coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोर्खाल्यान्ड आन्दोलन : आमहड्तालको ९० दिनपछि वार्ता

इलाम—भारत पश्चिमबंगालमा ‘गोर्खाल्यान्ड राज्य’ माग गर्दै आन्दोलन गरिरहेका दल र पश्चिमबंगाल राज्य सरकारबीच मंगलबार वार्ता हुँदैछ। वार्ताका लागि पश्चिमबंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेतृत्वको टोली सोमबार सिलिगुडी पुगेको छ। आन्दोलनकारी दलका बेग्लाबेग्लै प्रतिनिधिमण्डल वार्ताका लागि जाँदैछन्।

सिलिगुडीको उत्तरकन्यामा दिउँसो हुने यो वार्ता गत २९ अगस्टमा भएको वार्ताको ‘फलोअप’ हो। तर, वार्तामा आन्दोलनकारीका तर्फबाट सहभागी हुने दलहरूलाई बेग्लाबेग्लै पत्रमार्फत बोलाइएकाले को–को सहभागी हुन्छन् भन्ने यकिन भएको छैन। गोर्खाल्यान्ड आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङ नेतृत्वको टोली वार्तामा सहभागी हुँदैछ। टोलीमा तामाङसहित अनित थापा, छिरिङ दाहाल, एलएन लामा, डा. आरबी भुजेल र करुणा लामा सहभागी रहने छन्।

मोर्चाकै अध्यक्ष विमल गुरुङले पनि वार्ताका लागि बेग्लै टोली बनाएका छन्। उनलाई भने वार्तामा निमन्त्रणा भने नगरिएको स्रोतले जनाएको छ। ‘मुख्यमन्त्री बेनर्जी विमलसँगभन्दा विनयसितै वार्ता गर्न चाहन्छिन्,’ स्रोतले भन्यो।

‘आन्दोलन सफल बनाउने हो भने शत्रु हसाउने काम गुरुङ र विमलले गर्नुहुँदैन । मिलेर अघि बढ्नुपर्छ,’ उनले भने ।

मोर्चाका विवादित नेताहरू सहसचिव तामाङ र अर्का नेता अनितलाई मोर्चाले दलबाटै हटाइसकेको छ। सहसचिव तामाङले गत २९ अगस्टमा राज्य सरकारसँग भएको वार्तापछि खर्साङमा आयोजित पत्रकार सम्मेलनमा १ देखि १२ सेप्टेम्बरसम्म पहाड बन्द खोल्ने अभिव्यक्ति दिएपछि उनीविरुद्ध मोर्चा र आन्दोलनकारी सडकमै उत्रिएका थिए। त्यसपछि तामाङ विवादित बनेका हुन्। उनी अहिले पनि दार्जिलिङमा आफ्नो बेग्लै समूहमा शान्ति ¥यालीजस्ता कार्यक्रम गरिरहेका छन्। मोर्चाको आन्दोलन पनि उसरी नै जारी छ। तामाङको पत्रकार सम्मेलनलगत्तै मोर्चा अध्यक्ष गुरुङ र महासचिव रोशन गिरीले आमहड्ताल जारी रहने घोषणा गरेका थिए।

वार्तामा मुख्यमन्त्री बेनर्जीले पहाड बन्द खुलाउन आग्रह गरेकी थिइन्। आमहड्ताल खुल्न सकेन। तर, उनको आग्रहकै कारण आन्दोलनकारी दलका नेता बन्द खुलाउने र नखुलाउने भन्ने विषयमा विभाजित भए । पहाडमा आन्दोलन चर्किएपछि मुख्यमन्त्री बेनर्जीकै पहलमा मोर्चाबीच फाटो ल्याइएको आरोप छ । क्रान्तिकारी माक्र्सवादी पार्टीका अध्यक्ष आरबी राईले गोर्खाल्यान्ड राज्यको मागलाई शक्तिशाली बनाउन गुरुङ र तामाङ मिलेर अघि बढ्नुपर्ने बताए । ‘आन्दोलन सफल बनाउने हो भने शत्रु हसाउने काम गुरुङ र विमलले गर्नुहुँदैन । मिलेर अघि बढ्नुपर्छ,’ उनले भने ।

