सवा ३ अर्बको मर्मत परियोजना कागजमै

सोमबार, २६ भदौ २०७४, १२ : ५१ सुशील भट्टराई  | @sushbhattarai


काठमाडौं – मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मत गरी थप बलियो बनाउन साढे दुई वर्षअघि एउटा नयाँ परियोजना घोषणा गरियो । विमानस्थल व्यवस्थापनले यसका लागि ३ अर्ब ३० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गर्‍यो । 

योजनाअनुसार आर्थिक वर्ष २०७१÷७२ मा परामर्शदता नियुक्ति लगायत काम गर्न १ अर्ब रुपैयाँ विनियोजन पनि भयो र त्यसैगरी काम अगाडि बढ्यो । परामर्शदाता नियुक्तिपछि मर्मतसम्भारमा ‘एक थोपा’ काम नहुँदा धावनमार्ग उप्किएर विमानस्थलै बन्द गर्नुपरेको धेरै पटक भइसकेको छ । यसबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान–अवतरणमा गम्भीर प्रभाव परेको छँदै छ, त्यसमाथि विश्वभर नेपालबारे नकारात्मक सन्देश प्रवाह पनि भइरहेको छ । पूर्णमर्मत भनेको एकदेखि डेढ मिटर गहिरो खनेर धावनमार्गमा नयाँ निर्माण सामग्री हालेर मर्मत गर्ने काम हो।  

समयमा योजना सुरु नहुँदाको परिणामस्वरूप शनिबार (भदौ २४) दिउँसो ४०÷४० मिनेट गरी दुई पटक त्रिभुवन विमानस्थल पूर्णरूपमा बन्द हुन पुग्यो । जसका कारण आन्तरिक उडान तीन घन्टासम्म ‘डिले’ भए भने अन्तर्राष्ट्रिय उडान पनि एकदेखि दुई घन्टासम्म डिले भए । अघिल्लो दिन शुक्रबार पनि धावनमार्ग उप्किँदा यस्तै गरी विमानस्थल बन्द हुन पुगेको थियो। 

सम्बद्ध अधिकारीका अनुसार शुक्रबार र शनिबार उत्तरी भेग (बौद्ध) र दक्षिणी भेग (कोटेश्वर) पट्टि ठाउँ–ठाउँमा धावनमार्ग उप्किएका थिए । कतै दुई इन्च गहिरो र एक फिट गोलाकार र कतै तीन इन्च गहिराइ र दुई फिट गोलाकारमा धावनमार्ग उप्किएका थिए । त्यसलाई तुरुन्तै मर्मत गरेर टाल्न झन्डै एक घन्टा लागेको थियो । एकापट्टिको काम सकिएको केही समयपछि पुनः अर्काेतिर उप्किएपछि थप समस्या आएको थियो । पार्किङबाट जहाज धावनमार्ग जाने बाटो ‘ट्याक्सीवे’ मा पनि अधिकांश भाग उप्किएका छन्। 

‘त्रिभुवन विमानस्थलको धावनमार्ग असाध्यै जीर्ण भइसकेको छ,’ त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीले आइतबार नागरिकसँग भने, ‘समयमै काम सुरु गर्न नसक्दा यस्तो समस्या आएकोआयै छ तर अहिलेसम्म किन काम अगाडि बढ्न नसकेको हो हामीले भेउ पाउन सकेका छैनौं ।’   

उनका अनुसार शनिबार विमानस्थल बन्द हुँदा भारतबाट आएको जेट एयरवेजको जहाज केही समय ‘होल्ड’ गरे पनि विमानस्थल नखुलेपछि बनारस ‘डाइभर्ट’ भएको थियो । नेपाल वायुसेवा निगमसहित अन्य धेरै विदेशी वायुसेवा धेरैबेर होल्ड गरेका थिए । मुलुकका विभिन्न भेगबाट काठमाडौं आएका सम्पूर्ण आन्तरिक उडान उतै डाइभर्ट भएका थिए ।   

त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक निकाय मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण हो । परामर्शदाता नियुक्त भएर टेन्डर आह्वान गर्ने तयारी भए पनि प्राधिकरण सञ्चालक समितिले स्वीकृति नदिँदा धावनमार्ग मर्मतको काम रोकिएको सम्बद्ध अधिकारीले बताए । 

‘यसअघि तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तीन महिना मन्त्रीबिहीन हुँदा काम रोकियो र अहिले मन्त्री नियुक्त भए पनि तेस्रो चरणको स्थानीय तह चुनाव आएका कारण फेरि काम रोकिने अवस्था छ ।’ प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पर्यटन मन्त्री रहने प्रावधान छ । 

‘धावनमार्ग मर्मतको काम तुरुन्तै सुरु भयो भने पनि पूरा हुन १८ दखि १९ महिना लाग्छ,’ ती अधिकारीले भने, ‘अनि त्यति अवधिसम्म कतिपल्ट धावनमार्ग उप्किएर विमानस्थल बन्द हुने हो ठेगान छैन । उप्किएकै कारण जहाज दुर्घटनामा समेत पर्नसक्ने डर हुन्छ ।’

