coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुन तस्करका नाइके माओवादी नेता

स्थानीय तहको चुनावअघि माओवादी केन्द्र प्रवेश गर्ने क्रममा उच्च नेतृत्वसँग राजकुमार पौडेल । तस्बिर : पौडेलको फेसबुक

काठमाडौं- भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि बिदामा बसे । उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई कामु जिम्मेवारी दिएर सम्पर्कविहीन भए । २० दिन बिदा लिएर बसेका पौडेलको मोबाइल अहिले स्विच अफ छ ।

११ दिनअघि काठमाडौंमा बरामद १५ किलो सुनका मालिक माओवादी केन्द्रबाट भोटेकोसी गाउँपालिकाको अध्यक्ष जितेका राजकुमार पौडेल रहेको खुलेको छ ।

पौडेल बिदामा बसेर सम्पर्कविहीन भएको कारण बल्ल खुल्यो– प्रहरीले बरामद गरेको १५ किलो सुन ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १५ मा केरुङ र तातोपानी नाकाबाट भित्रिएको २२ किलोमध्ये १५ किलो सुनसहित ७ जना पक्राउ गरेको थियो । ती अभियुक्तले सुन तस्करका नाइके पौडेल रहेको बयान दिएलगत्तै उनी बिदामा बसेर सम्पर्कविहीन भए । उनी अहिले भारतमा रहेको ब्युरोको निष्कर्ष छ ।
केरुङ र तातोपानी नाकाबाट भित्रिएको २२ किलो सुन काठमाडौंमा रहेको सूचनाका आधारमा भदौ १५ मा ब्युरोको टोली खोजीमा खटिएको थियो । टोलीले सोही दिन टोखा नगरपालिका–११ बाट १४ किलो सुनसहित पेम्बा दोर्जे शेर्पालाई पक्राउ ग¥यो ।
उनले २ किलो सुन जनकपुर पु¥याएको बयान दिएपछि धनुषा प्रहरीको सहयोगमा एक किलो सुनसहित दीपककुमार साह पक्राउ परे । साहको पक्राउपछि एक किलो सुन भारत पुगेको खुल्यो । बाँकी ६ किलो सुन कहाँ छ अझै खुलेको छैन ।
अनुसन्धान स्रोतका अनुसार १४ किलो सुनसहित फेला परेका शेर्पा पौडेलका मुख्य सहयोगी हुन् । उनी काठमाडौंमा बसेर पौडेलको निर्देशनमा केरुङ र तातोपानी नाकामा गिरोह खटाउन सक्रिय देखिएका छन् । काठमाडौंको ठँहिटी निवासी रमेश खड्का पौडेलका सुन तस्करीको साझेदार रहेको दाबी प्रहरी स्रोतको छ । खड्काले भक्तपुरका दीपेन्द्र थापा र काठमाडौं सिरुटारका सरोज थापालाई परिचालन गर्दै आएका थिए । भक्तपुरका राजेन्द्र खत्री, रविन खत्री र काभ्रे पाँचखालका विष्णु गौतम तस्करीको सुन भारत पु¥याउने सहयोगी हुन् ।
ब्युरो प्रमुख डिआइजी पुष्कर कार्कीले सुन तस्करीमा संगठित जालो सक्रिय रहेको पाइएको र तस्करको पहिचान र पक्राउका लागि अनुसन्धान जारी रहेको बताए । उनले पक्राउ परेकाबाहेक अन्यको नाम सार्वजनिक गर्ने चरणमा अनुसन्धान नपुगेको दाबी गरे ।
‘सुन तस्करीमा संलग्न समूहबारे ब्युरो विस्तृत अनुसन्धानमा छ,’ डिआइजी कार्कीले भने, ‘अहिले नै यो या त्यो संलग्न छ भन्ने चरणमा अनुसन्धान प्रवेश गरेको छैन ।’

कन्टेनर व्यवसायीको आवरणमा तस्करी
सिन्धुपाल्चोक फुल्पिङकट्टीका पौडेल नेपाल ट्रक कन्टेनर व्यवसायी संघका पूर्वअध्यक्ष हुन् । उनी तातोपानी नाकामा व्यवसायमा सक्रिय थिए । भूकम्पले तातोपानी नाका बन्द भएपछि उनी केरुङमा सक्रिय थिए ।
उनको परिवार एमालेमा आबद्ध रहेर राजनीतिमा सक्रिय थियो । उनका दाजु धु्रव पौडेल एमालेका पूर्वगाविस अध्यक्ष हुन् । राजकुमार भने स्थानीय तह निर्वाचन मिति घोषणा भएपछि मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पहिलो चरणको निर्वाचनमा उनलाई माओवादी केन्द्रले भोटेकोसी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनायो । कांग्रेसको गढ मानिने गाउँपालिकाको अध्यक्षमा पौडेल विजयी भएका थिए ।
‘अध्यक्षज्यूले २० गते मलाई कामु जिम्मेवारी दिएर बिदामा बस्नुभयो,’ उपाध्यक्ष शेर्पाले भनिन्, ‘बाहिर जान्छु भन्नुभएको थियो, कहाँ जानुभयो, सोधीखोजी गरिनँ ।’

परिवार नै तस्करीमा
 पौडेल परिवारका चारै दाजुभाइ तस्करीमा जोडिँदै आएका छन् । राजकुमार कान्छा हुन् । उनका दाजु बच्चु हुन्डी कारोबारमा जोडिने गरेका छन् ।
२०६९ भदौ ३० मा रक्त चन्दन तस्करीमा पक्राउ परेका ध्रुव पौडेल उनका अर्का दाजु हुन् । फुल्पिङकट्टीको स्यालाङकट्टी हुँदै ५० भन्दा बढी भरियालाई बोकाएर ६ टन रक्तचन्दन तातोपानी नाका पार गराउने क्रममा प्रहरी र तस्करबीच जम्काभेट हुँदा गोली चलेको थियो । प्रहरीको गोली लागेर विवेक श्रेष्ठको मृत्यु भएको थियो भने सहयोगी प्रताप तामाङ र बिर्खबहादुर श्रेष्ठ पक्राउ परेका थिए । उनीहरूको बयानका आधारमा ध्रुव सोही वर्ष कात्तिकमा पक्राउ परे । धु्रव फुल्पिङकट्टी गाविसका पूर्वगाविस अध्यक्षसमेत हुन् ।
जिल्लामा एमालेका चल्तापुर्जा उनी पक्राउ परेको १५ दिनमै ३० हजार धरौटी बुझाएर रिहा भए । सिन्धुपाल्चोकका तत्कालीन प्रहरी प्रमुख डिएसपी प्रतापकुमार गुरुङले रक्तचन्दन तस्करीमा धु्रवको नाम आएकाले उनलाई पक्राउ गरिएको बताएका थिए । तर उनीमाथि खरखजाना मुद्दा मात्रै चलेको थियो । त्यतिबेला पक्राउ परेका सबै भरिया जेलचलान भएका थिए । गाविस अध्यक्ष हुँदा धु्रवमाथि तिब्बती नागरिकलाई नागरिकता सिफारिस गरेको अभियोग लागेको थियो ।
उनका अर्का दाजु नारायण डलर तस्करीमा पक्राउ परेर डेढ वर्ष जेल परेका थिए । प्रायः भारतमा बस्ने नारायणले उताबाट रक्तचन्दन पठाउने र नेपालमा धु्रवसहितको सेटिङमा स्थल मार्ग हुँदै खासा पु¥याउने गरेको अनुसन्धानमा खुलेको थियो ।

प्रकाशित: २७ भाद्र २०७४ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App