coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भुक्तानी गर्न अवैध सुन प्रयोग

काठमाडौं- पहेंलो धातु सुनको अवैध कारोबार फस्टाउनुमा भन्सारमा हुने न्यून बिजकीरण एउटा प्रमुख कारण रहेको सरकारी अधिकारीहरुले बताएका छन् । भारतबाट नेपालमा सामान ल्याउँदा भन्सारमा न्यून बिजकीकरण गर्ने व्यवसायीले सामानको भुक्तानी पठाउन सुन प्रयोग गर्दै आएको ती अधिकारीहरुको भनाइ छ ।

‘भारतबाट सामान ल्याउँदा भन्सारमा सही मूल्य घोषणा नगर्ने व्यवसायीले त्यसको भुक्तानी सुन र हुन्डीमार्फत गर्दै आएका छन्,’ अर्थ मन्त्रालयका ती अधिकारीले शनिबार नागरिकसँग भने, ‘यो प्रचलन पञ्चायतकालदेखिकै हो ।’

उनले तेस्रो मुलुकबाट सामान ल्याउँदा भन्सारमा न्यून बिजकीकरण गर्ने व्यवसायीले हुन्डीमार्फत भुक्तानी गर्दै आएको जानकारी दिए ।

अर्थ मन्त्रालयका ती अधिकारीले उदाहरण दिँदै भने, ‘सय रुपैयाँमा खरिद गरेको सामानको मूल्य भन्सारमा १० रुपैयाँ घोषणा गर्ने व्यवसायीलाई विदेशमा भुक्तानी गर्न सरकारले त्यही १० रुपैयाँ नै दिन्छ । घोषणा नगरिएको ९० रुपैयाँ भुक्तानी गर्न व्यवसायीहरुले सुन वा हुन्डी प्रयोग गर्दै आएका छन् ।’

विश्व व्यापार संगठनको सदस्य भएको नाताले सरकारले भन्सारमा व्यवसायीले घोषणा गरेको मूल्य यही होइन भनेर बढी बार्गेनिङ गर्न सक्दैन । व्यवसायीले घोषणा गरेको मूल्यलाई मान्यता दिनुपर्ने व्यवस्था संगठनले गरेको छ ।

राजस्व सचिव शिशिरकुमार ढुंगानाले पनि भन्सारमा न्यून बिजकीकरणको समस्या रहँदै आएको जानकारी दिँदै व्यवसायीको सफा नियत नहुँदासम्म यो समस्या पूर्ण रुपमा हल हुन नसक्ने बताए ।

न्यून मूल्य राखेर सामान ल्याउने व्यवसायीको हिसाब पूर्ण रुपमा सरकारले हेर्न सके यो समस्या नरहने अर्थका ती अधिकारीको भनाइ छ । ‘न्यून बिजकीकरण गरेर सामान ल्याउने व्यवसायीको कारोबार सरकारले हेर्ने हो भने उनीहरुलाई भन्सार छल्नुभन्दा बढी घाटा हुन्छ,’ ती अधिकारीले भने, ‘अहिलेको मूल समस्या न्यून बिजकीकरण भन्दा पनि व्यापारिक कारोबार पूर्णरुपमा सरकारले हेर्न नसक्नु हो ।’

ती अधिकारीका अनुसार सय रुपैयाँमा किनेको र १० रुपैयाँ भन्सारमा मूल्य तोकेको सामानलाई व्यापारीले पाँच सय रुपैयाँमा बिक्री गरेको देखाए उसको नाफा ४ सय ९० रुपैयाँ देखिन्छ । व्यापारीले नाफा देखिएको चार सय ९० रुपैयाँको १३ प्रतिशत भ्याट तिर्नुपर्छ । साथै व्यापारिक कारोबारबाट हुने खुद नाफाबाट पनि ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ । सरकारले व्यवसायीको सही कारोबार हेर्न सके भन्सारमा न्यून मूल्य घोषणा गर्नुभन्दा भ्याट र आयकर तिर्दा बढी रकम लाग्ने हुनाले न्यून बिजकीकरणको समस्या नरहने ती अधिकारीले बताए ।

अर्कोतिर भारतबाट हुने अवैध व्यापारको भुक्तानी पनि सुन र हुन्डीमार्फत नै हुने गरेको छ ।  नेपालको कुल आयात व्यापारमा भारतबाट आउने सामान करिब ७० प्रतिशत छ । गत वर्ष नेपाली व्यवसायीले ६ खर्ब रुपैयाँ भन्दा बढीका सामान नेपाल ल्याएको देखिन्छ । यो औपचारिक रुपमा आयात भएको तथ्यांक हो । नेपाल र भारतबीच हुने कुल व्यापारको ३३ प्रतिशतभन्दा बढी व्यापार अवैध रुपमा हुने अनुमान सरकारको छ ।

