५ वैशाख २०८१ बुधबार
खेल

नयाँ चुनौतीमा लोप्साङ

काठमाडौं-घरेलु फुटबलका सफल प्रशिक्षकमध्येका एक हुन्, छिरिङ लोप्साङ। उनको प्रशिक्षणमा मनाङ मस्र्याङ्दीले ‘ए’ डिभिजन लिगसहित थुप्रै घरेलु प्रतियोगिताको उपाधि उचालिसकेको छ।

गत वर्ष मनाङलाई आहा–रारा गोल्डकप र झापा गोल्डकपको उपाधि जिताएका छिरिङले बंगलादेशको ढाकामा सम्पन्न शेख कमल इन्टरनेसनल क्लब कप टोलीलाई अन्तिम चारसम्म पु¥याएका थिए ।

घरेलु प्रतियोगितामा आफूलाई सफल साबित गरिसकेका छिरिङले अहिले यु–१८ टोलीको प्रशिक्षण सम्हाल्ने जिम्मेवारी पाएका छन्। यु–१८ टोली अहिले भुटानमा हुने साफ यु–१८ च्याम्पियनसिप प्रतियोगिताको तयारीमा जुटेको छ ।

भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा असोज २ देखि ११ गतेसम्म हुने प्रतियोगितामा नेपालले आयोजक भुटानसँगै भारत, बंगलादेश र माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

‘मनाङबाट मैले घरेलु फुटबलमा उपाधि जित्न नसकेको प्रतियोगिता विरलै होलान् । यसले मेरो क्षमता प्रमाणित भइसकेको छ जस्तो लाग्छ । तर, राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्नु फरक हो । जुन मेरा लागि सहज चुनौती होइन,’ प्रशिक्षक छिरिङले थपे, ‘घरेलु टोलीमा पाएको सफलता अब मैले नेतृत्व गरेको राष्ट्रिय टोलीको नतिजासँग तुलना हुनेछ । त्यसैले मेरा लागि यो अवसरसँगै चुनौती पनि हो ।’

यसअघि यु–१९ साफ च्याम्पियनसिपको नाममा सम्पन्न भएको प्रतियोगिता यसै संस्करणबाट  यु–१८ साफ च्याम्पियनसिपका रूपमा परिणत भएको हो । दुई वर्षअघि काठमाडौंमा सम्पन्न पहिलो संस्करणमा नेपाल च्याम्पियन बनेको थियो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको उक्त प्रतियोगितामा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराएको थियो ।

प्रशिक्षक छिरिङले सदाझैँ प्रतियोगितामा भारत बलियो टोलीका रूपमा रहेको बताए । उनले भारतलाई हराउँदै उपाधि उचाल्नु सहज नभएको प्रतिक्रिया दिए । छिरिङले थपे, ‘सदाझैं यसपालि पनि भारत बलियो प्रतिद्वन्द्वी हो । प्रतियोगितामा उनीहरूले भन्दा राम्रो प्रदर्शन गर्न हामीले कडा मिहिनेत गर्नु आवश्यक छ ।’

छिरिङले ललित मेमोरियल युथ यु–१८ फुटबल च्याम्पियनसिपमा खेलाडीले गरेको प्रदर्शनका आधारमा ७४ जना खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका थिए । त्यसबाट ३५ हँुदै २७ खेलाडी बन्द प्रशिक्षणमा थिए । तर अजय दनुवार घाइते भएर घर फर्किएपछि अहिले २६ खेलाडी बन्द प्रशिक्षणमा छन् ।

तथापि छिरिङ टोलीको तयारीबाट पूर्ण सन्तुष्ट हुन सकेका छैनन् । उनी भन्छन्, ‘भारतको भन्दा हाम्रो तयारी समय छोटो भयो । उनीहरूले गत बर्षबाट यस प्रतियोगिताको तयारी गरिरहेका छन् । उनीहरूभन्दा हामीले चाँडै तयारी थाल्नुपथ्र्यो ।’

खेलाडीको खेलअनुभव प्रशिक्षक छिरिङका लागि अर्को चिन्ताको विषय हो । ‘अहिले हामीसँग भएका खेलाडीहरुले नियमित प्रतियोगिता खेलिरहनुपर्ने हो । तर, लिग र अन्य प्रयितोगिता नियमित नहुँदा खेलाडीले पर्याप्त खेल अनुभव बटुल्न पएका छैनन् । यसले हाम्रो प्रदर्शनमा असर गर्न सक्छ,’ उपाधि रक्षा गर्ने दाबी गर्दै प्रशिक्षक छिरिङले भने, ‘तमाम चुनौतीका बावजुद हामी उपाधि रक्षा गर्नमै केन्द्रित छौं ।’

श्रीलंकाले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएपछि नेपाल रहेको समूह ‘बी’ मा अब माल्दिभ्स मात्र छ । समूह ‘ए’ मा आयोजक भुटानसहित भारत र बंगलादेश छन् ।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने भएकाले नेपालले माल्दिभ्सविरुद्ध जस्तो नतिजा निकाले पनि अघिल्लो चरणमा पुग्छ । तर, प्रशिक्षक छिरिङले नेपाललाई बेफाइदा हुने बताउँछन् । ‘श्रीलंकाले नाम फिर्ता लिएपछि समूह चरणमा हामीले एक खेल मात्र खेल्न पाउँछौं । जुन राम्रो होइन,’ प्रशिक्षक छिरिङले थपे, ‘समूह चरणमा धेरै खेल खेलेर जित्दा खेलाडीको मनोबल बढ्थ्यो ।’

प्रशिक्षक छिरिङले बन्द प्रशिक्षणमा आफूले प्राविधिक पक्षमा बढी जोड दिएको बताए । उनले भुटानमा नेपाल ४–४–२ को फर्मेसनमा खेल्नुका साथै छोटो पास खेलेर बल पोजेसनमा बढी जोड दिने बताए ।

प्रकाशित: २८ भाद्र २०७४ ०३:५८ बुधबार

चुनौतीमा लोप्साङ