८ वैशाख २०८१ शनिबार
राजनीति

अध्यक्ष शर्मालाई फेरि तीनदिने स्पष्टीकरण

काठमाडौं- साझा प्रकाशनमा अनियमितता प्रकरणमा शिक्षा मन्त्रालयले अध्यक्ष तथा महप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पुनः तीनदिने स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणमा ‘तपाईंलाई किन कारबाही नगर्ने ?’ भन्ने प्रश्न सोधिएको छ । मन्त्रालयले साझामा अनियमितता छानबिन गर्न गठित समितिको सिफारिसअनुसार अध्यक्ष शर्मालाई स्पष्टीकरण सोधेको हो । समितिले अध्यक्ष शर्मासहित सञ्चालक समितिलाई कारबाही सिफारिस गरेको थियो ।

यसअघि भदौ १९ को मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयले अध्यक्ष शर्मालाई स्पष्टीकरण सोधेको थियो । शर्माले २३ गते मन्त्रालयलाई दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पुनः तीनदिने स्पष्टीकरण सोधिएको हो । शर्माले करिब एक सय पृष्ठको स्पष्टीकरण मन्त्रालयलाई बुझाएका थिए । पहिलो स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनलाई पुनः तीनदिनभित्र अर्को स्पष्टीकरण दिन निर्देशन दिइएको शिक्षासचिव शान्तबहादुर श्रेष्ठले जानाकारी दिए । ‘शर्माको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि हामीले किन कारबाही नगर्ने भन्दै पुनः स्पष्टीकरण सोधेका छौं,’ श्रेष्ठले भने ।

साझामा अनियमितताबारे नागरिक दैनिकमा समाचार छापिएपछि मन्त्रालयले साउन १२ गते उपसचिव गणेश ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।समितिले साझामा अनियमतिता भएको भन्दै अध्यक्ष शर्मा र सञ्चालक समितिलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । समितिले कारबाही सिफारिस गर्दासमेत मन्त्रालयले शर्मालाई कारबाही नगरेको विषयमा आलोचनासहित समाचार प्रकाशित भएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवबाट २०७१ माघ ५  मा महाप्रबन्धक  तथा २०७२ साउन १० गते अध्यक्ष नियुक्त शर्माले दुईवर्षे कार्यकाल पूरा गरी २०७३ पुसमा  तत्कालीन माओवादी केन्द्रको कोटामा शिक्षामन्त्री बनेका धनीराम पौडेलबाट चार वर्षका लागि दुवै पदमा नियुक्ति पाएका थिए ।

शर्माले साझाको जिम्मेवारी सम्हालेयता विवादित काम गर्दै आएका छन् । उनीमाथि  सरकारले उपलब्ध गराएको सहयोग रकम दुरुपयोग गरेको, लेखापरीक्षण नगराएको, राजनीतिक दलका नेतानिकट व्यक्ति, पत्रकार र उनीहरूका आफन्तलाई समेत साझामा भर्ना गरेको, वार्षिक आम्दानी, खर्च तथा पुस्तक प्रकाशन विवरण चुस्त नराखेको, नक्कली कागजात बनाएको, साझाको लोगो दुरुपयोग गरेर अवैध रुपमा पुस्तक प्रकाशन गरेकोलगायत आरोप छन्।

प्रकाशित: २८ भाद्र २०७४ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App