८ वैशाख २०८१ शनिबार
राजनीति

भाइटीकाका दिन संसद् विघटन

काठमाडौं- संविधान जारी भएपछि व्यवस्थापिका संसद्मा रुपान्तरण भएको संसद् कात्तिक ४ गते भाइटीकाको दिन स्वतः विघटन हुने भएको छ।

निर्वाचन आयोगले आगामी कात्तिक ५ गते बिहान १० बजेदेखि ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम सार्वजनिक गरेपछि संसद् स्वतः विघटन हुने भएको छ । संसद् सचिवालयले वर्तमान सांसदलाई कात्तिक ४ गतेसम्मको तलबभत्ता उपलब्ध गराउने नोटिस गरेको छ । 

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयकको दफा ३ (२) बमोजिम  एक महिनाको थप पारिश्रमिक पनि उपलब्ध गराइनेछ । संविधानको धारा २ सय ९६ उपधारा १ मा रुपान्तरित संसद्को कार्यकाल पूरा हुनुअगाबै प्रतिनिधिसभाको निर्वाचन हुने भएमा उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद् कायम रहने उल्लेख छ ।

२०७० मंसिर ४ गते निर्वाचित संविधानसभा २०७२ असोज २ गते संविधान जारी भएपछि व्यवस्थापिका संसद्मा रुपान्तरण भएको थियो ।

कांग्रेस सांसद राधेश्याम अधिकारीले संसद्को अवधि कात्तिक ४ गतेसम्म रहेको बताए ।  निर्वाचन दुई चरणमा हुने भए पनि पहिलो चरणको उमेदवारी मनोनयनपत्र दर्ता गर्ने समयको अघिल्लो दिनलाई आधार मान्नुपर्ने उनको भनाइ छ । 

वरिष्ठ अधिवक्ता चन्दकान्त ज्ञवालीले पनि कात्तिक ४ गते भाइटीकाको दिन संसद् स्वतः विघटन हुने बताए । ‘निर्वाचन जति चरणमा भए पनि पहिलो ढोकाबाट इन्ट्री गरिसकेपछि त्यही समयलाई आधार मान्नुपर्छ’, ज्ञवालीले भने ।

संसद् विघटनसँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार अन्तरिम बन्नेछ । सरकारले निर्वाचन आयोगको परामर्शमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति मंसिर १० र २१ तय गरेको छ । चुनावपछि बन्ने सरकारले माघ ७ गतेभित्र राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउनुपर्नेछ।

प्रकाशित: २८ भाद्र २०७४ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App