८ वैशाख २०८१ शनिबार
अन्य

मन जित्दै मटका चिया

धातु तथा प्लास्टिकका सामानको प्रयोगले गर्दा माटाका भाँडाको चलन झण्डै हराइसकेको छ । दैनिक घरायसी प्रयोगको चलन हराउँदा माटाका भाँडासम्बन्धी अन्य संस्कृति पनि हराउँदैछ । ठीक यस्तै बेला सहरमा भने ‘मट्का’को नयाँ चलन देखा परेको छ। 

यही हप्ता सहरमा नयाँ चिया पसल खुलेको छ, द मटका । नयाँ बानेश्वरमा खुलेको द मटकाले चियालाई माटाको कपमा दिन्छ । यो नयाँ बानेश्वरबाट थापागाउँ जाने बाटोमा पर्छ । चिया कफी पिउँदै आराम गर्न मन पराउनेका लागि नयाँ गन्तव्य हुन सक्ने सञ्चालक मध्येका एक प्रकाश प्याकुरेल बताउँछन् । नयाँ प्रयोगसहित केही व्यवसाय गर्ने उद्देश्यले द मटका सञ्चालनमा ल्याएको उनले बताए । सहरमा नयाँ भए पनि मटकाको सञ्चालनको सोच भने पुरानो रहेको उनी बताउँछन् । उनी तराईका बासिन्दा हुन् । धेरै पहिले उनले वीरगन्जको आदर्शनगरमा एक चिया पसल देखेका थिए, जहाँ माटाको सानो कपमा चिया दिइन्थ्यो । त्यहाँ चिया पिउने ग्राहकको लर्काे लाग्थ्यो।  

‘बसेर गप गर्दै चिया पिउने कुनै ठाउँ नभए पनि हातमा माटाको कप लिएर उभिँदै चिया पिइरहेका मानिस देखेर छक्क पर्थे ।’ अहिले आफ्नै ‘द मटका’मा बनेको चिया सुरुप्प पार्दै प्रकाशले भने, ‘त्यहाँ उभिएर मैले पनि धेरै पटक चिया पिएँ ।’ त्यसरी वीरगन्जको एक वृद्धको फरक खालको चिया पसल देखेपछि काठमाडौंमा पनि यसरी चिया बेच्न सकिन्छ भन्ने सोच्न थाले। 

सोच्नेबित्तिकै काम गर्न पाएनन् । लामो समय गैरसरकारी संस्थामा काम गरेपछि उनलाई व्यवसायतिर मन गयो । अनि साथीसँग मिलेर सुरु गरेका छन्, द मटका । ‘वीरगन्जमा बनेको सोच अहिले पूरा भयो,’ उनी भन्छन्। 

यही हप्ता सहरमा नयाँ चिया पसल खुलेको छ, द मटका । नयाँ बानेश्वरमा खुलेको द मटकाले चियालाई माटाको कपमा दिन्छ । यो नयाँ बानेश्वरबाट थापागाउँ जाने बाटोमा पर्छ । चिया कफी पिउँदै आराम गर्न मन पराउनेका लागि नयाँ गन्तव्य हुन सक्ने सञ्चालक मध्येका एक प्रकाश प्याकुरेल बताउँछन् । 

मटकाले कस्तो व्यापार गर्ला हेर्ने बाँकी नै छ । प्रकाश भने व्यवसाय राम्रो हुनेमा आशावादी छन् । भन्छन्, ‘अहिलेको पुस्ता जे कुरामा पनि नयाँ रुचाउँछन् । मटका पनि सहरमा नयाँ प्रयोग हो ।’ 

द मटकाको इन्टेरियर पनि त्यसै गरी डिजाइन गरिएको छ । माटाको कपमा चियाको चुस्की लिँदै काम गर्न चाहनेका लागि समेत सजिलो सेट अप गरिएको छ । ८÷१० जना बसेर छलफल, बैठक चलाउन मिल्ने एउटा क्याबिनमा लो सिटिङको व्यवस्था गरिएको छ । भित्तामा बनाइएका विभिन्न अर्थपूर्ण आर्टले त्यहाँ जानेको ध्यान निकै तानेको देखिन्छ ।
द मटकाको मेन्युमा चिया र कफीका विभिन्न भेराइटी राखिएको छ । माटाको कप पिइने तीन प्रकारका चिया मेनुमा समावेश छन् । मिल्क टी, ब्ल्याक टी र मसला टीलाई माटाका कपमा दिइन्छ । मिल्ट टीको ३५, ब्ल्याक टीको २५ र मसला टीको ५० रूपैयाँ प्रतिकप मूल्य निर्धारण गरिएको छ । माटामा दिइने चियाबाहेक नेपालीले मन पराउने र सहरमा प्रचलनमा रहेका सबै प्रकारका कफीका भेराइटी पनि राखिएका छन् । चिया र कफीबाहेक अन्य अल्टरनेटिभ ड्रिंक्सले यसको मेन्युलाई निकै सम्पन्न बनाएको छ । प्रकाश भन्छन्, ‘चिया वा कफी पिउने मात्र नभई अन्य खालका ग्राहकलाई पनि स्वागत गर्न बेवरेज राखिएको छ ।’

