बाटो नपाउँदा एम्बुलेन्समै जान्छ ज्यान

शुक्रबार, २३ भदौ २०७४, १४ : ५१ पवित्रा सुनार


वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले बुधबार सडकमा बेग्लै दृश्य देखे । जुन मानवीय दृष्टिले संवेदनाहीन दृश्य थिए । डा. अनिल ग्रान्डी अस्पतालमा थिए । भाटभटेनीबाट एक परिचित बिरामीले फोन गरे । ‘असह्य हुने गरी छाती दुख्यो डाक्टर साप,’ उनले भने । बिरामीलाई हृदयघातको लक्षण देखिएको अनिलले बुझे । तत्काल अस्पतालको एम्बुलेन्स लिएर उनी भाटभटेनीतर्फ हिँडे।

डा. ओममूर्ति गन्तव्यमा पुग्न अपेक्षाभन्दा बढी समय लाग्यो । कारण थियो, सडक जाम । सडकमा एम्बुलेन्सलाई कसैले बाटो छाडेनन् । गाडीले मात्रै होइन, हुलका हुल स्कुले विद्यार्थीले बाटो काट्दा पनि एम्बुलेन्सलाई अवरोध पुग्यो । ‘एम्बुलेन्सलाई गाडीले पनि वास्ता गरेनन्, विद्यार्थीले पनि हेपे, कम्तीमा विद्यार्थीले त एम्बुलेन्स भन्ने बुझ्नुपथ्र्यो,’ अनिलले भने।

काठमाडौंको अस्तव्यस्त सडक र सकसपूर्ण ट्राफिक जाम छिचोलेर उनी ढिला गरी बिरामी भएको ठाउँ पुगे । संयोगले बिरामीलाई हृदयघात चाहिँ भएको रहेनछ । तर बिरामीकहाँ नपुगुन्जेल सडकमा झेलेको पीडाले उनलाई सताइरह्यो । त्यसलाई बेलुका उनले सामाजिक सञ्जालमा पोखे, ‘आज बिरामी लिन एम्बुलेन्समा जाँदा जीवनकै साह्रै पीडादायी यात्रा बन्यो । बाटोमा हिँड्ने विद्यार्थी, युवा, मोटरसाइकल, ट्याक्सी, कार, बसदेखि भाडाका गरी लगभग सात सय ५५ सवारीसाधनले एम्बुलेन्सको साइरन समेतलाई बेवास्ता गरे।’

‘एसी भएको कारमा झ्याल बन्द गरेर कार चलाएका हुन्छन्, एम्बुलेन्सको हर्न नै सुन्दैनन्, बाटो पाउन हर्न बजाउँदा ‘जाम छ देख्दैनस्’ भन्दै हकार्छन् ।’

‘एम्बुलेन्समा हुने बिरामी जीवनमरणको दोसाँधमा हुन्छन्, पाँच/दश मिनेटको ढिलाइले पनि मृत्यु हुन सक्छ तर राजधानीमा एम्बुलेन्स माथिको अवहेलना पनि चर्कै रहेछ,’ उनले भने।

उनको जस्तै पीडा वर्षौंदेखि एम्बुलेन्स चलाउँदै आएका चालकले पनि बेहोरिरहेका छन् । विगत २४ वर्षदेखि त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स चलाउँदै आएका चालक उद्धवप्रसाद सुवेदीले सडकमा धेरै यस्तै पीडा भोगेका छन् । एम्बुलेन्सले बाटो नपाएर बाटैमा बिरामीको मृत्यु भएका दृश्यले उनलाई अहिले पनि पिरोल्छ।

चार वर्षअघि एम्बुलेन्समा थानकोटबाट सुत्केरी व्यथा लागेकी महिला लिएर सुवेदी टिचिङ आउँदै थिए । कलंकीको जामले एक घन्टा खाइदियो । महिला त्यहीँ प्रसूति भइन् । तर बच्चा उल्टो भएका कारण महिलाको बाटैमा मृत्यु भयो । त्यो दिन सुवेदीलाई आफ्नै बुवा बितेजस्तै पीडा भयो । ‘त्यो घटना म कहिल्यै बिर्सन सक्दिनँ,’ उनले विगत कोट्याउँदै भने, ‘आफ्नै पेसाले मलाई त्यो दिन नमजाले रुवाएको थियो ।’ पाँच वर्षअघि पनि भक्तपुरबाट अस्पताल ल्याउँदै गरेकी अर्की गर्भवतीको कोटेश्वरको जामकै कारण ज्यान गएको थियो । यी दुवै घटनाले उनलाई बेलाबेला घोच्ने गर्छ।

कर्ण पन्त पनि २४ वर्षदेखि सुवेदीजस्तै अस्पतालको एम्बुलेन्स चलाइरहेका छन् । उनले पनि उस्तै पीडा झेलेका छन् । गंगालाल अस्पताल पुर्‍याउने क्रममा एक हृदयाघातका बिरामीको जामकै कारण बाटैमा मृत्यु भएको थियो।