‘वैध व्यापारमा हुने न्यून बिजकीकरणको हिस्सा र अवैध व्यापारको सबै भुक्तानी सुन र हुन्डीमार्फत भइरहेको छ,’ अर्थका ती अधिकारीले भने ।

भन्सार विभागका एक उच्च अधिकारीले सुनको सानो परिमाणमा पनि ठूलो रकमको भुक्तानी गर्न सकिने भएकाले व्यवसायी यसतर्फ आकर्षित भएको जानकारी दिए । ‘एक किलो सुनमार्फत भुक्तानी गर्दा आधा करोडभन्दा बढी रुपैयाँ तिर्न सकिन्छ,’ ती अधिकारीले भने, ‘हुन्डी बाहेक यति धेरै रकम विदेश पठाउन त्यत्ति सजिलो छैन । त्यसैले व्यवसायी सुनमार्फत भुक्तानी गर्न आकर्षित भएका हुन् ।’

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले पनि विगतमा जस्तै अवैधानिक बाटोबाट गरिएको व्यापारको भुक्तानीका लागि सुन प्रयोग भएको हुन सक्ने बताए । वैधानिक (प्रतित पत्र, टिटीलगायत) माध्यमबाट सामान आयात गर्ने व्यवसायीलाई राष्ट्र बैंकले भुक्तानीको व्यवस्था गर्दै आएको छ । राष्ट्र बैंकले व्यवसायीले भन्सारमा घोषणा गरेको मूल्यलाई आधार मानेर मात्र भुक्तानी सुविधा दिन्छ ।

सुन कारोबारमा संलग्न व्यवसायीका अनुसार सुनको अवैध व्यापार बढनुमा अर्को प्रमुख कारण यसबाट हुने नाफा हो । अहिले भन्सार छलेर सुन ल्याउँदा प्रतिकिलो चार लाख २० हजार रुपैयाँ नाफा हुन्छ । यसले पनि अवैध कारोबारलाई प्रश्रय दिएको हो । सरकारले प्रति दसग्राम सुनमा चार हजार दुई सय रुपैयाँ भन्सार महसुल तोकेको छ ।

अवैध बाटोबाट सुनको कारोबार भएकाले सरकारले यसको आयातमा प्रत्येक वर्ष कडाइ गर्दै आएको छ । अहिले सरकारले सुन आयातका लागि बैंकहरुलाई मात्र इजाजत दिने व्यवस्था गरेको छ । अहिले वैधानिक रुपमा कुनै पनि व्यापारीले सुन आयात गर्न पाउँदैनन् । यस्तै विदेशबाट आउने व्यक्तिले ५० ग्रामसम्म सुन ल्याउँदा भन्सार छुट पाउने व्यवस्था रहेकामा सरकारले यो व्यवसायलाई पनि हटाएको छ । अहिले पाँच तोलासम्मका गहनामात्र ल्याउन पाउने व्यवस्था छ ।     

सुनको अवैध कारोबार बढ्नुमा यसमा भएको नाफासँगै भारतीय बजार पनि हो । पूर्वअध्यक्ष शाक्यका अनुसार भारतमा वार्षिक १२ सय टन सुन माग छ । भारतले अहिले वैधानिक आपूर्ति ६ सय टन पनि गरेको छैन । त्यहाँ मागको तुलनामा आपूर्ति पर्याप्त नभएकाले छिमेकी मुलुकहरुबाट चोरी तस्करी भएर जाने गरेको छ । संसारमै धेरै सुन खपत हुने मुलुकमा भारत पर्छ ।

‘भारतीय बजारको माग पूर्ति गर्न पनि यहाँबाट सुन गइरहेको अनुमान गर्न सकिन्छ,’ शाक्यले सनिबार नागरिकसँग भने ‘केही समयदेखिका सुन फेला परेका शृंखलाले यस्तै देखाउँछ ।’ शाक्यले यति धेरै सुन नेपाली बजारका लागि आवश्यक नभएको जानकारी दिए । भारतले अहिले वैधानिक रुपमा एक परिवारका लागि ६ सय ५० ग्राम मात्र सुन राख्न पाउने व्यवस्था गरेकाले पनि त्यहाँ अवैधानिक बजार फस्टाएको छ ।

शाक्यका अनुसार नेपालमा अवैध रुपबाट भित्रिने सुन धेरैजसो उत्तरी छिमेकी चीनबाट आउने गरेको छ । पहिले खासा–तातोपानी मार्ग भएर बढी सुन आउने गरेकामा अहिले केरुङ–रसुवा मार्ग प्रयोग हुन थालेको पछिल्ला घटनाहरुले देखाएको उनले बताए । चार दिनअघि मात्र रसुवा नाका हुँदै ८८ किलो सुन नेपाल भित्रिएको थियो ।

प्रकाशित: २५ भाद्र २०७४ ०५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App