चिया कफीको सप्लिमेन्ट्रीमा अहिले पप कर्नको भेराइटी राखिएको छ । केही समयमा केही लोकल उत्पादनलाई सप्लिमेन्टी राख्नेबारे पनि सोचिरहेको प्रकाश प्याकुरेलले बताए। 

माटाको कपमा चिया पिलाउने व्यवसायको सबैभन्दा पछिल्लो उदाहरण ‘द मटका’ हो । यद्यपि, यसअघि नै केही युवाले मटकामा यस्तो व्यवसायको प्रयास सुरु गरिसकेका छन् । जसले गर्दा सहरवासीमाझ माटाको भाँडामा चिया वा अरु केही पिउनु एक प्रकारको फेसन बनेको छ । मटका टेकअवेका सञ्चालक सर्मेन्द्र श्रेष्ठ भन्छन्, ‘नयाँ कुरा जे आए पनि मानिसलाई चासो हुन्छ । त्यसैले नयाँ तरिकाले सुरु गरेको काम ट्रेन्ड बन्न धेरै समय लाग्दैन ।’ कतिले मटकाको महत्त्व थाहा पाएर त कतिले भने अरुले खाएको देखेर आउने गरेको उनी बताउँछन्। 

सर्मेन्द्रले ललितपुरको झम्सिखेलमा खोलेका छन्, ‘मटका टेकअवे’ । उनको मटका टेकअवे अहिले झम्खिेलमा मटका लस्सीका लागि चर्चित छ । यसअघि नै उनले बानेश्वरमा ‘ट्याक्सी टेकअवे’ र लगनखेलमा जनकपुर लस्सी पसल चलाइसकेका छन् । उनको टेकअवे लस्सीको मटका भर्जन भने झम्सिखेलको पहिलो हो। 

सर्वेन्द्रले भने, ‘हामीले दिने वस्तु एउटै भए पनि ठाउँ अनुसार फरक नाम राखेका हौं ।’ झम्सिखेल, लगनखेल र बानेश्वरको ग्राहकको विशेषतालाई छुट्याएर उनले हरेक आउटलेटको नाम फरक राखेको उनले बताए । रेस्टुरेन्टको क्षेत्रका रूपमा चिनिने झम्सिखेलका ग्राहक तान्न छोटो समयमै मटका टेकअवे सफल भइसकेको छ। 

मटका टेकअवे गएको वैशाखदेखि सञ्चालनमा आएको हो । पहिले भारतमा केही वर्ष बसेर आएका सर्वेन्द्रले त्यहाँ माटाको भाँडामा खानेकुरा खाने चलनले आकर्षित गरेको थियो । उनले भने, ‘केही अध्ययन गरी काठमाडौंमा पनि मटका स्टाइल चल्छ भन्ने लागेपछि बल्ल झम्सिखेलमा खोलेका हौं ।’ झम्सिखेलको मटका टेकअवेले लोकल मार्केटलाई राम्रैसित तानेको उनको अनुभव छ। 

मटका टकअवेमा काम गर्ने सुमन मगरका अनुसार पसलमा नियमित स्थानीय ग्राहक धेरै आउने गरेका छन् । ‘त्यसबाहेक बटुवा ग्राहक पनि मटका देखेर रोकिने गरेका छन्,’ सुमनले भने। 

कुमारीपाटी बस्ने सरस्वती पोखरेल बुधबार दिउँसो टन्टलापुर घाममा असिनपसिन हुँदै मटका टेकअवेमा आइपुगिन् । अनि एक ठूलो मटका कप दही लस्सी किनिन् । लस्सी पिउँदै उनी लागिन् जावलाखेलतिर। 

आउने जाने बाटो यहि पर्ने भएकोले बेलाबेला मटका लस्सी पिउन उनी यहाँ रोकिन्छिन् । ‘धेरै गर्मी भएको बेला यता बाटो पर्दा लस्सी पिउन रोकिन्छु । एक कप लस्सी लिएर पिउँदै बाटो कटेको पत्तै हुन्न ।’ माटोको भाँडामा लस्सी पिउँदा के फरक पर्छ भन्ने कुरा आफूलाई थाहा नभए पनि भाँडा नै सुन्दर लाग्ने भएकोले मटका पिउने गरेको उनले सुनाइन् । 
मटका टेकअवेमा माटाका सानो कपमा दिइने लस्सीको मूल्य ४० र ठूलो कपमा दिइने लस्सीको मूल्य ८० रूपैयाँ तोकिएको छ । उसको मेनुमा मटका सर्वत पनि छ । आइसक्रिम, कोल्ड कफी, स्मुदीज, मिल्क शेक, सोडा जस्ता पेय पदार्थसमेत मेन्युमा भए पनि धेरैको रोजाइमा मटका लस्सी नै पर्ने गरेको मटका टेकअवेका सुमन मगर बताउँछन् । मटका टेकअवेमा जाडो महिनामा चियाकफीको भेराइटी थप्ने योजना रहेको सञ्चालक उनले बताए। 

