coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

क्यान्सरविरुद्ध अभियान चलाउन मःमः पसल

नयाँ बानेश्वरस्थित मःमः संसार रेस्टुराँ पुग्ने अधिकांशलाई त्यो रेस्टुराँ क्यान्सर विरुद्धको अभियान संस्था हो की भन्ने भान हुने गरेको छ । यसको कारण हो– रेस्टुराँको भित्ताभरि लेखिएका क्यान्सरविरुद्धका सन्देश र कुनामा राखिएको डोनेसन बक्स ।

क्यान्सरविरुद्धको अभियानका लागि कोष बनाउन उनले ६ महिनाअघि मात्र मःमः पसल खोलेका हुन् । यसैबाट अभियान लामो समयसम्म टिक्ने उनको विश्वास छ ।

रेस्टुराँ पुग्ने जो कोहीको नजर भित्तामा लेखिएका सन्देशमा जाने गरेको छ । ‘स्टप क्यान्सर’, ‘नो स्मोकिङ’, ‘धूमपानको कारण प्रत्येक दिन १५ हजार मानिसलाई मर्छन्’, ‘क्यान्सरको पीडा एक जनाले मात्र सामना गर्नुपरेको छैन त्यसैले सबै मिलेर क्यान्सर निर्मुल गरौं’लगायत सन्देश भित्तादेखि कम्पाउन्डसम्म लेखिएका छन् ।

क्यान्सरविरुद्धको सचेतनामा सहयोग पु¥याउन मःमः पसल सञ्चालन गरेको सुरेन्द्र श्रेष्ठ बताउँछन् । ‘मःमः पसल खोल्नुको एक मात्र उद्देश्य क्यान्सरविरुद्ध जनचेतना जगाउनु नै हो,’  उनले नागरिकसँग बेलिबिस्तार लगाउँदै भने ।

सञ्चालक श्रेष्ठ रेस्टुराँ मा मःमः खान आउनेलाई धूमपान र क्यान्सरविरुद्ध जनचेतना जगाउने मात्र होइन, मःमःबाट आम्दानी भएको पैसा क्यान्सरविरुद्धको अभियानमा जम्मा समेत गर्छन् । प्रति प्लेटको तीन रूपैयाँ क्यान्सर रोकथामका लागि जम्मा गर्न थालेको उनले बताए ।

रेस्टुराँ को मःमः काउन्टरअघि लेखिएको छ– ‘तपाईंले तिरेको प्रत्येक प्लेट मःमःबाट तीन रूपैया सिधै क्यान्सर रोकथामका लागि’ । उनले यो अभियानमा दैनिक मःमःबाट हजारौं रकम संकलन गर्छन् ।

रेष्टुुराँमा उनले एउटा दान बाकस पनि राखेका छन्– ‘क्यान्सर रोकथामका लागि सहयोग स्वर्णीम एण्ड सिर्जन फाउण्डेसन’ । मःमः पसलमा आउने कतिपय ग्राहकले यो दान बाकसमा रकम समेत सहयोग गर्ने गरेका उनी बताउँछन् ।

क्यान्सरविरुद्ध जनचेतना जगाउन गाउँ–गाउँ तथा स्कुल–स्कुल पुग्ने उनको योजना छ । उनी भन्छन्, ‘अब स्कुल– स्कुल तथा टोल–टोल पुगेर जनचेतना जगाउनु छ,’ उनी भन्छन्, ‘रोगको उपचार सबैभन्दा चुनौती छ ।’

अभियानलाई बलियो बनाउन मःमः पसललाई विकसित बनाएका छन् । यसका लागि उनले चिनियाँ मेसिन राखेका छन् । मेसिनबाट दैनिक हजारौ प्लेट मःमः उत्पादन हुन्छ । राजधानीका नाम चलेका रेस्टुराँ तथा क्याटरिङमा उनले उत्पादन गरेको काँचो मःमःसमेत सप्लाइ हुने गरेको छ ।

‘मेसिनले बनाउने भएकाले मःमः पनि हाइजेनिक छ,’ उनले भने । आवश्यक कच्चा पदार्थ सिधै कम्पनीमा संकलन हुने भएकाले स्वस्थ मःमः उत्पादन हुने गरेको उनको दाबी छ ।

क्यान्सरविरुद्धको अभियानका लागि कोष बनाउन उनले ६ महिनाअघि मात्र मःमः पसल खोलेका हुन् । यसैबाट अभियान लामो समयसम्म टिक्ने उनको विश्वास छ ।

काँचो मःम होस् या पकाएको । जुनसुकैबाट पनि उनले प्रतिप्लेट तीन रूपैयाँ अभियानका लागि छुट्याउने गरेका छन् । 

भक्तपुर, न्युरोड, लाजिम्पाट र चावहिलमा छिट्टै डिलर खोल्ने उनको योजना छ । ‘ती सबै डिलरमा मःमः संसारको लोगो र धूमपान तथा क्यान्सरविरुद्ध सन्देश राखिनेछन्,’ श्रेष्ठले अभियानको योजना सुनाउँदै भने, ‘केही समयपछि नेपालभरका मुख्य सहरमासमेत डिल राख्ने योजना बनाएको छु ।’ ती डिलरमा धूमपान र क्यान्सरविरुद्धका सन्देश लेखिने उनले बताए ।

क्यान्सरविरुद्धको अभियान दीर्घकालीन बनाउन मःमः पसल चलाएको श्रेष्ठका योजना र गतिविधिले देखाउँछ ।

