७ वैशाख २०८१ शुक्रबार
अर्थ

पक्की बन्यो जुफाल विमानस्थल, तारा एयरले गर्‍यो परीक्षण उडान

जुफाल विमानस्थलमा अवतरण गर्दै तारा एयरको विमान । तस्बिर : नागरिक

जुम्ला – डोल्पा स्थित जुफाल विमानस्थल पिच सकिएपछि पहिलो पटक तारा एयरले परीक्षण उडान भरेको हो । विहान तारा एयरले सफल रुपमा परीक्षण उडान भरेपछि विमानस्थल नियमित रुपमा चल्ने भएको हो। 

धावन मार्ग कालोपत्रे गर्ने कार्यको झण्डै नब्बे प्रतिशत काम सम्पन्न भएपछि तारा एयरले परीक्षण उडान गरेको हो । नजिकिदै गरेको दशैँलाई ध्यानमा राख्दै स्तरोन्नतीको लागि बन्द गरिएको डोल्पाको पहिलो विमानस्थल जुफाल विमानस्थल आजबाट खुलेको हो।

विमानस्थल निर्माण भएको ४२ वर्ष पछि ०७४ असार १ गतेबाट विमानस्थलको ५ सय ६० मिटर लम्बाइको धावनमार्ग, टर्निङ्ग र पार्किङ्ग लगायतको कालोपत्रे गर्न दुई महिनाको लागि हवाई सेवा बन्द गरिएको थियो । जुफाल विमानस्थलको धावन मार्गलार्इ ०७४ साउन मसान्त भित्रमा सम्पन्न गर्ने गरी कालो पत्र गर्ने कार्य शुरु गरिएको थियो।

धावन मार्गको स्तरोन्नतीको क्रममा डोल्पाको यातायातको एकमात्र साधन हवाई सेवा बन्द हुँदा डोल्पावासीलाई मर्का परेको थियो। 

त्रिपुरासुन्दरी नगरपालिका ७ पहाडामा अर्को विमानस्थलको रुपमा रहेको  मसिनेचौर विमानस्थलमा हवाई सेवा सञ्चालन गर्ने तयारी हुँदै गर्दा एक मात्र हवाई सेवा स्तरोन्नतीको नाममा बन्द भएपछि यहाँका बिरामीले सास्ती पाउनुका साथै सिंगो डोल्पावासीले कष्टकर जीवन बिताउनु परेको थियो।

दुई महिना अर्थात ०७४ साउन महिना भित्रमा काम सम्पन्न गर्ने भनिएको थियो । तर प्लानर मेसिन रोलर लगायतका उपकरणमा आएको खरावी र निमार्ण व्यवसायीको चरम लापरवाहीका कारण ढिलाई भएको स्थानीयले गुनासो गरेको छ।  

कालिका शिद्दिशाही जेभी कन्सट्र«क्सनले झण्डै ४ वर्ष देखि नेपाल नागरिक उड्ययन प्राधिकरणको ९ करोड ८१ लाखको लागतमा जुफाल विमानस्थलको स्तरोन्नतीको कार्य गर्दै आएको छ। 

विमानस्थलको ५ सय ६० मिटर लम्बाईको धावनमार्ग, टर्निङ्गर पार्किङ्ग लगायतको स्तरोन्नतीको कार्य नब्बे प्रतिशत सम्पन्न भएको र धावन मार्गको ५० मिटर र पार्किँग लगायतको कार्य अझै बाँकी रहेको छ।

नजिकिदै गरेको बिजया दशमीलाई मध्येनजर गरेर हवाई सेवा सुचारु गरिएको भएपनि उडान नभएको समयमा स्तर उन्नतीको कार्य चालु रहने गरी उडान संचालनमा अनुमति दिइएको नेपाल नागरिक उडड्यान प्राधिकरणका इन्जियर बिरप्रसाद शाहीले बताए।

कच्ची र छोटो धावन मार्गका कारण बिगतमा सानाखालका जहाज मात्र बस्ने र सामान्य पानी परेको समयमा पनि धावनमार्ग हिलाम्य बन्ने खतरा थियो । भरपर्दो हवाई सेवा नहुँदा डोल्पालीले सास्ती खेप्नु परेको थियो।

सिता, गोमा, तारा, मकालु लगायतका सबै जहाज अवतरण र उडान गर्न मिल्ने भएकोले यातायातमा सहजता आउने नेपाल नागरिक उडड्ययन प्राधिकरण डोल्पाका प्रमुख कृष्णप्रसाद रिजालले बताए।

तीन महिना सम्म हवाई उडान बन्द हुँदा र पैदल मार्गको रुपमा रहेको डोल्पा जाजरकोट सडक पनि निमार्णको क्रममा बिष्फोटक पदार्थ व्लास्टिङ्ग गर्ने कार्य जारी रहेकाले खच्चड ढुवानी लगायत पैदल यात्रीहरूलाई समेत जोखिम मोलेर डोल्पालीले एक साताको डोल्पा नेपालगञ्जको यात्रा पार गर्नु परेको थियो। 

 

प्रकाशित: २३ भाद्र २०७४ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App