coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

दसैँ बुकिङमा व्यवसायीको बार्गेनिङ

गत वर्ष दशैँका बेला टिकट लिन गाेंगबु बसपार्कमा लाइन लागेका सर्वसाधारण ।

यातायात व्यवसायीले अनावश्यक माग राख्दै पूर्वसहमति विपरीत दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्न आनाकानी गरेका छन् ।

विभिन्न समितिमार्फत गैरकानुनी सिन्डिकेट चलाउँदै आएका व्यवसायीले दसैँको मुखमा अग्रिम टिकट बुकिङ खुलाउन आनाकानी गरेका हुन् । सरकारी अधिकारी, उपभोक्ता अधिकारकर्मी र यातायात व्यवसायीबीचको सर्वपक्षीय सहमति तोड्दै उनीहरूले बिहीबारदेखि सुरु गर्ने भनिएको अग्रिम बुकिङ नखोलेका हुन्। 

हरेक वर्ष दसैँअगाडि सरकारसँग अनावश्यक माग राख्ने व्यवसायीले यसपालि पनि अग्रिम बुकिङका लागि सर्तैसर्त तेस्र्याएका छन् । गत शुक्रबारको सर्वपक्षीय बैठकमा व्यवसायी बिहीबारदेखि अग्रिम बुकिङ खोल्न तयार भएका थिए । तर, बिहीबार व्यवसायीले बुकिङ खुलाएनन् । व्यवसायीले बुकिङ नखुलाएपछि विभिन्न टिकट काउन्टरमा टिकट लिन पुगेका यात्रु निराश भएर फर्केका छन्।

अग्रिम टिकट बुकिङको आशामा बिहीबार बिहानै नयाँ बसपार्क, गौशाला र कलंकी पुगेका यात्रु रित्तो हात फर्किए । ‘यातायात व्यवसायीले चाडपर्वको नाममा आफ्नो माग पूरा गराउन अग्रिम बुकिङ खुलाएनछन्,’ नयाँ बसपार्क पुगेका यात्रु श्याम श्रेष्ठ भने, ‘सरकारले यातायात व्यवसायीलाई कारबाही गरेर अग्रिम बुकिङ खुलाओस्।’

यातायात व्यवसायीले दसैँमा अग्रिम बुकिङ खुलाउन पाँच माग अघि सारेका छन् । उनीहरूले भाडा समायोजन हुनुपर्ने, साविकका १४ वटै अञ्चलमा लामो दूरीका सवारीसाधनको जाँचपास हुनुपर्ने, सवारीसाधनको छतमा सामान बोक्न पाउनुपर्ने, सडकको मर्मत–सम्भार गर्नुपर्ने, सडकमा उद्धार उपकरण (रेस्क्यु मेसिन) राख्नुपर्नेलगायत माग राखेका हुन्।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव  सरोज सिटौलाले विभागले नै अग्रिम टिकट बुकिङ खुलाउने वातावरण नबनाएको दाबी गरे । ‘विभागले यात्रुको सामान ओसार्न क्यारियर राख्ने व्यवस्था अझै मिलाएको छैन,’ उनले भने, ‘क्यारियर नभईकन कसरी यात्रुको समान घरसम्म पुर्‍याउने ?’ उनका अनुसार सरकारले सवारीसाधनमा क्यारियर राख्ने व्यवस्था गर्नुका साथै अस्थायी रूपमा भए पनि सडक मर्मत–सम्भार नगरेसम्म दसैँका लागि अग्रिम टिकट बुकिङ नखुलाउने बताए । 

विभिन्न समितिमार्फत गैरकानुनी सिन्डिकेट चलाउँदै आएका व्यवसायीले दसैँको मुखमा अग्रिम टिकट बुकिङ खुलाउन आनाकानी गरेका हुन् । सरकारी अधिकारी, उपभोक्ता अधिकारकर्मी र यातायात व्यवसायीबीचको सर्वपक्षीय सहमति तोड्दै उनीहरूले बिहीबारदेखि सुरु गर्ने भनिएको अग्रिम बुकिङ नखोलेका हुन् । 

