७ वैशाख २०८१ शुक्रबार
अन्य

अन्तिम चरणमा दक्षिणबाराही पुनर्निर्माण

भुइँचालोबाट क्षतिग्रस्त दक्षिणबाराही मन्दिर पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । अहिले मन्दिरको छाना छाउने काम भइरहेको छ । दक्षिणबाराही मन्दिर परिसर सुधार एवं व्यवस्थापन समिति अध्यक्ष कृष्णलाल गोजा श्रेष्ठका अनुसार आउँदो तिहारभित्रै पुनःनिर्माण सकिनेछ।  

पुरातत्व विभागले ठेकेदारमार्फत ७६ लाख ५८ हजार रूपैयाँमा मन्दिर पुनःनिर्माण गराएको हो । १२ वैशाख २०७२ को भुइँचालोबाट भत्किएको मन्दिर बनाउने काम ०७३ कात्तिकदेखि सुरु भएको थियो । ‘असारभित्र पुनःनिर्माण सक्ने कुरा थियो,’ श्रेष्ठले भने, ‘ठेकेदार कम्पनीले म्याद बढायो, अब तिहारभित्र निर्माण पूरा हुनेछ।’ 

मन्दिर भौगोलिक हिसाबले सूर्यविनायक नगरपालिका–४ मा परेता पनि यसको रेखदेख एवं संरक्षण मध्यपुर थिमिका नेवार समुदायले गर्दै आएका छन् । उनीहरू बाराहीलाई इष्टदेवी मान्छन् । बडा दसैंका बेला अष्ठमातृका देवीका रूपमा पुज्छन् । नवरात्रभर बिहान मन्दिरमा घुइँचो लाग्छ।

दक्षिणबाराहीमा तामाको छाना छाउन स्थानीय संगठित भएका छन् । तामा छाना छाउने समितिका अध्यक्ष जुन श्रेष्ठका अनुसार त्यसका लागि २४ लाख रूपैयाँ लाग्नेछ । हालसम्म १८ लाख रूपैयाँ चन्दा उठिसक्यो । दाताहरू मन खोलेर सकेको दान गर्दैछन्।

थिमि चोकबाट दधिकोट जाने सडक छेउमा अवस्थित मन्दिर प्यागोडा शैलीमा बनेको छ । त्यहाँ काठका कलात्मक झ्याल ढोकायुक्त सत्तल छन्। मन्दिर आफैंमा काष्ठकलाको अनुपम नमुना मानिन्छ । मन्दिर हातामा मृतकको दाहसंस्कार गर्ने चलन छ।  

विभागले मन्दिरमा झिँगटीको छाना छाउने बजेट छुट्टयाएको थियो । तर, स्थानीयले तामाको छाना छाउने अभियान चलाएका छन् । त्यसका लागि ल्याय्म्ह पुचः थिमिको अगुवाईमा उनीहरू संगठित भएका छन् । दक्षिण बाराही तामा छाना छाउने समिति बनाएर चन्दा संकलन गरिरहेका छन् । ‘झिँगटीको छाना भरपर्दो र टिकाउ हुँदैन, घाँस उम्रिन्छ,’ समितिका अध्यक्ष जुन श्रेष्ठ भन्छन्, ‘त्यसैले पुरातत्व विभागको अनुमति लिएर तामाको छाना राख्ने अभियान चलाएका हौं।’  
विभागले गजुर र दुई सय चार स्क्वायर फिट तामाको पाताका लागि करिब दुई लाख रूपैयाँ दिने भएको समितिका अध्यक्ष कृष्णलाले जानकारी दिए । गजुरमा सुनको जलप लगाउन पनि विभागले सुझाएको छ । ‘सुनको जलप लगाउँदा ५–६ लाख रूपैयाँ थप खर्च लाग्नेछ,’ पुचःका सल्लाहकार श्याम मानन्धर भन्छन्, ‘त्यसका लागि हामी छलफलमा जुटिसकेका छौं।’
  
 

 

प्रकाशित: २३ भाद्र २०७४ ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App