१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्टेफन्स र केइजबीच फाइनल प्रतिस्पर्धा

न्युयोर्क- तीन महिनाअघिसम्म गम्भीर चोटबाट थलिएका अमेरिकी खेलाडीद्वय स्लोआने स्टेफन्स र म्याडिसन केइजले बिहीबार राति पहिलो पटक ग्रान्ड स्लामको फाइनल प्रवेश गर्ने क्रममा युएस ओपनमा एक-अर्काविरुद्धको उपाधि भिडन्त पक्का गरेका छन् ।

बायाँ खुट्टाको चोटका कारण ११ महिनासम्म कोर्टबाट बाहिर रहेकी स्टेफन्सले जुनमा पुनरागमन जनाएकी थिइन् । पुनरागमनलाई सुखद बनाउने क्रममा उनले बिहीबार सात पटककी ग्रान्ड स्लाम च्याम्पियन भेनस विलियम्समाथि ६–१, ०–६, ७–५ को नतिजामा विजय हासिल गर्दै फाइनलमा स्थान पक्का गरिन् ।

‘ग्रान्ड स्लामको फाइनल पुग्दाको खुसी म अहिले बयान गर्न सक्दिनँ । यत्ति भन्न सक्छु, म आज जीवनमै सबभन्दा खुसी छु,’ स्टेफन्सले भनिन्, ‘यो मेरो घरेलु स्लाम हो । त्यसैले यो मेरा लागि झन् विशेष छ । मेरो विचारमा हरेक खेलाडीको यस्तो उपलब्धि हासिल गर्ने सपना हुन्छ । मेरो पनि थियो ।’

महिलातर्फको सेमिफाइनल पुग्ने सबै चार खेलाडी अमेरिकी थिए । अर्को सेमिफाइनलमा १५औं वरीयताकी केइजले सफलता हासिल गरिन् । फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिएपछि १० महिनाको बीचमा दोस्रो पटक नारीको शल्यक्रिया गराएकी केइजले बिहीबार चोटमाथि जितको क्रमलाई निरन्तरता दिँदै फाइनलमा स्थान पक्का गरिन् । उनले आफ्नै देशकी २०औं वरीयताप्राप्त कोको भान्डेवेघेको चुनौती ६६ मिनेटमा ६–१, ६–१ ले पन्छाइन् ।

२००२ पछि युएस ओपनको फाइनलमा दुवै अमेरिकी खेलाडी पुगेको यो पहिलो पटक हो । १५ वर्षअघि एकै घरका दुई दिदीबहिनी फाइनलका प्रतिस्पर्धी हुँदा बहिनी सेरेना विलियम्सले भेनसमाथि जित हासिल गरेकी थिइन् ।

‘मलाई अहिलेसम्म पनि यो नतिजामाथि विश्वास लागिरहेको छैन । मैले धेरै राम्रो खेलेकी थिएँ । पहिलो पटक युएस ओपनको फाइनल पुग्दा मेरो दिमागमा धेरैथरी कुरा खेलिरहेका छन् । के भनूँ, के भनूँजस्तो भइरहेको छ,’ केइजले भनिन्, ‘म अहिले खुसी व्यक्त गर्न नसक्ने अवस्थामा पुगेकी छु ।’

स्टेफन्स र केइज निकट मित्र हुनाका साथै फेड कपका टिम सहयात्री पनि हुन् । विजेताले ३७ लाख डलर पाउने भएकाले शनिबार आर्थर आशे रंगशालामा हुने खेल स्टेफन्स र केइज दुवैका लागि करियरमा अहिलेसम्मको सबभन्दा ठूलो हुनेछ ।

‘म उनलाई लामो समयदेखि चिन्छु । उनी मेरो सबभन्दा निकट साथीमध्ये एक हुन् । जीवन रहेसम्म हामी निकट मित्र रहिरहनेछौं । यस्तो निकट साथीविरुद्ध खेल्न सहज हुने छैन,’ स्टेफन्सले भनिन् ।

जुनमा स्टेफन्स विश्व टेनिसको मानचित्रमा थिइनन् । जुलाईमा उनी विश्व वरीयताक्रमको ९ सय ५७औं स्थानमा थिइन् । तर त्यसयता खेलेका १६ मध्ये युएस ओपन सेमिफाइनलसहित उनले १४ खेल जितेकी छिन् । यस क्रममा उनी टोरन्टो र सिनसिनाटीमा पनि फाइनल पुगेकी थिइन् ।

‘पछिल्लो समय मेरो यात्रा निकै सुखद रहेको छ । चोटले लगातार सताइरहँदा पनि मैले हार खाइनँ । कडा मिहिनेतलाई निरन्तरता दिइरहेँ,’ उनले भनिन् ।

स्टेफन्सले केइजलाई २०१५ को मायमी ओपनको दोस्रो चरणमा पराजित गरेकी थिइन् । ‘स्टेफन्स कोर्टमा पुनरागमन जनाउन पाउँदा निकै उत्साहित छिन् । उनी विश्व टेनिसको नयाँ स्टारका रूपमा स्थापित भइसकेकी छिन् । युएस ओपनको फाइनलमा हामी दुई खेल्न पाउँदा म पनि निकै उत्साहित भएकी छु,’ केइजले भनिन् ।

प्रकाशित: २४ भाद्र २०७४ ०३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App