संगीता दाहाल
सबैको ध्यान सार्वजनिक व्यक्तित्वपट्टि हुन्छ । तर त्यो व्यक्तित्व निर्माणपछाडि के कतिको हात थियो भन्ने गौण हुन जान्छ । कसैलाई व्यक्तित्व बन्न सघाउनेहरू सबैको इतिहासमा चर्चा नहुन सक्छ ।
साहित्यकार पारिजातको सफलताको पछाडि उनकी बहिनी सुकन्या, ज्वाइँ निर्मल लामा र परिवारजनको जति हात छ, त्यसै मात्रामा नभए पनि नेपथ्यमा रहेकी इन्दिरा दलीको कम सहयोग थिएन भनिन्छ । पारिजातकी विद्यार्थी दलीले आफ्नो शिष्यत्व धर्म पारिजातको जीवनपर्यन्त निर्वाह गरिन् । पारिजातले पनि उनलाई उत्तिकै स्नेहभाव देखाइरहिन् । अपनत्वको शीतल छाया दिइराखिन् । दुवै एक–अर्काको सुख–दुःखमा अभिन्न रहे । दली निष्काम कर्मी थिइन् । त्यसलाई विज्ञापन बनाइनन् । सामाजिक जस वा श्रेय लिनबाट टाढा बसिन् ।
स्मरणीय रहोस्, दलीकी आमा गुहेश्वरी पनि पारिजातकी विद्यार्थी थिइन् ।
उनको बारेमा विश्वेश्वरले भनेका छन्, ‘कलकत्ताकै मेरो प्रवासमा एउटा महात्माको पनि सान्निध्यमा पुगेँ, जो पछिसम्म हाम्रो परिवारको एउटा सम्मानित सदस्यजस्तो भएर हामीसँग जोडिइरहनुभयो । वहाँलाई हामी बाबुसाहेब भन्थ्यौँ । आजकल वहाँ बिन्ध्याञ्चल पर्वतको एउटा गुफामा सर्वबन्ध्या महात्मा भएर निवास गर्नुहुन्छ रे ।’
त्यस्तै, विश्वेश्वर का पिताजी कृष्णप्रसाद कोइराला तत्कालीन नेपालका प्रधानमन्त्री चन्द्र शमशेरको कोपमा परे । उनको सर्वस्वहरण भयो । परिवारसहित भारतमा निर्वासित जीवन बिताउन बाध्य भए । त्यसकालको सम्झना गर्दै विश्वेश्वर ले भनेका छन्, ‘हामीहरूको सर्वस्व सरकारले हरण ग¥यो । हामीले सर्वहारा भएर विदेशमा निर्वासित हुनुप¥यो ।’ (आफ्नो कथा) । त्यसकालको भोक्ता पात्रहरू कोइराला परिवारमा केही बाँकी छन् वा छैनन् ? यो पंक्तिकारलाई थाहा छैन । अहिलेका कोइराला पुस्ताका लागि आफ्नो पूर्खा कृष्णप्रसाद कोइरालालाई परेको संकटावस्था एउटा मिथक वा दन्त्यकथाजस्तो पनि लाग्न सक्छ ।
बनारसमा निर्वासित जीवन बिताइराखेका कृष्णप्रसाद एक्ला थिएनन् । परिवारजनको संख्या ४० भन्दा माथि थियो भनिन्छ । आर्थिक उपार्जन लगभग शून्य अवस्थामा थियो । त्यस कालखण्डको स्मरण गर्दै विश्वेश्वर ले लेखेका छन्,
‘त्यत्रो ठूलो परिवारका लागि भातदाल जुटाउन गाह्रो पथ्र्यो क्यारे, त्यसैले हामीहरू भिजाएको चना एक छाक खाएर गुजारा गथ्र्यौं । घरको ठूलो छतमा हाम्रो पंक्ति लाग्थ्यो । आमाहरू माटाको गाग्रीमा फुलाएको चना ल्याउनुहुन्थ्यो र बाँड्नुहुन्थ्यो ।’ (आफ्नो कथा)
परिवारजनलाई बनारसमै छाडेर आर्थिक उपार्जनका लागि कलकत्ता जाने निर्णय कोइरालाले गर्छन् । विश्वेश्वर ले लेखेका छन्, ‘पिताजी पनि एक दिन आर्थिक कठिनाईले असह्य भएर कामको खोजीमा कलकत्ता हिँड्नुभयो । जाने बखत आमालाई भन्नुभयो– रुपियाँ कमाएर नै अब फर्कन्छु ।’ निर्वासनमा जानुअघि व्यापार गर्ने कोइरालाका कलकत्तामा व्यापारिक सम्बन्धका मित्र थिए । उनीहरूकै भरोसामा कलकत्ता गएका कोइरालाका मित्रहरू पूर्व अवस्थाका थिएनन् । महाभारतका पात्र कृष्ण र सुदामाको जस्तो मित्रताको आभास उनलाई भएन । राजा द्रूपद र द्रोणाचार्यको जस्तो भयो । मित्रता त समानबीच हुन्छ, असमानका बीचमा हुँदैन भन्ने द्रूपदको धारणा कोइरालामा पनि लागू हुन्छ त्यसबेला ।
