यसरी सुधारौँ सामुदायिक विद्यालय

बिहिबार, २९ भदौ २०७४, १० : ०६ शुभेच्छा विन्दु तुलाधर


- तानसेन १, पाल्पा, भुषालडाँडा माध्यमिक विद्यालयमा कुनै समय १० जना मात्रै विद्यार्थी थिए । कारण, विद्यालयले समयानुकूल शिक्षा प्रदान गर्न नसक्नु हो । परिणाम, अभिभावकहरूले धमाधम आफ्ना बालबालिकालाई  विद्यालयबाट निकाल्दै अन्यत्र सार्न थाले । तर अहिले अवस्था फरक छ । कम विद्यार्थीका कारण बन्दै हुन लागेको विद्यालयमा हाल चार सय विद्यार्थी पठनपाठन गर्छन् । कारण, विद्यालयमा समयानुकूल शिक्षा र अभिभावकको चाहनाबमोजिम अंग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । त्यतिमात्र हैन, विद्यालयको भौतिक संरचनामा पनि व्यापक परिवर्तन भएको छ । उज्याला कक्षा–कोठा, सफा र फराकिलो खेलमैदान, छात्र र छात्रालाई अलगअलग शौचालय, शिक्षक शिक्षिकाबाट हुने नियमित पठनपाठन, विद्यालय र समुदायबीचको आत्मीयताले विद्यालयको स्वरूपमा नै परिवर्तन आएको छ ।

- रुपन्देहीको पश्चिमी क्षेत्रमा पर्ने सियारी गाउँपालिका—७ स्थित त्रिवेणी निमावि पनि विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको थियो ।  १४ जना विद्यार्थी भएको सो विद्यालयमा अहिले ४ सय ६८ विद्यार्थी अध्ययनरत छन् । खरको छानाले छाएको विद्यालय, नेपाली माध्ययमबाट हुने पढाइलाई अंग्रेजी माध्यमका साथै अनिवार्य कम्प्युटर विषय राखिएपछि विद्यालयमा अहिले भर्नाको चाप वर्षेनि बढ्दो छ ।
- बुटवल उपमहानगरपालिका—१० स्थित कालिका माध्यमिक विद्यालयले प्रोजेक्टर, इ–क्लासमार्फत सिकाइमा आधारित भई पठनपाठनलाई समयानुकूल अघि बढाएपछि नेपालकै नम्बर एक सामुदायिक विद्यालय बन्न सफल भएको छ । त्यहाँ पढ्नका लागि हरेक वर्ष दुई हजार सात सयको हाराहारीमा विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिन्छन् । आवेदन दिएकामध्ये मात्र सात सय विद्यार्थीले त्यहाँ भर्ना हुने अवसर पाउँछन् । इसिडीदेखि नै अंग्रेजी माध्यम र ९ कक्षादेखि १२ कक्षासम्म कम्प्युटर इन्जिनियरिङ विषयसहित समयानुकूल पढाइ हुन थालेपछि अहिले त्यहाँ पढ्ने विद्यार्थीको संख्या चार हजार ३ सय ७० रहेको छ । आकर्षक भवन, उज्याला र ठूला कक्षा कोठाहरू, प्रशस्त खेल मैदान, क्रियाकलापमा आधारित शिक्षण विधि, विद्यार्थीमा देखाइने असल व्यवहार विद्यालयको विशेषताका रूपमा देखिन्छ ।

