coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सन्दीपको जादुमा नेपाल विजयी

मलेसिया- ब्याटिङमा उच्च आत्मविश्वास र बलिङमा सन्दीप लामिछानेको जादु चलेपछि नेपालले एसिसी यु–१९ एसिया कपको पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा थाइल्यान्डलाई २ सय ५५ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
सन्दीप लामिछानेले ६ रन दिएर ७ विकेट लिएपछि २ सय ८१ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १० ओभरमा सबै विकेट गुमाएर २६ रन मात्र जोड्न सकेको थियो । यससँगै सन्दीप एकै खेलमा धेरै विकेट लिने खेलाडी बनेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको निधनमा एक मिनेट शोक व्यक्त गर्दै नेपाली टोली मैदानमा छिरेको थियो । दायाँ हातमा कालो पट्टी बाँधेर खेलेको नेपालले बलिङ र फिल्डिङमा सानदार खेल देखायो । त्यसको नायक बने स्पिनर सन्दीप ।
२ सय ८२ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले पहिलो ओभरमै विकेट गुमायो । तीव्र गतिका बलर नन्दन यादवले पहिलो बलमै थाइल्यान्डका ओपनर पुवात रास्तानउमनुएकुललाई बोल्ड गरे । नन्दनले देखाएको बाटोलाई पछ्याउँदै दोस्रो ओभरको पहिलो बलमै किशोर महतोले थाइल्यान्डका अगाम सन्जय साहलाई शाहब आलममार्फत क्याच गरे ।
सुरुका बलरले जस्तै तेस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले २ विकेट लिए । उनले कामरुन सेनमोन्त्री (६) र किएतिउट सुट्टिसन (२) लाई आउट गरेका थिए । त्यसपछि थाइल्यान्डमाथि नेपाल एकतर्फी हाबी बनेको थियो । कप्तान दीपेन्द्रले पाँचांै ओभरमा पनि सन्दीपलाई अवसर दिए । त्यस ओभरमा पनि सन्दीपले २ विकेट लिँदै आफूलाई प्रमाणित गरे । सन्दीपले पेउपुथ सुङनार्डलाई पवेलियनको बाटो देखाए । सन्दीपले दुवैलाई डकआउट गरका हुन्  ।
सम्भावित वर्षाका कारण नेपाललाई खेल छिटै सक्नुपर्ने बाध्यता थियो । पहिलो पटक यु–१९ टोलीको कप्तानी सम्हालेका दीपेन्द्रले पनि सन्दीपमाथि विश्वास देखाए । सन्दीपले सातौं ओभरमा पानासक देनमालिडोइ (८) लाई आउट गरे । सन्दीप त्यतिमै रोकिएनन् । उनले दशौं ओभरमा सारावुत मालिवन र सरन मालिवनलाई पवेलियन पठाए । त्यसअघि नवौं ओभरमा कप्तान दीपेन्द्रले सकाचाई प्राकाईलाई आउट गरेका थिए । खेल सकिएको केही समयमै पानी परेको थियो ।
सोमबार नेपालले राम्रो ब्याटिङ गरे पनि जितका लागि वर्षा बाधक बन्न सक्थ्यो । वर्षाले खेल रोकेको भए अंक बाँड्नुपर्ने हुन्थ्यो । तर, नेपालले ब्याटिङजस्तै बलिङमा पनि आफ्नो क्षमतालाई देखाउँदै खेल जित्न सफल भयो । नेपालका कप्तान ऐरीले खेल सुरु हुनुअघि थाइल्यान्डले कति खेल्छ भन्दा पनि हामीले कति ओभरसम्म खेलाउने हो, त्यो सोचेर खेल्नुपर्ने बताएका थिए ।
दीपेन्द्रले जतिसक्दो चाँडो खेल सकाउने रणनीतिमा थिए । जसले विकेट धेरै लिन्छ त्यसैलाई उनले मैदानमा एकपछि अर्को अवसर दिँदै गए । र सन्दीपले खेलमा ७ विकेट लिँदै कप्तानको विश्वासलाई न्याय गरे ।
‘टिमलाई जिताउन पाउँदा खुसी लागेको छ,’ म्यान अफ दी म्याच घोषित सन्दीपले भने, ‘आज योजनाअनुरूप खेल्यौं । सम्भावित वर्षाका कारण खेल छिटो सक्नुपर्ने थियो । कप्तानले मलाई विश्वास गरे । मैले आफ्नो जिम्मेवारी पूरा गरें । अरू साथीहरूले पनि आज राम्रो खेले ।’
त्यसअघि अनिलकुमार शाहले ९१ रन बनाएपछि नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । अनिलकुमारले ७४ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । चौथो विकेटको रूपमा अनिल आउट हँुदा नेपालले ३३ ओभरमा १ सय ८० रन बनाइसकेको थियो । अनिल पानासाक डिइनमालिडोइको बलमा साकचाई प्राकाइकाबाट क्याच आउट भएका थिए ।
प्रनित थापामगरले ६१ बलमा ३ चौका र १ छक्कासहित ५० रन जोडे । प्रनित अर्धशतक पूरा गर्नेबित्तिकै अर्को बलमा आउट  भए । ४८.३ ओभरमा प्रनित आउट हुँदा नेपाल २६०–६ को स्थितिमा थियो ।
नेपाली टोलीका प्रशिक्षक दासले खेलअघि सबै ब्याट्सम्यानलाई कम्तीमा २० रनभन्दा धेरै रन बनाएपछि मात्र स्वतन्त्र भएर खेल्न सुझाव दिएका थिए । खेलाडीले त्यहीअनुसारको प्रदर्शन गरे । पहिलो विकेटको रूपमा आशिफ शेखलाई ८.१ ओभरमा गुमाउँदा नेपालले ३४ रन जोडेको थियो । आशिफले २६ बलमा २१ रन प्रहार गरे । अर्का ओपनर सन्दीप सुनारले ५७ बलमा ३२ रन बनाए । कप्तान दीपेन्द्रले २२, रोहितकुमार पौडेलले २८, पवन सर्राफले २२ बनाए भने किशोर महतो २ रनमा अविजित रहे ।  
नेपालका प्रशिक्षक दासले खेलाडीले आफ्नो स्पिरिटअनुसार खेलेको बताए । ‘ब्याटिङ राम्रो लयमा देखिएको छ । खेलाडीले योजनाअनुरूप प्रदर्शन गरे । अझै सुधार गर्नुपर्ने धेरै पक्ष छन् । वर्षा बाधक नबने हामी उपाधी जितेर फर्कन्छौं ।’

प्रकाशित: २७ भाद्र २०७४ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App