कोइरालाको व्यापारिक मित्रहरू विमुख हुन्छन् । त्यसैले विश्वेश्वर ले भनेका छन्, ‘वहाँको धेरैजसो मित्रहरूलाई वहाँसँग भेट्ने फुर्सद थिएन । ...बडो व्यावहारिक सल्लाह पनि दिए । खरदारसाहेब आपको अपनी सरकारका साथ झगडना नही चाहिए, माफी मागकर लौट जाइए ।’ अझ अगाडि लेख्छन्, ‘पिताजीको राजनीतिक विश्वासका कुरा सुन्ने उनीहरूलाई फुर्सद थिएन । पिताजीको टेकलाई बुझ्न सक्ने हृदय नै । हात जोडेर पिताजीलाई बिदा गर्दै उनीहरूले भने, ‘व्यापारीको न राजनीति मे लगना चाहिए, न टेक ही रखना चाहिए, खरदारसाहेब ।’ पिताजीले भन्नुभयो कि वहाँ त्यस्तो व्यापारी होइन । त्यसमा उनीहरूको कुरा टुंगिएको हुन्थ्यो । हम तो व्यापारी ठहरे ।’ (आफ्नो कथा) । कलकत्ताको भीडमा एक्ला कोइराला नांगो गोडा लिएर सडकमा भौँतारिए । बनारसमा छाडेर आएको आफ्नो परिवारको चिन्ता उनका लागि अझ पेचिलो थियो । अन्नतः केही नलागेपछि काली स्तुति गर्न लाग्छन् आर्त र थकित हृदयले ।
त्यस अवस्थालाई सम्बोधन गर्दै विश्वेश्वरले लेखेका छन्, ‘एक दिन सन्ध्याको आरतीको समयमा भवानीपुरम्बाट फर्की आएर कलकत्ताको प्रसिद्ध ठनठनिया कालीको प्रांगणमा उभिएर पिताजीले पीडाको करुण स्वरमा काली स्तुति, चण्डी पाठ, मुक्तकण्ठले गाउनुभयो । चण्डीको त्यस्तो प्राञ्जल पाठ, श्लोकको त्यस्तो सुसंस्कृत उच्चारण र निर्दोष स्वर, आवृत्ति र स्तवनको त्यस्तो करुणा भावबाट प्रभावित भइरहेका थिए । पिताजीकै पछि उभिएका कालीका अर्का भक्त प्रसिद्ध कान्तिकारी भूपेन्द्रनाथदत्त जो विवेकानन्दका भाइ थिए ।’ (ऐ ऐ ८८) ।
काली उपासक विवेकानन्दको परिवारमा पनि उनका कानुन व्यवसायी पिताको मृत्युपछि आर्थिक संकट परेको थियो । उनका गुरु रामकृष्ण परमहंशले कालीसँग माग्न र भन्न सुझाएका थिए भन्ने विवेकानन्दको जीवनी पढ्ने जो कोहीलाई थाहा हुन्छ । त्यसैले कालीको स्तुति सुनिराखेका भूपेन्द्रनाथको मन पग्लिन्छ । उनले कृष्णप्रसादको काँधमा हात राख्दै भन्छन्– विश्वेश्वरको शब्दमा ‘मलाई लाग्छ, तिमीलाई कुनै महान् व्यथा छ ।’ कोइरालालाई आफ्नो डेरामा लैजान्छन् । व्यथा–कथा सुन्छन् । त्यसपछि उनले कोइरालालाई निषेधित पर्चा ओसार–प्रसार गर्ने काम दिन्छन् । त्यस्तै, अखबार र अन्य कागजपत्र लगायत सानातिना हातहतियार एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम दिन्छन् । यसले खानाको व्यवस्था भए पनि बनारसमा रहेका परिवारलाई सहयोग पुग्दैनथ्यो । त्यसैले अर्को व्यवसाय र रोजगारको खोजीमा लाग्छन् ।
त्यसपछि कोइराला एउटा पसलेसँग सम्झौता गरेर पसलको सानातिना माल ठूलो किस्तीमा राखेर कलकत्ताको गल्लीमा फेरी लगाउँदै बेच्न थाल्छन् । कोइरालाको त्यस बेलाको स्थितिको चित्रण गर्दै विश्वेश्वरले लेखेका छन्, ‘कहिले देब्रे पाखुरामा माला–गंडा, फिता, चेनहरू प्रदर्शनका खातिर झुन्डाउँदै सडकका मोड–मोडमा उभिएर या दगुरिरहेका ट्राम गाडीमा सफाइका साथ चढेर जरैदेखि व्यापार गर्न थाल्नुभयो ।’ यो पनि दिगो भएन । पसलेले सुकुमार कोइरालाबाट त्यस्तो व्यापार गर्न सक्ने सम्भावना देख्दैन । उनलाई बिदा गर्छ ।