राजधानीका सडकमा एम्बुलेन्सले भोगेको सास्तीको हिसाब कति छन् कति, सबै सम्झनामा छैनन् । पहिला राजधानीमा यतिका गाडी थिएनन्, सडक खुला हुन्थे । एम्बुलेन्स देख्नेबित्तिकै चालकले बाटो छोडिदिन्थे । ‘पहिला एम्बुलेन्स देख्नेबित्तिकै सबै गाडी आफ्नो साइड लाग्थे, अहिले कसैले टेर्र्दैनन्,’ सुवेदीले भने । एम्बुलेन्स चालकको अनभुवमा सार्वजनिक यातायातका चालक सबै पढे–लेखेका छैनन् तर सभ्य र शिक्षित भनिएका मान्छे चढेका निजी गाडीले गर्ने अपमान पनि दिक्कलाग्दो छ । ‘एसी भएको कारमा झ्याल बन्द गरेर कार चलाएका हुन्छन्, एम्बुलेन्सको हर्न नै सुन्दैनन्,’ चालक सुवेदीले भने, ‘बाटो पाउन हर्न बजाउँदा ‘जाम छ देख्दैनस्’ भन्दै हकार्छन् ।’ सडकमा अहिले साझा बस, महानगर यातायातले बाहेक अरुले बाटो नछाडेको गुनासो उनको छ । ‘ट्याक्सी, माइक्रो, मोटरसाइकल कसैले बाटो छाड्दैनन्, ट्याक्सी झनै अटेरी छन्,’ उनले भने।

एम्बुलेन्स आएको देख्दादेख्दै पनि एकछिन नकुरी बाटो काट्ने पैदलयात्रीले पनि एम्बुलेन्सलाई अवरोध पुर्‍याउने गरेको गुनासो चालकको छ । ‘जेब्राक्रसिङमै भए पनि एम्बुलेन्स आएपछि बाटो छोड्नुपर्ने हो,’ सुवेदीले भने । सडकमा एम्बुलेन्सप्रति पैदलयात्री, माइक्रो, ट्याक्सी, सबैको हेपाहा प्रवृत्ति छ । यसले कति बिरामीको बाटोमै ज्यान जान्छ ।
विशेषगरी हृदयाघातका बिरामी छन् भने ढिला पुगेकै कारण मुटु सधैँका लागि कमजोर बन्छ । सहिद गंगालाल हृदय केन्द्र आकस्मिक कक्षका डा. चन्द्रमणि अधिकारीका अनुसार समयमै अस्पताल नपुग्ने कारण कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक अस्पतालसँग छैन।

ढिला गरी अस्पताल पुग्ने मुटुका बिरामी भने समस्यामा परेका हुन्छन् नै । डा. अधिकारीका अनुसार हृदयाघातका बिरामी ढिला पुगेमा मुटुको भाग घन्टैपिच्छे नष्ट हुँदै जान्छ र मुटु नै कमजोर हुन पुग्छ । ‘त्यसो हुँदा पहिलाजस्तो मुटुले काम गर्न सक्तैन, बिरामीलाई जिन्दगीभर मुटुका अनेकौँ समस्या हुन सक्छ,’ उनले भने, ‘एक घन्टाभित्र बिरामी आइपुग्नु र तीन घन्टापछि आइपुग्दा फरक त पर्छ नै।’ 

एम्बुलेन्स चालकका अनुसार हाल राजधानीको जाम तथा सवारीसाधनले बाटो नछाडेका कारण दिउँसोमा एम्बुलेन्स पुग्नुपर्ने समयभन्दा ४५ मिनेटदेखि एक  घन्टा ढिलो अस्पताल पुग्ने गर्छन्।

समाधान 
चालक तथा चिकित्सकका अनुसार राजधानीको सडकको स्तर अन्तर्राष्ट्रिय तहमा रूपान्तरण हुन वर्षौं लाग्ला । तर साँघुरो सडक भए पनि एम्बुलेन्सलाई अन्य सवारीसाधनले साइड दिने होे भने समस्या केही हल हुन्छ। बिरामीको संवेदना बुझेर पैदलयात्री, सवारीचालक सबैले एम्बुलेन्सलाई बाटो छाडिदिए धेरैलाई जीवन दिन सकिने डा. अनिलको सुझाव छ । उपत्यकाको सडक विस्तारमा भएको लापरवाही, सवारी–साधनको अव्यवस्था रहेको अहिलेको अवस्थामा एम्बुलेन्सलाई बाटो छोडिदिनु नै उपयुक्त समाधान भएको एम्बुलेन्स चालकको बुझाइ छ।

एम्बुलेन्सले सडकमा झेलेको सास्तीको विषयमा उपत्यका ट्राफिक कार्यालय पनि संवेदशील छ तर द्रूत र भरपर्दो निकास भने दिन सकेको छैन । ट्राफिक नभएका ठाउँमा एम्बुलेन्सले बाटो नपाउने गरेको स्विकार्छन्, महाशाखाका ट्राफिक अधिकृत । ‘ट्राफिक नीतिमै एम्बुलेन्स पहिलो प्राथमिकतामा छ तर ट्राफिक उपस्थित नभएका ठाउँमा बाटो नपाउने गरेको गुनासो बढ्दै गएको छ,’ उपत्यका ट्राफिक कार्यालय महाशाखाका डिएसपी मधुसुदन सिलवालले भने । तर बिरामीलाई चाहिने उपकरणबिनै र बिनाबिरामी हिँडेका एम्बुलेन्स भने ट्राफिकको प्राथमिकतामा नपर्ने सिलवालले बताए । ट्राफिक नभएको सडकमा बाटो नपाएमा चालकले आपूm हिँड्नुअघि नै १०३ मा फोन गरेर जानकारी गराएमा ट्राफिक प्रहरीले सहयोग गर्ने सिलवालले बताए।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

शक्ति, राजनीति र युद्धले जहिल्यै मान्छेलाई प्रभावित पारिरहेकै हुन्छ । नेपालको दशवर्षे सशस्त्र द्वन्द्व पनि यसैको उदाहरण हो । विश्व...

रहेनन् होचा कदका कलाकार

रहेनन् होचा कदका कलाकार

होचो कलाकार दीपेन शाहको बिहीबार बिहान निधन भएको छ । धादिङको कार्यक्रम सकेर चार दिनअघि ललितपुरको घर फर्किएका दीपेन अस्वस्थ्य...