त्रास जितेर स्मार्टफोनले भिडियो खिचेको त्यो क्षण

बुधबार, २८ भदौ २०७४, १२ : ३८ शुभक महतो  | @subhak12


गाँजाको खेती भेटिए के कारवाही गर्नुहुन्छ ? महानगरीय प्रहरी परिसरलाई यो प्रश्न सोध्ने हो भने बडा फूर्तिलो जवाफ आउनेछ, ‘हामी तत्काल त्यो नष्ट गर्छौं। कानुन उल्लंघन गर्नेलाई कारवाही गर्छौं।’ राज्यको कानुनपालकबाट यो जवाफ आउनु स्वभाविक हो। तर यो पनि वास्तविकता हो काठमाडौंभित्रै करिब १६ सय रोपनीमा खुलेआम गाँजाखेती भइरहेको छ।

यो आलेख काठमाडौंको त्यही १६ सय रोपनीको गाँजाखेती पहिल्याउँदाको अनुभव हो। 

पत्रकारका लागि सूचना सधैँ ठूलो विषय बनेर अाउँदैन। मेरो स्रोतले काठमाडौंभित्र गाँजा खेती भइरहेको सानो सूचना बताएको थियो। राज्यले प्रतिबन्धित गरेको यो लागूअाैषधको खुलेअाम खेतीबारे रिपोर्टिङ गर्ने सोेचेँ। पत्रकारिताको दृष्टिले यो जति चाखलाग्दो विषय थियो त्यति नै खतरनाक पनि। खतरा मोल्दै पत्रकारितामा रमाउन मलाई रोमाञ्चक लाग्छ। पत्रकारिताको एउटा रमाइलो पक्ष पनि सायद यही होला। गाँजाखेती पहिल्याउन हालसालै एक दिन म र मेरा एक जना साथीसहित शिवपुरी राष्ट्रिय निकुन्जतर्फ सोझियौं। त्यहाँ हामीले राष्ट्रिय निकुन्जको बाटो प्रयोग गरेबापत ४ सय रुपैयाँ तिर्‍याैं। शिवपुरी गेटमा नेपाली सेनाका जवानहरु राइफलसहित तैनाथ थिए। राष्ट्रिय निकुञ्ज सुरक्षार्थ त्यहाँ सेनाको ब्यारेक रहेछ।

शिवपुरी जंगल कैयौं वर्षदेखि धेरै ऋषिमुनि र सन्तहरुले तप गरेको पवित्र स्थल। शिवपुरी बाबाले तप गर्न रोजेको यो स्थानमा प्रत्येक तरङ्गमा शान्ति अनुभूत गर्न सकिन्छ भन्ने भनाइ छ। यसको काखमा अझै पनि ध्यान केन्द्र, गुम्बा र आश्रमहरु छन्। चराचुरुंगीका चिरबिर सुन्दै हामी तिलको दानो पनि छिर्न गाह्रो हुनेजस्तो शिवपुरीको घना जंगलभित्र प्रवेश गर्‍यौं। बाटो पूरै कच्ची रहेछ, मोटरसाइकल चल्न गाह्रो पर्ने।

१५ मिनेट जति मोटरसाइकलको यात्रा गरेपछि मैले स्रोतले दिएको दिशा यकिन गर्न खोजैँ। हामी त गन्तव्यमा पुगिसकेका रहेछौं। अर्थात् गाँजाखेती भएको स्थान त्यहीँ पो रहेछ। मकैका ढोडहरु ठडिरहेका, लट्टा पर्न लागेका गाँजाका अग्ला बोटहरु बतासले हल्लाइरहेको देखियो। स्रोतले हामीलाई पहिलै सतर्क गराएको थियाे, गाउँलेले देख्ने गरी क्यामेरा नचलाउनु। फोटो र भिडयो नखिच्नु। अब के गर्ने? यहीँ अाइपुगिसकिएछ ! एक छिनको असमन्जस्यता चिर्दै मैले खल्तीबाट स्मार्टफोन निकालेँ। साथीलाई फोन गरेजस्तो गरेँ। मनको धड्कन बढिरहे जस्तो लाग्यो। त्यही बीचमा केही फोटो र भिडियो खिच्न भ्याएँ।