काठमाडौँको घनाबस्ती इटुम्बाहलमा रहेको सामुदायिक विद्यालय श्री केशचन्द्रमा शिक्षकभन्दा विद्यार्थी थोरै छ । त्यहाँ शिक्षक चार र विद्यार्थी तीन जना छन् । यो कहालीलाग्दो सामुदायिक विद्यालयको अवस्थाले सबैको मन खिन्न बनाएको छ । तर माथि उदाहरणमा दिएका तीनै सामुदायिक विद्यालय, जहाँ विद्यार्थीहरू हरेक दिन रमाउँदै विद्यालय जान्छन् । दिनभरि पढेर रमाउँदै घर फर्कन्छन् । समुदायमा आएको शैक्षिक जागरण, विद्यालयले अभिभावक र समुदायको मागबमोजिमको पठनपाठन, शैक्षिक स्तरमा सुधार अनि शिक्षक–शिक्षिकाले नियमित पठनपाठन गराउन थालेपछि सामुदायिक विद्यालयको स्तरोन्नति  भएको छ ।
नेपालमा हाल ३० हजारभन्दा बढी सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयमा ८० लाखभन्दा बढी विद्यार्थी छन् ।  ती  विद्यालयहरूमा एक लाखभन्दा बढी शिक्षक–शिक्षिका छन्  । निजी स्तरमा खुलेका संस्थागत विद्यालयहरूमा भौतिक संरचनालगायत आवश्यक पूर्वाधारहरूको विकासका कारण अभिभावक र समुदाय त्यसतर्फ आकर्षित हुँदै गएको अवस्थामा सामुदायिक विद्यालयहरूले पनि त्यसलाई चुनौती दिँदै युग सुहाउँदो शिक्षा दिन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण पछिल्लो समय ह्वात्तै बढ्दै आएको छ ।
विद्यालयमा गुणस्तरीय शिक्षाका लागि जागरूक स्थानीय समुदाय, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक शिक्षिकामा सकारात्मक शैक्षिक जागरणले गर्दा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार हुँदै आएको छ । ३० हजारभन्दा बढीको संख्यामा रहेका सामुदायिक विद्यालयलाई सुधार गर्न सरकारले सफल सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा अन्य सामुदायिक विद्यालयसमक्ष प्रस्तुत गराउनुपर्छ । तर सरकारले सामुदायिक विद्यालयका लागि युग सुहाउँदो ठोस एकीकृत नीति तथा योजना ल्याउन सकेको छैन भने भएको कार्यक्रम र ऐन प्रभावकारी कार्यान्वयन गर्न सकिरहेको छैन । यसबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका सामुदायिक विद्यालयसमेत ओझेलमा परेका छन् भने श्री केशचन्द्र विद्यालयजस्ताले अन्य सामुदायिक विद्यालयका असल सिकाइलाई आत्मसात् गर्न नसक्दा राजधानीकै विद्यालय पनि दुरवस्थामा पुगेका छन् ।

