वैदिक अनुसन्धानका धरोहर

मङ्गलबार, २७ भदौ २०७४, १० : ३२ टेकनाथ दहाल


यो वर्ष संस्कृतप्रति आस्था राख्नेहरूका लागि त्यति सुखद हुन सकेन । संस्कृतका मूर्धन्य विद्वान्हरू स्वामी रामानन्द गिरी, खेमराज केशवशरण, स्वामी प्रपन्नाचार्य, जनार्दन घिमिरेपछि हालै शिवराज आचार्य कौण्डिन्यायनले आफ्नो भौतिक शरीर छाडेर अनन्तको यात्रामा गए ।
    तनहुँको चुँदीमा जन्मिएका शिवराजका पुर्खाहरूमा विद्यासाधनाको निरन्तरता लामै छ । श्रीकृष्ण आचार्यदेखि भानुभक्त हुँदै हालमा आचार्य वंशमा विद्यालाई निरन्तरता दिनेहरूको संख्या उल्लेख्य मात्रामा छ । शिवराज आचार्यका बाबु नरनाथ आचार्य पेसाले कविराज थिए भने उनका काका उमानाथ पनि कविराज नै थिए । नरनाथ आचार्यका साहिँलो छोराका रूपमा शिवराज आचार्यको जन्म १९९७ माघ २० गते तनहुँको बन्दीपुरमा भएको थियो । २००९ सालतिर अर्थात् १२ वर्ष हुँदा शिवराजले संस्कृतका आधारभूत ज्ञान हासिल गरिसकेका थिए । शिवराज आचार्य २०१२ सालमा पढ्न भनेर काठमाडौँ आए र त्यही साल प्रथमा अर्थात् हालको कक्षा आठको परीक्षा दिए । २०१३ सालमा पूर्वमध्यमा अर्थात् हालको एसइइ परीक्षा उत्तीर्ण गरे । त्यतिखेर वाराणसेय संस्कृत विश्वविद्यालयबाट परीक्षा दिनुपर्ने र त्यसका लागि अंग्रेजी तथा हिन्दी पनि पढ्नुपर्ने भएकाले शिवराज आचार्यले नेपाली, संस्कृत, हिन्दी तथा अंग्रेजी भाषाको ज्ञानलाई एकैपटक बढाउने अवसर पाए ।
रानीपोखरी छात्रावासमा बसेर उनले शास्त्री, अंग्रेजीतिरको एसएलसी, शाङ्करवेदान्त विषयमा आचार्य, अंग्रेजीतिरको आइएसम्मको अध्ययन पूरा गरे । २०२३ सालमा नै उनले संस्कृतमा एमए पनि गरे । त्यसै साल नै शिवराजले आयुर्वेदमा शास्त्री पनि गरे । २०२४ सालबाट उनले त्रिभुवन विश्वविद्यालयमा शाङ्करवेदान्त विषयको अध्यापन गराउन थाले । जागिर सुरु भएपछि उनले स्वतन्त्र विद्यार्थीका रूपमा साहित्यमा आचार्य पनि गरे । एसएलसीमा बोर्ड फोर्थ भएका थिए ।
पछि उनले अंगे्रजीमा विशिष्ट शास्त्री पनि गरे । २०२८ सालमा भारतको आगरा विश्वविद्यालयबाट दर्शनशास्त्रमा पनि एमए गरेका आचार्यले २०४३ सालमा वैदिकयज्ञा औपनिषदमात्मज्ञानं च विषयमा विद्यावारिधि उपाधि हासिल गरे भने २०४९ सालमा वेदाङ्शिक्षाशास्त्रस्य रचनात्मकं समीक्षात्मकं च परिशिलनम् विषयमा विद्यावाचस्पति उपाधि पनि हासिल गरे ।
शिवराज आचार्य वैदिक संस्कृतिका आधिकारिक विद्वान थिए । वेदको अध्ययनको थालनी उनले वाराणसीबाट गरेका थिए । त्यहाँ उनले मन्त्र, ब्राह्मण तथा कल्पसूत्रको अध्ययन गरेका थिए । ललितपुरका यज्ञेश्वर पौडेल तथा कास्कीका पं.बुद्धिसागर पराजुली शिवराज आचार्यका वैदिक गुरु थिए । त्यसअघि भाषापाठशालामा पढ्दा नै उनले रुद्रशंकर पौडेलसँग शुक्लयजुर्वेद चालिस अध्याय पूरै पढेका थिए ।
शिवराज आचार्यले नेपाली तथा संस्कृत भाषामा दुई दर्जनभन्दा बढी ग्रन्थहरूको लेखन तथा प्रकाशन गराएका छन् । उनको लेखनको क्षेत्रलाई हेर्ने हो भने संस्कृत साहित्य, नेपाली भाषा, वैदिक धर्म, वैदिक ज्योतिष तथा वैदिक ध्वनिशास्त्र प्रमुख रूपमा छन् । २०२४ सालबाट उनले नेपाली भाषाका क्षेत्रमा देखिएका अन्योलको विषयलाई लिएर आफ्ना विचार राख्न थाले । त्यस क्रममा उनले वैदिक ध्वनिशास्त्रको गहिरो अध्ययन गरे भने पाश्चात्य भाषाविज्ञानको पनि अध्ययन गरे । त्यसका आधारमा लिपि सुधारको आग्रह राखेर चलनचल्तीको लेखनभन्दा भिन्न लेखनको प्रयोग गरे ।
भाषासम्बन्धी तीन कृति सार्वजनिक भएका छन्, जिम्दो नेपालि भासा दुई खण्ड तथा नेपाली वर्णोच्चारण शिक्षा । त्यसमा उनले कत्थ्य र लेख्य भाषामा देखिएको अन्तरलाई कम गर्नुपर्ने धारणा राखेका छन् भने वर्णनात्मक व्याकरणका पक्षमा आफ्ना धारणा प्रस्तुत गरेका छन् । भाषाको अध्ययन गर्दा प्राप्त सामग्रीलाई यथारूपमा विवेचना गर्नुपर्ने प्रमुख स्थापना देखिन्छ भने व्याकरण लेखनका क्रममा पूर्वीय भाषा–व्याकरण सिद्धान्तलाई पूर्ण रूपमा अवलम्बन गर्नुपर्नेमा पनि विशेष जोड दिएका छन् । उनले संस्कृत साहित्यका क्षेत्रमा मम्मटको काव्यप्रकाशको हैमवती टीका लेखेका छन् । वैदिक ध्वनिशास्त्रका क्षेत्रमा उनको कौण्डिन्यायनशिक्षा निकै महŒवपूर्ण मानिन्छ जो उनको विद्यावाचस्पति गर्दाको गम्भीर अध्ययनको परिणति थियो ।
शिवराज आचार्यले नेपालीमा मात्रै होइन संस्कृतमा पनि आफ्नै किसिमको लेखनशैलीको प्रयोग गरेका छन् । कौण्डिन्यायनशिक्षामा हामी त्यसको ज्वलन्त नमुना हेर्न सक्छौँ । नेपालीमा उनको वृत्तनक्षत्रमाला पनि प्रकाशित छ । संस्कृततर्पm उनको कतिपयनैपालसंस्कृतग्रन्थकार परिचय, प्रायश्चिव्यवस्था, वेदभाषा निघण्टु, पाणिनीयशिक्षाव्याख्या, नारदीयशिक्षाव्याख्या, वेदाङगज्योतिषकौण्डिन्यायनव्याख्यान, ब्रह्ममीमांसासूत्र कौण्डिन्यायनवृत्ति जस्ता ग्रन्थ प्रकाशित छन् ।