उनले सुरुमा अरुलाई नै मःमः पसल चलाउन दिएका थिए । त्यतिबेला पनि पसलमा धूमपान र क्यान्सरविरुद्धका सन्देश राखिएका थिए । मःमःसँगै चिया र चुरोटको चुस्की लिन आएका ग्राहक ढोकैमा राखिएका सन्देश देखेपछि भित्रै नपसी फर्किन्थे । ग्राहक फर्किन थालेपछि ती पसल सञ्चालकले श्रेष्ठलाई नै जिम्मा लगाए ।

त्यसपछि श्रेष्ठले नै पसल चलाउन थाले । उनलाई चुरोट पिउने ग्राहक फर्केकोमा कुने पछुतो पनि छैन । मःमः बेच्ने उनीसँग अनेक उपाय छन् । ‘ग्राहक फर्केर गएका पनि छन्, यहाँ बिक्री नभएर चिन्ता छैन, अन्त बिक्री हुन्छ ’ उनले भने ।

उनी न स्वास्थ्यकर्मी हुन् न त उनको स्वास्थ्य संस्था नै छ । तैपनि श्रेष्ठ किन क्यान्सरविरुद्धको अभियानमा सक्रिय भए त ? यसको पछाडि उनको वियोगान्त विगत छ । जसलाई यो परिवारले वर्षाै बित्दा समेत बिर्सन सकेको छैन ।

त्यही वियोग भुल्न उनले अनेक सहारा लिँदै आएका छन् । त्यही सहारा मध्येकै एउटा माध्यम हो– ‘स्वर्णीम एण्ड सिर्जन फाउण्डेसन’ । यो क्यान्सरविरुद्ध अभियान चलाउने संस्था हो । फाउन्डेसन वर्षाैअघि ज्यान गुमाएका दुई छोराको सम्झनामा राखिएको हो । जेठा स्वर्णीम र कान्छा सिर्जन श्रेष्ठ । श्रेष्ठ परिवारले उनीहरूलाई पालैसँग गुमाएको थियो ।

स्वर्णीमको १८ वर्षअघि सडक दुर्घटनामा ज्यान गएको थियो । त्यसको आठ वर्षपछि कान्छा सिर्जनलाई पनि श्रेष्ठ परिवारले गुमायो । उनको मृत्यु ब्लड क्यान्सरबाट भएको थियो ।

स्वर्णीमको मृत्युपछि सिर्जन जन्मिएका थिए । उनी जन्मिएपछि श्रेष्ठ परिवारलाई जेठो छोरा गुमाएको पीडा भुल्न केही सहज भएको थियो । तर, जन्मेको केही समयपछि बिरामी परे । उपचार गराउँदा उनलाई ब्लड क्यान्सर देखियो । छोराको उपचारका लागि श्रेष्ठले भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालसम्म पु¥याए । तर, रोग सन्चो हुन सकेन ।

छोराको उपचारका लागि रामदेवकहाँ पनि गए । त्यहाँबाट पनि केही सुधार भएन । अन्तिममा भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदा–गराउँदै मृत्यु भयो । ‘त्यसपछि घर फर्किनै मन लागेन,’ पत्नी कल्पनाले भनिन् ।

घरजम, व्यवसाय भएको पुरानो घर हेटौडा फर्किन आँट नै भएन । पत्नीको पीडा बुझेका श्रेष्ठले थातथलो व्यापार सबै बेचेर १० वर्षअघि राजधानी छिेर । ‘हेटौडामा मलाई सजिलो थियो, व्यवसाय स्थापित भइसकेको थियो, यहाँ सबै कुरा जिरोबाट सुरु गर्नुप¥यो,’ उनले संघर्षका दिन सम्झिँदै भने ।

हेटौडामा अफसेट पे्रस, युनिलिभर कम्पनीको उत्पादन नेपालभर पु¥याउने ट्रान्सपोर्ट कम्पनीले श्रेष्ठ परिवारलाई मनग्गे पुग्थ्यो । ती सबै छाडेर काठमाडौंलाई कर्मथलो बनाए । छोराहरूको सम्झना गर्न माध्यम बनेको छ, क्यान्सरविरुद्धको सचेतना अभियान ।

यसअघि व्यक्तिगत या क्लबमार्फत विभिन्न गतिविधि गर्दै आएका थिए । तर, त्यसले क्यान्सरमा खास योगदान पुग्ने उनले देखेनन् । र, उनमा यसलाई दिगो रूप दिने सोच पलायो । ६ महिनाअघि फाउन्डेसन स्थापना गरे ।

फाउण्डेसनमा स्वर्णीम एण्ड सिर्जन अवार्ड छ । यो अवधिमा उनीहरू विभिन्न सम्बन्धित संस्थासँग मिलेर क्यान्सरविरुद्धको जनचेतना थालेका छन् । यसै वर्ष फाउण्डेसनमार्फत मकवानपुरकी एक वनकरिया छात्रालाई जेटिए अध्ययनका लागि ७५ हजार रूपैयाँ छात्रावृत्ति दिएका छन् । यति मात्र होइन, उनी क्यान्सरपीडित परिवारलाई सहयोग गरिरहेका छन् ।

श्रेष्ठ परिवारलाई क्यान्सरले दिएको पीडा कम्ति दुःखदायी थिएन । तर, पीडासँगै उनलाई क्यान्सरले शिक्षा पनि दिएको छ । आनीबानी सुुधारे क्यान्सरबाट बच्न सकिन्छ भन्ने शिक्षा पाएका छन् । यो शिक्षा उनी अरुको भलाइमा प्रयोग गर्न चाहान्छन् । त्यसैले त उनी क्यान्सरविरुद्धको सचेतना बाँड्न थालेका छन् । ‘क्यान्सरविरुद्धको सचेतनाका लागि केही गरुँ भनेर कार्यक्रम चलाइरहेको छु,’ उनी भन्छन् ।

प्रकाशित: २४ भाद्र २०७४ ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App