कुनै पनि सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन, शिक्षक शिक्षिका र समुदायको त्रिकोणात्मक समन्वय रहने हो भने त्यसले उन्नति गर्न सक्दा रहेछन् भन्ने उदाहरण हेर्न हामीलाई विदेश जानुपर्दैन । हाम्रै देशमा त्यस्ता उदाहरण प्रशस्त छन् । बरू त्यसका लागि राज्यबाट थोरै समन्वय गर्नुपर्ने आवश्यकता भने छ । राजधानीलगायत विभिन्न जिल्लाका खराब अवस्थामा पुगेका सामुदायिक विद्यालय र माथि उदाहरणमा दिइएका सामुदायिक विद्यालयबीच अनुभव आदानप्रदान गर्ने वातावरण बनाइदियो भने विद्यालय–विद्यालय आपसमै सिकेर अगाडि बढ्न सक्थे ।
राजधानीका सामुदायिक विद्यालयहरूमा आवश्यक परेको खण्डमा भौतिक सुविधा जुटाउन खासै समस्या पर्ने पनि देखिँदैन । त्यसको व्यवस्थापन समुदायले कुनै न कुनै रूपमा गर्न सक्छ । अहिलेको युग सुहाउँदो शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधारहरू उपलब्ध गराउन राज्यबाट कुनै पहल नगरीकनै पनि समुदायले त्यसको व्यवस्थापन गर्न सक्छ भन्ने उदाहरण राजधानीबाहिर रहेका जिल्लामै छ भने राजधानीको विद्यालयले त्यो व्यवस्था गर्न नसक्ने कुनै कारण छैन । तर त्यसको व्यवस्थापन र कार्यान्वयन कसरी गर्ने भन्ने अनुभवको कमी भने अवश्य रहेको छ । यसका लागि राज्यको पहल आवश्यक छ । राजधानीमा टोलटोल र गल्लीगल्लीमै निजी विद्यालय प्रशस्त खुलेका कारण सामुदायिक विद्यालयको आवश्यकतालाई महत्व नदिइएको वा त्यसप्रति कम मात्रै ध्यान दिइएको पनि हुन सक्छ । तर सामुदायिक विद्यालय भनेको समुदायको आफ्नै सम्पत्ति हो । ८० प्रतिशत अभिभावकका बालबच्चा तिनै सामुदायिक विद्यायमा पढ्छन् । त्यसैले समुदायमा बस्ने प्रत्येक व्यक्तिको त्यसमाथि हक लाग्छ । सामुदायिक विद्यालयले निजी विद्यालयहरूले जस्तो कमिसन पाइने प्रकाशकको पुस्तक पढाउने, भर्नालगायत अरू शुल्क आफूखुसी लिने, पुस्तक, कापी र पोसाकसमेत आफैँले बेचेर कमिसन खानेजस्ता काम गर्दैनन् । आफ्नो समुदायमा रहेको सामुदायिक विद्यालय आफ्नो पनि हो भन्ने अपनत्व जगाउन सकियो भने समुदायका कुनै पनि अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पठाउन हिच्किचाउँदैनन् । समुदायका बालबालिकाहरूबाटै कक्षाकोठा भरिनु भनेकै सामुदायिक विद्यालय सफल हुनुको संकेत हो । साथै, यो नै सामुदायिक विद्यालयको बल पनि । जिल्लामा आफ्नो वरपर भएका सामुदायिक विद्यालयकै स्तरोन्नति गरी बालबालिका पढाउनुपर्ने बाध्यता पनि स्थानीय जनताको छ । राजधानीजस्तो सहर बजारमा त्यस्तो बाध्यता कम मात्रै होला । तर समुदायमै प्रचलित कला, संस्कृति, भाषा, रहनसहन, सामाजिक जीवनबारे पढाउने राम्रो थलो भनेको सामुदायिक विद्यालय नै हो ।
अहिले संघीय प्रणालीमा गरिएको नयाँ व्यवस्थाले गर्दा विद्यालय सञ्चालनको जिम्मेवारी पनि स्थानीय निकायलाई आएको छ । र, हालै मात्र स्थानीय निकायहरूमा निर्वाचित भई स्थानीय जनताले नै निर्वाचित गरेका पदाधिकारीहरू बहाली भएका छन् । त्यसैले स्थानीय तह र स्थानीय जनता मिलेर पनि सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सकिने अवसर अहिले प्राप्त भएको छ । आफ्नो क्षेत्रका सामुदायिक विद्यालयहरूको स्तर उकास्न स्थानीय तहका पदाधिकारीहरूले अरू जिल्ला वा स्थानीय तहमा उन्नति गरिरहेका सामुदायिक विद्यालयहरूसँग समन्वय वा सहकार्य पनि गर्न सक्छन् ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

शक्ति, राजनीति र युद्धले जहिल्यै मान्छेलाई प्रभावित पारिरहेकै हुन्छ । नेपालको दशवर्षे सशस्त्र द्वन्द्व पनि यसैको उदाहरण हो । विश्व...

रहेनन् होचा कदका कलाकार

रहेनन् होचा कदका कलाकार

होचो कलाकार दीपेन शाहको बिहीबार बिहान निधन भएको छ । धादिङको कार्यक्रम सकेर चार दिनअघि ललितपुरको घर फर्किएका दीपेन अस्वस्थ्य...