स्रोतले हामीलाई पहिलै सतर्क गराएको थियाे, गाउँलेले देख्ने गरी क्यामेरा नचलाउनु। फोटो र भिडयो नखिच्नु। अब के गर्ने? यहीँ अाइपुगिसकिएछ। एक छिनको असमन्जस्यता चिर्दै मैले खल्तीबाट स्मार्टफोन निकालेँ। साथीलाई फोन गरेजस्तो गरेँ। त्यही बीचमा केही फोटो र भिडियो खिच्न भ्याएँ।

बस्तीमा नयाँ मान्छे आएको देखेर गाउँलेको एउटा समूह हाम्रो सामुन्ने आइपुग्यो। उनीहरु अप्ठ्यारो गरी हामीलाई नियाल्न थालेँ। मैले विषयान्तर गर्ने प्रयास गर्दै भनेँ, ‘हामी जग्गा व्यापारी हौं। यता रोपनीको कति चलिरा’छ ?’ उनीहरु हामीसँग कुरा गर्न तयार भएनन्। सायद पत्यार नलागेर होला। हाम्रो उपस्थितिलाई शंकाको दृष्टिले हेरिरहे।

तामाङ समुदायको बस्तीका उनीहरुले स्थानीय लवजमा कुरा गरे। त्यसपछि भने मनमा त्रास पैदा भयो।

‘यिनीहरुले हामीविरुद्ध छलफल गरेको हुनुपर्छ’, मनमनै मैले सोचेँ। उनीहरुलाई सबै ठिकठाक भएको अनुभूति गराउने प्रयास गर्दै बस्तीबाट केही पर पुग्यौं। उनीहरुबाट छलिने ठाउँसम्म हिँड्यो। त्यसपछि मोटरसाइकल एकातिर राख्यौं। र, गाँजा खेतीभित्रै पस्यौं। हो हुनलाई त्यहाँ मकैबारी थियो। तर त्यहाँको दृश्य हेर्दा प्रस्ट हुन्थ्यो, ‘मकै एउटा सहायक बाली हो र गाँजा मुख्य बाली।’ केहीबेर गाँजा बगानमा बिताएपछि मनको धड्कन बढ्न थाल्यो। यहाँ धेरै बेर बिताउनु असुरक्षित छ ! तर हामीले टेलिभिजन रिपोर्टका लागि भिडियो र फोटो खिच्नु नै थियो। सास रोकेर फटाफट हामीले अाफ्नो काम गर्‍यौं। कस्तो क्वालिटी अायो चेकजाँच गर्ने फुर्सद भएन।

सो ठाउँबारे अझ सूचना सोधीखोजी गर्ने खुल्दुली मभित्र भइरह्यो। कोही गाउँले नबोल्ने सो ठाउँमा यसबारेमा थप सूचना पत्ता लगाउनु मेरो लागि चुनाैती बन्यो।  दोस्रो दिन त्यही वास्तविकता उधिन्न हामी फेरि त्यही ठाउँमा पुग्यौं। त्यो गोकर्णेश्वर नगरपालिका–१ मुलखर्कमा पर्दो रहेछ। यी गाउँहरु ओखरेनी, चिलाउने र अरु रहेछन्। कम्तिमा १५ सयदेखि १६ सय रोपनीमा गाँजा खेती भएको हामीले पायौं। दोस्रो दिन हामी गाउँले नभएको ठाउँतिर पुगेका थियौं। गाउँलेको अाँखा छलेर दोस्रो दिन हामी राम्रोसँग गाँजाखेती घुमेर हेर्‍यौं। अाफूलाई चाहिने जति भिडियो, फोटो र लोकेशनमा निश्चित भएपछि बल्ल हामी तल ओर्लियौं।

