७ वैशाख २०८१ शुक्रबार
विचार

पहेंलो धातु, कालो व्यापार

राजधानीमा १ सय ३ किलो सुन बरामदसँगै सुन तस्करीसँग जोडिएका तथ्यहरू सार्वजनिक भइरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले ४ दिनको अन्तरमा १५ र ८८ किलो सुन बरामद गरे काठमाडौंमा । ब्युरोले सुन बरामद गरी ७ जना पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान गरिरहेको छ भने महाशाखाको उपलब्धि ३ जना चालक पक्राउमा गएर अड्किएको छ । सत्ता र शक्तिको आडमा पञ्चायतकालदेखि नै नेपालमा सुन तस्करी हुँदै आएको हो । राजतन्त्रकालमा राष्ट्रिय पञ्चायतका सदस्य सहयोगीका रूपमा जोडिन्थे भने दरबारका शक्तिशाली सदस्य संरक्षकका रूपमा देखिन्थे । लोकतान्त्रिक शासन व्यवस्थामा पनि स्थिति उस्तै छ । फरक यत्ति हो, अहिले लोकतान्त्रिक व्यवस्थामा पनि सुन तस्करीमा व्यापारी सहयोगीका रूपमा र दलका नेता संरक्षकका रूपमा  देखिएका छन् जुन दुभाग्र्यपूर्ण अवस्था हो ।

सुन तस्करी नियन्त्रणका लागि नाकाको सुरक्षामा कडाइसँगै आधुनिक उपकरणको प्रयोग, बजार मागअनुसार सुनको कोटा निर्धारण र सुन कारोबारमा संलग्नमाथि निगरानी बढाउन आवश्यक छ । यसका साथै तस्करी नियन्त्रणका लागि नेपाल र भारत दुबै देशका सुरक्षा अधिकारीबीच बलियो सञ्जाल निर्माण र नाकामा सुरक्षा सञ्जाल विस्तार गर्न उत्तिकै जरुरी छ ।

बैंकक हुँदै नेपाल भित्रिने तस्करीको सुन स्थलमार्गबाट समेत उल्लेख्य मात्रामा भित्रिने गरेको छ । बैंककको साटो अहिले दुबई र चीनबाट सुन तस्करी भइरहेको छ । तर, तस्करी गरिएको सुनको बजार भने फेरिएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल होस् या रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट काठमाडौं भित्रिने ठूलो परिमाणको सुन आन्तरिक बजारदेखि भारतसम्म पुग्ने गरेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार २०६९ यता ४ सय किलो बढी तस्करीको सुन बरामद भइसकेको छ । बरामदको संख्या बढेसँगै राजनीतिक दलका नेता, सुन व्यवसायी र अन्य प्रतिष्ठित व्यवसायीले पहेंलो धातुको आवरणमा कालो धन्दा गरिरहेको पनि सार्वजनिक हुन थालेको छ । भदौ १५ मा फेला परेको १५ किलो सुनमा माओवादी नेता एवं भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल जोडिए, जुन घटनाले धेरै तथ्य खुलासा गरेको छ ।

सुन व्यवसायीका अनुसार सामान्य अवस्थामा नेपालको बजारमा दैनिक ४५ किलो सुन खपत हुन्छ । तर, राष्ट्रबैंकले दैनिक २० किलोभन्दा बढी सुन वैध रूपमा बजारमा पठाउने अनुमति दिँदैन । दैनिक ५ किलो हाराहारीका पुराना सुन बजारमा फर्कन्छ । सुन कारोबारीले सरकारले तोकेको कोटाले सुन नपुग्ने बताए पनि बजारमा सुन अभाव देखिएको छैन । यही तथ्यले देखाउँछ– नेपाली बजारको दैनिक २० किलो सुनको माग तस्करीले पूरा गरिरहेको छ । यसले काठमाडौंको बजारका लागि मात्रै मासिक ६ सय किलो सुन तस्करी हुने गरेको डरलाग्दो तथ्यांक देखिन्छ । प्रारम्भमा राष्ट्रबैंकले दैनिक १५ किलो कोटा तोकेकोमा व्यवसायीको दबाबपछि ५ किलो बढाएको थियो । अहिले पनि सुन व्यवसायीले सुन आयातको कोटा बढाउन आग्रह गरिरहेका छन् तर राष्ट्रबैंक र सरकारी अधिकारीको ध्यान पुगेको छैन ।

सुरक्षा संगठनका अधिकारीसमेत सुन तस्करीमा कुन न कुनै रूपमा जोडिने घटना पनि अचम्मलाग्दो छ । साढे ३३ किलो सुनको अनुसन्धानमा विमानस्थलको सुरक्षाको जिम्मा लिएर बसेका एसएसपी श्यामबहादुर खत्री पक्राउ परे । ८८ किलो सुन बोकेको सवारीसाधन केरुङ नाकाबाट दर्जनौं सुरक्षा जाँच पास भएर काठमाडौं भित्रिँदा सुरक्षाकर्मीले पत्तो नपाएझैं गरे । यो आफैंमा डरलाग्दो प्रवृत्ति हो । फेरि बढी नाफा पाउने लोभमा तस्करीको सुन बजारमा फैलाउन सुन कारोबारमा संलग्न व्यवसायी नै सहयोगी हुने गरेका छन् । यसरी सत्ता र शक्तिमा रहेकालाई प्रभावमा लिएर सुरक्षित रूपमा सुन भिœयाउने संगठित समूह सक्रिय छ जो प्रत्यक्ष रूपमा सुन कारोबारमा संलग्न नभए पनि सञ्जाल चलाउन लागिपरेका छन् । यो अवस्थामा सुन तस्करी नियन्त्रणका लागि नाकाको सुरक्षामा कडाइसँगै आधुनिक उपकरणको प्रयोग, बजार मागअनुसार सुनको कोटा निर्धारण र सुन कारोबारमा संलग्नमाथि निगरानी बढाउन आवश्यक छ । यसका साथै तस्करी नियन्त्रणका लागि नेपाल र भारत दुवै देशका सुरक्षा अधिकारीबीच बलियो सञ्जाल निर्माण र नाकामा सुरक्षा सञ्जाल विस्तार गर्न पनि उत्तिकै जरुरी छ ।

प्रकाशित: २९ भाद्र २०७४ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App