हुन त माटाको भाँडामा पिउँदा स्वादमा पर्ने फरकबारे जानकार ग्राहक भने कम छन् । यद्यपि, माटाका कपमा पिइने लस्सीको स्वाद सिसा वा अन्य गिलासमा पिइने लस्सीको भन्दा फरक हुने उनी सुनाउँछन्। 

सर्मेन्द्र भन्छन्, ‘माटाको भाँडामा हाल्दा माटोले लस्सीमा रहेको पानीको भाग सोस्छ र त्यसलाई बाक्लो बनाउँछ । त्यसैले यो बढी स्वादिलो हुन्छ ।’ उनका अनुसार माटाको भाँडामा हालेर खाइने चियाको हकमा पनि यहि कुरा लागू हुन्छ । ‘त्यसैले मानिसले माटाको कपमा चिया वा लस्सी पिउँदा बाक्लो र स्वादिलो अनुभव गर्छन्,’ उनले भने। 

मटकाको महŒव बुझेका उपभोक्ता बिस्तारै बढेकाले यसमा व्यवसायको सम्भावना भने धेरै रहेको उनी बताउँछन् । तर, माटाको भाँडा वा कप पाउन भने मुस्किल छ । उनले आफूलाई चाहिने आकारका कप भक्तपुरबाट मगाउने गरेका छन् । उनले भने, ‘माटाको भाँडा बनाउने काम नै गर्न छोडिसके । त्यसैले हामीलाई चाहिनेजस्तो कप भने पाउन सुरुमा सजिलो भएन।’ 

मटका पसलमा एक पटक प्रयोग गरिसकिएको माटाको कप पुनः प्रयोग गरिँदैन । त्यसैले भाँडा धेरै चाहिन्छ, तर भाँडा पाउन गाह्रो छ । माटाको कप वातावरणमैत्री पनि भएकाले यसको उत्पादन र प्रयोग प्रवद्र्धन गरिनुपर्नेमा सर्मेन्द्र जोड दिन्छन्। 

उपत्यकामा माटाका भाँडामा खाइने वस्तुका रूपमा माटाको भाँडामै जमाइएको भक्तपुरको जुजुधौं मात्र चिनिन्थ्यो । अब सहरमा माटाका भाँडामा तातो–चिसो पिउने लहर छाउन थालेको छ। 

मटका चिया ‘टक अफ दि टाउन’ भएको बसन्तपुरमा खुलेको मट्की चायसँगै हो । २०७२ को भूकम्पको केही महिनापछि इनायत साहले जेडवाई मटकी चाय खोलेका हुन् । नेपालमा चिया पिउने संस्कृति सबैतिर रहेकाले चियामा आफूले व्यवसायको सम्भावना देखेको इनायतले बताए। 

बसन्तपुर प्लाजा अगाडि रहेको इनायतको मटकी चाय पसलमा बसेर चिया पिउने टेबल कुर्सी  राखिएको छैन । पसलको पेटीतिर बसेका चिया पिइरहेका हुन्छन्। 

इनायतले भने, ‘हामी चिया कफी मात्र बेच्ने हुनाले आराम गर्ने टेबल कुर्सी राखिएको छैन । अर्काे कुरा, चिया पिउँदै बसन्तपुरको रमाइलो अवलोकनको अवसर दिने पनि हाम्रो विचार हो ।’ जेडवाईका ग्राहक बाहिरपट्टि बिछ्याइएको सुकुलमा बसेर वा उभिएरै मट्की चायको स्वाद लिइरहेका हुन्छन्। 

हरेक जसो नेपाली घरमा रहेको चिया पिउने चलनलाई आफूले परिस्कृत मात्र गरेको इनायत बताउँछन् । भन्छन्, ‘तर, धेरैले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।’ एक कप मटकी चायको मूल्य ५० रूपैयाँ राखिएको छ । केही ग्राहकले मूल्य बढी भएकोमा गुनासो गरे पनि स्वादको प्रशंसा सबैले गरेको इनायतले बताए । उपत्यकाको अन्य ठाउँतिर पनि यस्तै मट्की चाय पसल खोल्ने सोच बनाइरहेको इनायतले बताए । उनले भने, ‘माटाको भाँडामा खाने त मानिसको सबैभन्दा पुरानो संस्कृति हो । त्यसैले मटकी चाय देख्दा जो पनि खुसी हुन्छन् ।’ कसैले स्वादका कारण त कसैले देखासिकीमै पिउनाले मटका चिया सहरमा नयाँ संस्कृतिका रूपमा उदाएको उनको भनाइ छ । ‘माटाका भाँडामा पनि चिया पिउन मिल्छ भन्ने थाहै नभएकाले समेत मट्की मन पराएका छन्,’ उनले भने।   

प्रकाशित: २३ भाद्र २०७४ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App