७ वैशाख २०८१ शुक्रबार
अर्थ

महिला व्यवसायी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, कृषिसहित ४ क्षेत्रमा छलफल

काठमाडौं- काठमाडौंमा सोमबार दक्षिण एसियाली महिला व्यवसायीको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । महिला उद्यमशीलताको विकास गर्ने मूल ध्येयसहित पहिलो महिला व्यवसायी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।

‘एक्क्रस ब्यारिएर्स- इन्टरनेसनल बिजनेस विमेन समिट’ शीर्षकमा सुरु भएको सम्मेलन साउथ एसिया विमेन डेभलपमेन्ट फोरमले आयोजना गरेको हो ।

कार्यक्रमको पहिलो दिन सोमबारको दोस्रो सत्रमा सार्क क्षेत्रका महिलाको लागि व्यापार अवसर, कृषिमा नयाँ प्रविधि र यसको प्रयोग र पर्यटन र अन्तर्राष्ट्रिय व्यवसाय विषयमा छलफल गरिएको थियो । दोस्रो दिन मंगलबार औद्योगिक विकासमा सूचना प्रविधि (आइटी) को प्रयोग, टेक्सटाइल उद्योग, आधुनिकीकरण र निर्यात विषयमा छलफल गरिनेछ ।

साउथ एसिया विमेन डेभलपमेन्ट फोरम दक्षिण एसियाली सहयोग संगठन (सार्क) को एक अंग हो जसले यस क्षेत्रका महिलाको व्यावसायिक तथा आर्थिक क्षेत्रमा काम गर्दै आएको छ ।

उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले घर–परिवारदेखि राष्ट्रिय अर्थतन्त्रको विकासमा महिलाको उल्लेख्य भूमिका रहेको बताए । यही महŒव बुझेर सरकारले महिला उद्यमशीलताको विकास र उद्योगमा सहयोग गर्ने नीति लिएको बताए ।

‘नेपालको संविधानमा महिला सहभागिता, समानता र अधिकार सुरक्षित गरेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘महिला–पुरुष सँगसँगै भए मात्र देश विकास सम्भव छ ।’

साउथ एसिया विमेन डेभलपमेन्ट फोरमकी अध्यक्ष प्रमिला आचार्यले दुईदिने सम्मेलनले पर्यटन, प्रविधि र कृषि तथा उत्पादनमूलक क्षेत्रमा फोकस गरेर छलफल गर्ने बताइन् । ‘पहिलो अन्तर्राष्ट्रिय सम्मेलनले प्रविधि तथा सीप विकासको आदनप्रदानमार्फत व्यवसायी सहकार्यको प्रवद्र्धन र निर्यात बजारको अवसरमा जोड दिने मुख्य उद्देश्य राखेको छ,’ अध्यक्ष आचार्यले भनिन् ।

सम्मेलनमा दक्षिण एसियाका आठ देशका प्रतिनिधिको सहभागिता छ । विभिन्न मुलुकबाट ८० जना अन्तर्राष्ट्रिय व्यवसायी प्रतिनिधि, विज्ञहरू र १२ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको पनि सहभागिता छ । झन्डै ७० जना नेपाली महिला व्यवसायी सम्मेलनमा सहभागी भएका छन् ।

यस सम्मेलनले सार्क तथा आसियान क्षेत्रबाट सहभागी भएका अन्तर्राष्ट्रिय व्यवसायी तथा चीनबाट सहभागी भएका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने विशेष अवसर जुराएको आयोजकले जनाएको छ । 

यस क्षेत्रका महिला व्यवसायीका समान समस्या रहेका र केही लैंगिक असमानताका समस्या रहेको सम्मेलनमा बताइयो । सार्क क्षेत्रमा विश्व जनसंख्याको झन्डै २३.४ प्रतिशत बसोबास गर्छन्, जसमध्ये जम्मा १० प्रतिशत महिला मात्र मध्यम तथा साना व्यवसायमा सहभागी भएको कार्यक्रममा जानकारी गराइयो । 

सम्मेलनमा बोल्दै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले यो महिलाहरूको शक्तिको ‘सेरेब्रेट’ गर्ने अवसर भएको बताए । ‘अहिले विश्वका प्रख्यात कम्पनीहरूमा महिलाहरु नेतृत्व पंक्तिमा छन्,’ चौधरीले भने, ‘नेपालमा पनि एकै समयमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र व्यवसायमा पनि महिला नेतृत्व भएको अवसर छ ।’ उनले नेपालका अधिकांश महिला कृषि पेसामा संलग्न भएको भन्दै यस क्षेत्रमा आधुनिक प्रविधिको विकास गरेर महिला उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिए ।

उद्घाटन सत्रमा श्रीलंकाकी प्रोफेसर मैथ्री विक्रमासिंघे, सार्क महासचिव अमजाद हुसैन बी सैल र चीनकी मिडिया फोकस ग्रुपकी प्रमोटर तथा चिफ स्टाटे«जिक अफिसर चेन यानले महिला उद्यमशीलता र महिला नेतृत्वबारे बोलेका थिए ।

प्रकाशित: २७ भाद्र २०७४ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App