चाबहिलबाट जम्मा १० किलोमिटर उत्तरमा यो ठाउँ पुगिन्छ। यहाँभन्दा २ किलोमिटर दक्षिणमा सेनाको ब्यारेक छ। ४ किलोमिटर दक्षिणमा प्रहरी प्रभाग सुन्दरीजलको कार्यालय छ। सुरक्षा संयन्त्रका अड्डाहरु यति नजिकै भइरहँदा यहाँ गाँजाखेती गर्ने को हो ? म निकै अचम्ममा परेँ। अनुमान लगाएँ, सुरक्षाअंगको साथबिना यो कार्य सम्भव छैन।

प्रति रोपनी वार्षिक एक लाख

मुलखर्कमा मकैबारी भित्र गाँजा खेती छ। त्यस भन्दामाथि ओखरेनी, चिलाउने लगायतका गाउँहरुमा विशुद्ध गाँजाकै मात्र खेती गरिएको छ। स्थानीय जनताहरु यो अवैध खेतीबारे मौन छन्। प्रहरी बेखबर छ। स्रोतका अनुसार यहाँ ठेकेदारहरुले सुरक्षा अंग, स्थानीय र पार्टीका नेताहरुदेखि स्थानीय जग्गा धनीसम्मलाई सेटिङ मिलाएका छन्। गाँजाको खेती जग्गा भाडामा लिएर भइरहेको हो। एक रोपनीको १ लाख रुपैयाँसम्म उनीहरुले गाउँलेलाई दिएका छन्। एक रोपनीमा वर्षभरि मिहिनेत गरेर हुने कमाइभन्दा यो रकम बढी हो।

गाँजा तस्करहरुले यहाँका गाउँलेलाई नयाँ मान्छेसँग कसरी बोल्ने भनेर पनि सिकाएका छन्। उनीहरु भन्थे, ‘यो हामीले रोपेको होइन आफैँ उम्रियो के गर्नु।’ स्थानीयबाट केही पनि सूचना आउन नसकेपछि हामी गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे समक्ष पुग्यौं। ‘तपाइँको नगरपालकिामा त सयौं रोपनी जग्गामा अबैध गाँजा खेती भइरहेको रहेछ नि?’ प्रश्न सुनेर उनी केही असहज देखिए।

ती गाउँहरुमा गाँजाखेती भइरहेको मेयर सा’पलाई पहिलै थाहा रहेछ। ‘गाँजा खेती गर्न उस्काउने ८–१० जना छन्। सर्वसाधरणलाई पैसाको लोभमा फसाउने काम भएको छ। हामी सुरक्षाकर्मीको सहयोग लिएर नष्ट गर्छौं’, उनले प्रतिबद्धता जनाए। गाँजाखेती गर्ने ती ८–१० जनाबारे मेयर चालिसेले थप सूचना खुलाएनन्। नक्सालबाट करिब १३-१४ किलोमिटर मात्र दूरीमा भइरहेको यो अवैध गाँजाको खुलेआम खेतीबारे प्रहरी प्रधान कार्यालय पनि अग्रिम जानकार त छैन?

(खोजी रिपोर्टिङमा रुचि राख्ने शुभक महतो एभिन्युज टेलिभिजनका पत्रकार हुन्)

सबै तस्विरः शुभक महतो















यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पद्मावती’ विवाद

‘पद्मावती’ विवाद

महंगो सेटमा फिल्म बनाउन माहिर बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’को फष्र्टलुक सार्वजनिक हुनासाथ फिल्मकर्मीदेखि दर्शकसम्मले फष्र्टलुकको तारिफ गरे...

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको...

दसैंका गीतमा पीडा

दसैंका गीतमा पीडा

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो...

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

आगामी कात्तिक २४ गते ‘सकस’, ‘रोमियो’ र ‘मेला’ रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा अर्को फिल्म ‘तान्द्रो’ पनि रिलिज हुने...