आज वैदिक युग छोडेको लगभग तीन हजार वर्षभन्दा बढी नै भयो र यस अवधिमा समाज निकै अगाडि बढिसकेको छ र समाजमा बस्ने मानिसहरूको जीवनशैली र विचार पनि परिवर्तन भइसकेको छ । उनी त्यही पुरानो जीवनलाई आदर्श मान्दै त्यसैअनुरूप बाँच्न चाहे जसका कारण शिवराज अव्यावहारिक छन् भन्ने आरोप पनि खेपे ।
नास्तिको वेद निन्दक भन्ने मनु वचनलाई उनले आफ्नै जीवनमा पनि लागू गरे भन्नेहरू धेरै छन् । जिम्दो नेपालि भासा अभियान चलाउँदा उनले भानुभक्तको भाषाका बारेमा लेखेका थिए । भानुभक्तले प्रयोग गरेको भाषा नै मौलिक भएको तर्क उनको थियो । त्यसैले उनले भानुभक्तको रामायणको पाठसमीक्षा गरेर जीवनको उत्तरार्धमा प्रकाशन गराए ।    नेपाली समाजमा सूर्यसिद्धान्तमा आधारित पञ्चाङग प्रचलनमा छ । साल, मास, तिथि, गते, संवत्सर सबै सूर्यसिद्धान्तमा आधारित छ । शिवराज आचार्य सूर्यसिद्धान्तलाई लौकिक ज्योतिष मान्थे र वैदिक ज्योतिषबाट गरिएको कालगणनामा आधारित भएर हाम्रा वार्षिक कृत्यहरू गनुपर्ने धारणा राख्थे । यसका लागि उनले वैदिक ज्योतिष लगधमुनिको मान्यतामा आधारित तिथिपत्र–चलनचल्तीको भाषामा पञ्चाङ्ग वा पात्रो) पनि प्रकाशनमा ल्याए । नेपाली तथा संस्कृतमा तीन दर्जनभन्दा बढी फुटकर लेख छपाएका आचार्य अभूतपूर्व व्यक्तित्व भएका विद्वान थिए ।
    चुँदीरम्घामा भानु पुस्तकालय स्थापना, भानु सेवा समिति, नेपाल संस्कृत परिषद्, विद्वत्सभा, भानु संस्कृत माध्यमिक विश्वविद्यालय, महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालय जस्ता संस्थाको स्थापना, विकास तथा व्यवस्थामा उनको सहभागिता उल्लेख्य मात्रामा थियो । उनी राजनीतिक रूपमा प्रजातान्त्रिक विचारप्रति झुकाव राख्थे । शिवराज आचार्यले २०४६ सालका आसपासमा लेखेर बाँडेका पर्चाहरूको अध्ययन गरौँ ।     शिवराज आचार्यले आफ्नै घरलाई स्वाध्यायशाला बनाएका थिए । आज उनका छोरा–छोरीहरू पनि बाबुले देखाएकै बाटोमा हिँडिरहेका छन् ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ...

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन् । रुबस होटलमा दिउसो भएको एकल रचना वाचन कार्यक्रममा...

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘गुडबाई काठमाडौं’ले भारतको कोलकातामा भएको ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘नेटप्याक अवार्ड’मा ‘उत्कृष्ट फिल्म’को...

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...