८ वैशाख २०८१ शनिबार
राजनीति

३८ वर्षमा फेरिएन गाउँ, फेरिएन नारा

पर्साको महादेवपट्टी गाउँमा चुनाव सम्बन्धी छलफलका लागि भेला भएका स्थानीय । तस्बिर : रितेश त्रिपाठी

वीरगञ्ज – स्थानीय तहको चुनाव आएपछि पर्साको महादेवपट्टी गाउँमा चुनावको लहर छ । गाउँमा २०३६ सालको जनमत संग्रहमा बहुदल र निर्दलको निर्वाचन गर्न मतदान गरेको पुस्ता अहिले फेरि पनि मत हालेर आफ्नो प्रतिनिधि चुन्ने गन्थन मन्थनमा छन् । यतिका वर्षमा न गउँ फेरिएको छ, न गाउँपालिकामा उम्मेदवार बनेका बिभिन्न दलका प्रतिनिधीहरुको नारा नै फेरिएको छ। 

‘सबै उस्तै छ, फरक यति मात्र छ, उतिबेला बयल गाडामा उम्मेदवारहरू घुम्थे अहिले गाडीमा घुम्दैछन्, उतिबेला ढोल–तासा बजाएर प्रचार हुन्थ्यो अहिले लाउडस्पिकर छ,’ महादेवपट्टीका महादेव महतोले भने, ‘मेरो पहिलो मतदान थियो त्यो, उतिबेला पनि विकास हुन्छ भनेका थिए, पहिलो पटक मैले विकास भन्ने कुरा सुनेको थिएँ, यतिका वर्षमा विकास हेर्न भने पाइएन, हरेक चुनावमा विकास हुन्छ भन्छन् ।’ उनले साँच्चिकै विकास गर्ने नेता चुन्न चाहेको बताए । ‘जनताको सेवा गर्ने मान्छे चुनियोस्, हामी बिचार गर्दैछौं, उम्मेदवारहरूको कुरा सुन्दैछौं, उनीहरूको विगत पनि हेर्दैछौं।’

उत्तरमा ठोरी गाउँपालिका, दक्षिण धोबिनी, पूर्व जगरनाथपुर र पश्चिममा भारतको सिमानाले घेरिएको महादेवपट्टी जिरा भवानी गाउँपालिकामा पर्छ । गाउँलाई छेकेको जिराभवानी खोलामा २ वर्ष अगाडिमात्र एउटा पक्की पुल बनेपछि स्थानीयलाई आवागमन अलि सहज भएको छ । माध्यमिक विद्यालय, स्वास्थ्य चौकी र राम्रो सडक पाउने गाउँलेको चाहना अझै अपुरो नै छ । स्थानीय मदनजी मुखिया १६ वर्षको लक्का जवान हुँदा २०२६ को जनमतसंग्रह देखेका थिए । भोट हाल्न भने पाएका थिएनन् । त्यसको एक दशकपछि भोट हाल्न पाएका थिए । हरेक पटक चुनावताका ‘अब केही होला’ भन्ने आशा जाग्ने र चुनावपछि भरोसा टुट्ने गरेको उनले सुनाए। 

चुनावमा मोटो रकम लगानी गर्नेले पछि जितेर त्यो पैसा असुल गर्ने उद्देश्यले लिएकाले त्यसतालाई भोट दिनु हुन्न भन्ने नतिजामा उनी पुगेका छन् । ‘ठूला दलका उम्मेदवारले पैसाको खोलो बगाएका छन्, गरीब र अबुझ जनता बहकाउमा नपर्लान भन्ने छैन्,’ उनले भने, ‘म त गाउँमा शिक्षाको उज्यालो ल्याउने उम्मेदवारको खोजीमा छु, अशिक्षा हाम्रो सबभन्दा ठूलो अभिषाप हो, अन्धो सरकारले हामीलाई आजसम्म देखेन, अब गाउँमै सरकार चुनिदैछ भन्दैछन् ।’ चुनावको प्रचारप्रसार बढेपछि समय निकालेर गाउँलेहरू बुधवार भेला भएका थिए छलफलका लागि, कसलाई भोट दिने नदिने, एकराय बन्न सकेन्।

५० वर्षीया मिनादेवी ठाकुर चुनावको कुरा सुन्न आइपुगेकी थिइन, महिलाहरूको समूहमा । ‘विकास सुनेको छु देखेको छैन्, अब केही होस भन्ने लागेको छ,’ उनले भनिन्, ‘छाँटकाट हेर्दा अवस्था बदलिएला जस्तो लाग्दैन् ।’ उनले भनेजस्तै उम्मेदवारहरूले गरेको चिप्लामिठा कुरामा स्थानीय फस्न चाँहदैनन्, नफस्ने कसरी भन्ने थाहा छैन् । त्यही निश्कर्ष निकाल्न उनीहरूले आपसी छलफल थालेका हुन् । गाउँको त्यो चौतारा अगाडि प्रत्येक दिन उम्मेदवारहरू आउने र आफ्नो कुरा सुनाएर फर्किने क्रम एक हप्ता आगडिदेखि छ। 

झण्डा र पोस्टर पम्पलेट गाउँमा जताततै छ । ३० वर्षे रामागामा पटेलको यो चुनावमा भोट हाल्ने पहिलो अवसर हुनेछ । उनी उत्साहित छन् नयाँ अनुभव बटुल्न । नेता गनिएका उम्मेदवारहरू यतिखेर उनलाई महत्व दिन थालेकोमा दंग पनि छन् । आफ्नो मतको महत्व रहेको भान पाएका उनले सडक, सिचाई र स्कूल बनाउने क्षमता भएको प्रतिनिधि छान्न चाहेका छन् । महादेवपट्टी जस्तै पर्साका सबैजसो गाउँमा चुनावको माहोल छ। 

कम समय र लागतमा आउन भ्याउने बाहिर रहेका परिवारका सदस्यहरूलाई घरकाले बेलैमा आउन र चुनावमा भोट हालेर फिर्किन खबर पठाएका छन् । शहरभन्दा गाउँको चुनाव तुलनात्मक रुपमा मर्यादित नै भएको सेढवाका कृष्णमोहन साहले बताए । पर्सामा वीरगञ्ज महानगरपालिका बाहेक ३ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी जम्मा १४ वटा स्थानीय तहको चुनाव हुँदैछ । परम्परागत रुपमा नेपाली काँग्रेस र एमालेको प्रतिस्पर्धा रहने गाउँक्षेत्रमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नयाँ प्रतिस्पर्धी भएर टक्कर दिरहेका छन् । केही ठाउँमा स्वतन्त्र उम्मेदवारहरू पनि बलिया देखिएका छन्। 

 

प्रकाशित: २८ भाद्र २०७४ १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App