पहाडका दलहरू मोर्चा, जनआन्दोलन पार्टी (जाप), गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)लगायत दलहरूलाई राज्य सरकारले वार्तामा बोलाएको छ । गोरामुमोबाट निरज जिम्बा, सञ्जय तामाङ, महेन्द्र क्षेत्री, गियस सुब्बा, पुरन राईलगायतका नेता वार्तामा सहभागी हुँदैछन् । मोर्चाकै पूर्वनेता हर्क क्षेत्री अध्यक्ष रहेको जापलाई भने वार्तामा बोलाइएको छैन । अघिल्लो वार्तामा जाप सहभागी थियो ।

मंगलबारको वार्तापछि दार्जिलिङसहित मिरिक, खर्साङ र कालेम्पोङमा ९० दिनदेखि जारी आमहड्ताल खुल्ने अनुमान गरिएको छ । यद्यपि, आन्दोलनकारीले गोर्खाल्यान्ड प्राप्त नभएसम्म आमहड्ताल फिर्ता नहुने र गोर्खाल्यान्डबाहेक अन्य विषयमा सहमति पनि नहुने अडान लिइरहेका छन् । केही दिनअघि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष गुरुङले भनेका थिए– वार्तामा गोर्खाल्यान्डको विषयमा छलफल हुन थालेपछि आमहड्ताल फिर्ता हुनेछ तर आन्दोलन जारी रहने छ । वार्तामा गुरुङको टोली सहभागी हुने या नहुने भन्ने नै अन्योल भएकाले आमहड्ताल फिर्ता हुने–नहुने विषय पनि अन्योलमै छ । वार्तामा गुरुङको टोली सहभागी नगराए आमहड्ताल लम्बिनसक्ने आँकलन विश्लेषकहरूको छ । गोर्खाल्यान्ड राज्य, गोर्खाल्यान्ड आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र पक्राउ परेका आन्दोलनकारीको रिहाइलगायतका विषयमा वार्तामा छलफल हुने आँकलन छ ।

तर, मंगलबार हुने वार्तामा पनि गोर्खाल्यान्डको विषयमा छलफल हुने विश्वास आन्दोलनकारीकै धेरै नेता–कार्यकर्तालाई छैन । मोर्चाका कार्यकर्ता सन्देश क्षेत्री भन्छन्, ‘राज्य सरकारसँगको वार्ता आन्दोलनकारीलाई भुल्याउने षड्यन्त्र मात्रै हो । गोर्खाल्यान्डको माग पूरा गराउन त केन्द्र, राज्य सरकार र आन्दोलनकारी दलबीच वार्ता हुनुको विकल्प छैन ।’ पहाडका दलहरूसँग केन्द्रीय मुख्यमन्त्री राजथान सिंहले पनि नयाँदिल्लीमा केही दिनअघि वार्ता गरेका थिए । वार्तामा उनले त्रिपक्षीय वार्ताका लागि राज्य सरकारले नै पहल गर्ने बताएका थिए ।  

१५ जुनदेखि यी  क्षेत्रमा आमहड्ताल जारी छ । यो अवधिसम्म दार्जिलिङसहित पहाडी क्षेत्र ठप्प छ । दिनहुँ, ¥याली, कोणसभा, जुलुस, धर्ना जारी छन् ।  बन्द कति लामो समय जाने हो भन्ने कुनै टुंगो नहुँदा हजारौं व्यवसायीको व्यवसाय चौपट भएको व्यवसायीको गुनासो छ । स्कुल–कलेज, बजार, उद्योग, सवारी साधनलगायत सबै ठप्प छन् । आमहड्तालको ७ दिनपछि आन्दोलनरत मोर्चाले निजी स्कुलका सवारी साध १ दिनका लागि खुला गरेर बाहिरबाट आएका विद्यार्थीलाई घर पु¥याउन उर्दी गरेको थियो । त्यही दिन त्यहाँका सबैजसो निजी स्कुलका सवारी साधनले नेपाली बालबालिकालाई सीमाक्षेत्रसम्म ल्याइदिएका थिए ।

बजार नखुल्दा र सवारी साधन नचल्दा जनजीवन उकुसमुकुस छ । बर्सेनि हजारौं पर्यटक आउने पर्यटकीय दार्जिलिङ अहिले सुनसान छ । पर्यटकीय मौसम (सेप्टेम्बर) सुरु भएपनि आन्दोलनले कस्तो रूप लिने भन्ने टुंगो छैन । पछिल्लो आन्दोलनक्रममा मारिनेको संख्या ११ पुगिसकेको छ । सयौं घाइते छन् । 

प्रकाशित: २७ भाद्र २०७४ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App