपको अग्लो चुचुरोमा पुर्‍याउन भन्दै पोखरेलले शुभकामना दिएका थिए।

'मन्त्री पोखरेलले मलाई बिदाइ गर्दै शान्तिको प्रतिक भन्दै बुद्धको मूर्तिलाई शिखरमा पुर्‍याउन शुभकामना दिनुभएको थियो,' सुनुवारले भने, 'मैले पनि बुद्धको त्यो सानो मुर्ति चुचुरोमा पुर्‍याएको छु।' बुद्धलाई युरोपमा अग्लो हिमालको चुचुरोमा पुर्‍याउन सकेकोमा आफूलाई खुसी लागेको उनले बताए। 'नेपालमा शान्तिको कामना गर्दै मैले युरोपको अग्लो चुचुरोमा बुद्धको मूर्ति राखेको छु। यसले नेपालमा शान्ति छ भन्ने पनि बुझाउँछ,' उनले भने, 'यो काम गर्न सकेकोमा मलाई गर्व लागेको छ।'

प्रकाशित: १३ श्रावण २०७३ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App