सरकारले प्रत्येक वर्ष दसैँमा घर फर्किने पैदलयात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउन पहल गर्दै आइरहेको छ । ‘कन्जुमर आई’ नेपालका अध्यक्ष विमला खनाल यातायात व्यवसायीले दसैँको मौका छोपेर  बार्गेनिङ गर्न थालेको बताउँछिन् । ‘यातायात व्यवसायीले चाडपर्वको मौका पारेर सरकारलाई  निर्णय गर्न बाध्य पार्छन्,’ उनले भनिन्, ‘चाडपर्वको नाममा बार्गेनिङ गर्ने गलत अभ्यास भइरहेको छ, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’

महासंघका सचिव वसन्त भण्डारीले ०६९ सालदेखि  सवारीसाधनको वैज्ञानिक भाडादर कायम नभएकाले सरकारसँग माग राखिएको दाबी गरे । उनले पहिलेको तुलनामा पेट्रोल र डिजेलको मूल्य घटे पनि उपकरण, मोबिल, लुब्रिकेन्ट्स र स्पेयरपार्टस्को मूल्य बढेकाले भाडा वृद्धि गर्नुपर्ने बताए । 

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे भने दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भइसकेको दाबी गर्छन् । ‘क्यारियर राख्न नियमावली संशोधन प्रस्ताव मन्त्रालयमा पठाइसकेका छौँ,’ उनले भने, ‘व्यवसायीले भनेजस्तो रातारात नियमावली संशोधन गर्न सकिँदैन, व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गर्नुपर्छ ।’ 

बर्सेनि बार्गेनिङ 
गत वर्ष पनि यातायात व्यवसायीले दसैँको अग्रिम टिकट बुकिङ खुला गरेर बीचैमा बन्द गरेका थिए । यातायात व्यवसायीको एकाधिकार कायम भएकाले दसैँमा उनीहरू विभिन्न माग राख्दै सरकारसँग बार्गेनिङ गर्ने गर्छन् । गत वर्ष व्यवसायीले सिट क्षमताभन्दा बढी यात्रु बोक्न पाउनुपर्ने र सरकारले इन्धन उपलब्ध गराउनुपर्ने माग राख्दै दसैँको मौकामा बार्गेनिङ गरेका थिए । 

सरकारले गत वर्ष यातायात व्यवसायीले सार्वजनिक बस सञ्चालन नगरे संस्थान, साझा बस र निजी विद्यालयका बसमार्फत यात्रुलाई घरसम्म पुर्‍याउने तयारी थालेको थियो । त्यसपछि बल्ल व्यवसायीले बुकिङ खुलाएर टिकट बेचेका थिए । 

‘सरकारले हस्तक्षेप गर्नुपर्छ’
यातायात व्यवसायीको दादागिरीविरुद्ध सरकारले समयमै हस्तक्षेप गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी बताउँछन् । 
उपभोक्ता हित संरक्षण मञ्च अध्यक्ष ज्योति बानियाँ यातायात व्यवसायीले चाडपर्व नजिकिँदै गर्दा बार्गेनिङ गर्ने गरेकाले तत्काल सरकारले हस्तक्षेपकारी नीति अवलम्बन गर्नुपर्ने बताउँछन् । ‘चाडपर्व  नजिकिँदै गर्दा यातायात व्यवसायीले भाडा बढाउनु साथै सवारीसाधनमा छत राख्नुपर्ने माग राखेका छन्,’ उनले भने, ‘यी दुवै माग व्यावहारिक छैनन्, सरकारले ठाडो हस्तक्षेप गरेर कारबाही गर्नुपर्छ ।’

उनले लामो संघर्षपछि सार्वजनिक सवारीसाधनबाट क्यारियर हटाएको बताए । ‘त्यसले यात्रु छतमा राखेर हुने दुर्घटनामा न्यूनीकरण भइरहेको छ,’ उनले भने, ‘यातायात व्यवसायीले झिटागुन्टी राख्ने बहानामा फेरि क्यारियरको माग गरिरहेका छन्, त्यो अव्यावहारिक छ ।’

यातायात अधिकारकर्मी रामबहादुर थापा सरकारले यातायात व्यवसायीलाई कडा कारबाही गरेर अघि बढ्नुपर्ने बताउँछन् । ‘यात्रुलाई अप्ठेरो पार्ने व्यवसायीलाई सरकारले कडा कारबाही गर्नुपर्छ,’ उनले भने। 

 

प्रकाशित: २३ भाद्र २०७४ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App