coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नागरिकता दिलाउनेलाई मुसहरको भोट

महोत्तरी- बर्दिवास १४ स्थित मुसहरबस्तीमा बसोवास गर्ने  अधिकांशसँग  नागरिकता छैन । नागरिकता नहुँदा यी बस्तीका तीन चौथाइ मुसहर स्थानीय तहको चुनावमा सहभागी हुनबाट वञ्चित हुने स्थिति छ । त्यहि भएर ‘जसले नागरिकता बनाइदिन्छ हामी उनै नेतालाई मात्रै भोट दिन्छौं,’ भन्ने भनाइ सो बस्तीका कारीमाझी सदा मुसहरको छ। उनी भन्छन्, ‘हामी पार्टी जान्दैनांै, जुन नेताले हाम्रो पुस्तांैदेखिको नागरिकताको समस्या समाधान गरिदेला उसलाई नै भोट दिन्छौं ।’

भर्खरै धुर्मुस–सुन्तली फाउण्डेसनले एकीकृत नमुना बस्ती बनाइ दिएपछि उनीहरूको जीवन अलि सहज बनेको छ। त्यही घर देखाउँदै कारी सदा मुसहरले भने, ‘यो घर भएर मात्र भएन, नागरिकता नहुँदा धेरै सरकारी सुविधाबाट हामी बन्चित छौं, त्यहि भएर जसले हामीलाई नागरिता दिन्छ उसैलाई हामी सबै मुसहरले भोट दिन्छौं ।’

दुई सय ७० जनाको बसोबास रहेको बर्दिबासस्थित मुसहर बस्तीमा मात्र ५९ जना मात्र मतदाता छन् । नागरिकताको योग्यता पुगेका एक सय ५० जनासँग नागरिकता नै छैन त्यही भएर उनीहरू यसपालिको स्थानिय तहको चुनावमा न त भोट हाल्न सके न त उम्मेदवार नै बन्न पाए ।

जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा आवश्यक कागजपत्र पेश गर्दा पनि नागरिकताको प्रमाणपत्र पाउन हम्मेहम्मे छ उनीहरूलाई ।

आवश्यक भनिएका कागजात पेश गर्दासमेत नागरिकता नपाउने मुसहरको संख्या बर्दिबासमै सयभन्दा बढी छ ।

‘नागरिकता पाउने हक लिएर इलाका प्रशासन कार्यालय जाँदा प्रमाणपत्र पाउनुको साटो सरकारी कर्मचारीको दुव्र्यहार खेप्नुपर्छ,’ त्यहि बस्तीका अगुवा विल्टु सदाले भने, ‘निर्वाचन आयोगले नागरिकता नभएकालाई मतदाता नामावलीमा नाम समावेश नगरेकाले वर्दिवासका मुसहरको मात्र होइन जिल्ला भरिकै मुसहर समुदायलाई यस्तै समस्या छन् । ’

जिल्लाको विभिन्न भू–भागमा छरिएर बसेका जिल्ला भरिकै मुसहरमध्ये ७० प्रतिशत भन्दा बढी मुसहरको नागरिकता नै छैन । उनीहरू असोज २ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन सक्दैनन् ।

विल्टुले भने, ‘हामी कँहा भोट माग्न आउने जुनसुकै नेतासँग हाम्रो एउटै प्रमुख माग नारिकता बनाउ भोट लेउ भन्ने हो ।’

संविधान अनुसार नागरिकता पाउने हक भए पनि महोत्तरी जिल्ला भरिनै छरिएर रहेकामध्ये ७० प्रतिशत भन्दा बढी  मुसहर अझै पनि नागरिकता बिहीन छन् । 

केही मुसहरले टोली खटिँदा नागरिकता बनाए पनि अधिंकाशको अंगिकृत नागरिकता रहेकाले उनीहरूका सन्तानलाई पनि अहिले नागरिकता बनाउन अर्को समस्या थपिएको विल्टुले सुनाए । 

जिल्ला प्रशासन र इलाका प्रशासनमा आवश्यक कागज पत्र पेश गर्दा पनि नागरिकताको प्रमाणपत्र पाउन कठिनाइ भएको बर्दिबासस्थित मुसहर बस्तीका बिष्णुमाझी सदा मुसहरले बताए ।

हाम्रो लागि प्रमुख समस्या नै नागरिकता छ । ‘अहिलेसम्म कुनै राजनीतिक दलका नेताले हामीले पनि नागरिकता पाउनुपर्छ भनेर वकालत गरिदिएनन् । त्यहि भएर स्थानीय चुनावमा पार्टीलाई नभई नारिकता बनाइदिने नेतालाई मात्रै भोट दिन्छौं,’ विष्णुले दोह¥याउँदै भने, ‘यस विषयमा हामी एक ठाउँमा बसेर सामुहिक निर्णय समेत गरिसकेका छौं ।’

‘नागरिकता भएपछि पो भोलि गएर स्थानीय निकायमा हाम्रो पनि प्रतिनिधित्व बढ्ने हो, नागरिकता नै नभएपछि हामी प्रतिनिधित्व केको आधारमा खोेज्ने ?,’ ती समुदायकी सानु सदा मुसहरले भनिन् । 

यसका साथै मुसहरका बालबालिकालाई उच्च शिक्षा सम्मको निःशुल्क शिक्षाको व्यवस्था गरिदिनसमेत उम्मेदवारसँग माग गर्छन् ।   

पैसा र पहुँच नहुँदा नागरिकता पाउन नसकेको उनीहरूको ठम्याइ छ ।  सिरहा, सप्तरी र धनुषा जिल्लाका विभिन्न ठाउँबाट आएका मुसहर समुदाय बर्दिवासलगायत महोत्तरीको विभिन्न भू–भागमा आएर छरिरएर बसोबास गर्दै आएका हुन् । उनीहरू पुस्तांैदेखि बसोबास गर्दै आए पनि नागरिकताको समस्या समाधान हुन सकेको छैन । नागरिकता नहुँदा उनीहरूलाई बालबालिकाको पञ्जीकरणमासमेत समस्या हुने गर्दछ । जन्मदर्ता विवाह दर्तालगायत अन्य सरकारी सुविधाबाट पनि उनीहरू बञ्चित हुँदै आएको यहाँका मुसहरको गुनासो छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा २३ हजार तीन सय ६४ जनसंख्या रहेको छ ।  बर्दिबास नगपालिका, भंगहा, फुलकाहा, हात्तीलेट, हतिसर्वालगायत ग्रामीण क्षेत्रमा मुसहर समुदायको बढी बसोबास रहेको छ ।

 

 

प्रकाशित: २८ भाद्र २०७४ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App