८ वैशाख २०८१ शनिबार
खेल

शंखमूल फुटसललाई उपाधि

काठमाडौं– किक अफ फुटसललाई पराजित गर्दै शंखमूल फुटसलले अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक आयोजना गरेको राष्ट्रिय फुटसल लिगको उपाधि जितेको छ ।

 आइतबार बाँसबारीस्थित चउर रिक्रिएसन सेन्टरमा सम्पन्न फाइनलमा शंखमूल फुटसलले किकअफ फुटसललाई ५–४ ले पराजित गरेको हो ।

शंखमूलको जितमा सुरज राउत (१७,२१) ले दुई गोल गरेका थिए । त्यस्तै अभय राना (२०), अनिश श्रेष्ठ(२१) र निर्मल गुरुङ (३६) ले समान एक गोल गरे ।

किक अफका सुमन डंगोल (१५, २९) ले दुई, मणि लामा (२३) र रोजिन पौडेल (४०) ले समान एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

विजेता शंखमूलले पाँच लाख रुपैयाँ र उपविजेता किकअफले २ लाख ५० हजार रुपैयाँ हात पारे ।
 शंखमूलका सुरज राउत प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित हुदा शंखमूलकै अनिश श्रेष्ठ उत्कृष्ट गोलकिपर र प्रकाश परियार उत्कृष्ट प्रशिक्षक भए । त्यस्तै किकअफका रोजिन शाही उत्कृष्ट रक्षक र सामाखुसी फुटसलका विनोद गुरुङ उदीयमान खेलाडी घोषित भए । सबै विधाका खेलाडीले समान २० हजार रुपैयाँ हात पारे ।

शुक्रबार भएको सेमिफाइनलमा शंखमूलले सामाखुसी फुटसललाई ८–२ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने किकअफले फुटसल भिलेजलाई हराउँदै शंखमूलसँगको उपाधि भिडन्त पक्का गरेको हो । 

एन्फाले इरानमा हुने एएससी फुटसल च्याम्पियनसिप छनोट प्रतियोगितामा जाने खेलाडी छान्नका लागि प्रतियोगिताको आयोजना गरेको हो ।

 छनोट प्रतियोगिता अक्टोबर १३ देखि २२ सम्म  हुनेछ । 

 

प्रकाशित: २६ भाद्र २०७४ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App