रातले उज्यालो देख्न पाउँदैन । उज्यालोले निस्पट्ट अन्धकारको अनुभूति गरेको हुँदैन । यो शाश्वत सत्य भए पनि समयचक्र एउटै गतिमा हिँड्दैन । रातपछि उज्यालो र उज्यालोपछि रात हुन्छ । त्यसपछि कोइरालाको जीवनमा एक महात्मा पुरुषको प्रवेश हुन्छ । उनलाई सबैले बाबुसाहेब भन्ने गरेको विश्वेश्वरको आफ्नो कथा, आत्मवृत्तान्तमा मात्र नभएर मातृकाप्रसाद कोइरालाको लेखनमा समेत पाइन्छ । उनको बारेमा विश्वेश्वरले भनेका छन्, ‘कलकत्ताकै मेरो प्रवासमा एउटा महात्माको पनि सान्निध्यमा पुगेँ, जो पछिसम्म हाम्रो परिवारको एउटा सम्मानित सदस्यजस्तो भएर हामीसँग जोडिइरहनुभयो । वहाँलाई हामी बाबुसाहेब भन्थ्यौँ । आजकल वहाँ बिन्ध्याञ्चल पर्वतको एउटा गुफामा सर्वबन्ध्या महात्मा भएर निवास गर्नुहुन्छ रे । मानिसको स्वभावमा देवत्वको लक्षण वहाँमा जति असंदिग्ध रूपले प्रकट हुन्थ्यो, त्यति मैले अरु कसैमा पाइनँ । संसारका प्रतिको निर्मोहले मानिसलाई अनिवार्य रूपले असामाजिक बनाउँछ भन्ने साधारण विश्वास वहाँको सत्संग गरेपछि फुट्टा हुन्थ्यो ।’ (ऐ ऐ)
तिनै बाबुसाहेब कोइराला परिवारको आधार र टेको बन्छन् । विश्वेश्वरका अनुसार उनी जंगबहादुरको छोरीका छोरा थिए । उनको परिवारको सम्पत्ति जति सिद्धिँदै गए पनि उनलाई पुग्दो थियो । उनको लालनपालन हिन्दूस्थानको एउटा महाराजकोमा भएको थियो । उनको दिदीको विवाह उडिसाको कुनै सानो स्टेटको राजासँग भएको थियो । दिदी–भिनाजु दुवैको मृत्यु भइसकेको थियो । बाबुसाहेबले बाबुआमा गुमाएका टुहुरा नाबालक भानिजका लागि आफ्नो भएभरको सम्पत्ति छुट्याइदिएका थिए । मानिसलाई तत्काल आवश्यकता नपर्ने, त्यो चलाएर पछि उनी साबालक भएपछि फिर्ता दिनु भनेर कृष्णप्रसाद कोइरालालाई भन्छन् । उनकै सहयोगमा अन्ततः भारतको भागलपुर हालको सहर्सा जिल्लाको टेडी दीपनगरमा व्यवस्थित भएर कोइराला परिवार बस्न पुग्छ ।
तिनै बाबुसाहेबबारे मातृकाप्रसाद कोइरालाले लेखेका छन्, ‘उहाँ एक प्रगाढ विद्वान्, अनेक भाषाभाषीका ज्ञाता, ऋषिवत् सत्पुरष हुनुहुन्थ्यो र उहाँको सादा तपोमय जीवन हाम्रो (मेरो र विश्वेश्वरको विचारमा ठूलो प्रेरणाको स्रोत रहेको छ । हामी उहाँलाई बाबुसाहेब भनी सम्बोधन गर्दथ्यौँ र हामीभन्दा माथिकाले पनि । हाम्रो परिवारसित एकै जहानजस्तो पछिसम्म बसउठ पनि भयो । हुन त उहाँ युवाकालदेखि नै बालब्रह्मचारी तपस्वी हुनुुहुन्थ्यो तर उहाँ ठूलो साधनाबाट लोकपुज्य महात्मा र महर्षि हुनुभयो । (मातृका बाबु चिन्तन र स्मृति– सम्पादक जीवनचन्द्र कोइराला पृष्ठ २९) ।
विश्वेश्वरको राजनीतिक दार्शनिक चिन्तन प्रजातान्त्रिक समाजवाद, साहित्यिक योगदान, मेलमिलापको नीतिबारे चर्चा–परिचर्चा भइराख्ने गरेको छ । तर उनीहरूको परिवारको पीडामा मलम लगाउने पात्रबारे कहीँ उठान भएको पाइँदैन । आफ्नो र बिरानो भनेको परिस्थितिले चिनाउने हो । लडेका बेला जो उठाउन आउँछ, त्यो आफ्नो हो । तर सामाजिक व्यवहारमा लडेका बेला उठाउने होइन, रमिता हेर्ने बढी हुन्छन् । अपवादमा मात्र उठाउने फेला पर्छन् । बाबुसाहेब पनि कोइराला परिवारलाई माथि उठाउने त्यस्तै अज्ञात पात्र हुन् ।
प्रकाशित: २४ भाद्र २०७४ ०५:३८ शनिबार