यसअघि २०७० असार अन्तिम साता त्रिभुवन विमानस्थल धावनमार्ग ठाउँठाउँमा उप्किएर उडान–अवतरण नै रोक्नुपरेपछि प्राधिकरणले स्पेनको ‘आयेसा इन्जिनियेरिया अफ स्पेन’ लाई धावनमार्गबारे विस्तृतमा अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको थियो । आयेसाले दुई महिना अध्ययन गरी बुझाएको प्रतिवेदनले ‘धावनमार्गको बेस (आधार) बलियो नभएका कारण ठूला जहाज (वाइड बडी) का लागि धावनमार्ग अनुपयुक्त छ’ भन्ने निष्कर्ष निकालेको थियो । 

आयेसाले धावनमार्गको इन्जिनियरिङ सर्भे, अनुसन्धान र मूल्यांकन, एयर ट्राफिक तथ्यांक विश्लेषण, धावनमार्गको डिजाइन, सुधार र ढलनिकास सुधारलगायत काम अध्ययन गरेको थियो । उसले धावनमार्गमा ‘मेकानिकल प्रेसर’ दिएर परीक्षण गरेको थियो । त्यसैगरी धावनमार्गमुनिको ढुंगा परीक्षण पनि गरेको थियो । त्यसका लागि धावनमार्ग छेउका केही भागमा ड्रिलिङ मेसिनले प्वाल पारेर ढुंगा परीक्षण गरेको थियो। 

स्पेनी कम्पनीले ठूला जहाजलाई धावनमार्ग अनुपयुक्त भने पनि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका त्यस्ता जहाज भने अहिले पनि आउने–जाने गरिरहेका छन् । त्रिभुवन विमानस्थलका अनुसार विगतमा बोइङ ७०७, ७२७, डिसी८ जस्ता न्यारो बडी जहाज उडान–अवतरण हुने गरे पनि अहिले बोइङ ७७७, एयरबस ए३३० र कहिलेकाहिँ ए३४० जस्ता वाइड बडी जहाज आउने गरेका छन्। 

सन् १९७५ मा कालोपत्रे गरी त्रिभुवन विमानस्थल धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर बनाइएको थियो । सँगसँगै ट्याक्सीवे पनि बनाइएको थियो । त्यसपछि एकैचोटि २० वर्षपछि धावनमार्ग कालोपत्रे (ओभरले) गरिएको थियो । सामान्यतया प्रत्येक पाँच वर्षमा धावनमार्ग ओभरले गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । धावनमार्गको चौडाइ ६० मिटर छ ।

सम्बद्ध अधिकारीका अनुसार १९९५ पछि २००८ मा ओभरले गरिएको थियो । त्यसबीचमा धावनमार्गमा धेरै नै दबाब पर्न गयो । सामान्य मर्मतबाहेक केही हुन सकेन । त्यसबाट पनि धावनमार्ग थप कमजोर हुनपुग्यो । धावनमार्गको कालोपत्रे ठाउँठाउँमा उप्किएर विमानस्थल नै बन्द गर्नुपरेपछि तत्काल समस्या निराकरण गर्न विमानस्थल सुधार आयोजनाले त्यसबेला तत्कालीन, अल्पकालीन र दीर्घकालीन तीन उपाय अवलम्बन गर्ने बताएको थियो। 

मनसुन अवधिभर ‘हाइ सिल इमल्सन’ प्रयोग गरी आकस्मिक मर्मत गर्दै जाने, मनसुन सकिनासाथ धावनमार्गमा ‘हट मिक्स एस्फाल्ट कंक्रिट’ गरी मर्मत गर्ने तथा धावनमार्ग र ट्याक्सी वेको राम्रो व्यवस्था गर्ने प्रक्रिया प्राथमिकताका साथ अगाडि बढाइने आयोजनाको भनाइ थियो। 

प्राधिकरणले २०६५ फागुन अन्तिमबाट धावनमार्ग कालोपत्रे गर्न सुरु गरेको थियो । १७ महिनामा काम सक्ने भनिए पछि झन्डै दुई वर्षपछि निर्माण पूरा भएको थियो । त्यसका लागि २९ करोड ६८ लाख ३९ हजार ७ सय ३० रुपैयाँ खर्च गरेको थियो । काम सकिएको चारै महिना र फेरि तीन वर्ष पूरा नहुँदै धावनमार्ग ठाउँठाउँमा भत्किएको थियो । चीनको चाइना रेलवे इन्जिनियरिङ कर्पोरेसन र नेपालको टुन्डी कन्स्ट्रक्सन कम्पनीले संयुक्त रूपमा धावनमार्ग कालोपत्रे गरेका थिए । 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

अभिनेता दयाहाङ राईलाई खोटाङको ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा निर्माण सुरु गरिएको किराँत संग्रहालयको सद्भावना दूत बनाइएको छ। ...

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

बलिउडका अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक फिल्मको नाममा विवाद भएको छ। निर्देशक राजकुमार हिरानी र निर्माता विनोद चोपडा फिल्मको नाम...

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

गायक वीरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शकश्रोता समक्ष आएका छन्। पेशाले नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक पदमा कार्यरत जोहारीले...

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन्। ...